किन टाढिँदैछ परिवार ?

अनिता अधिकारी


मोबाइलको बढ्दो प्रयोगले पारिवारिक संवाद र सम्बन्धमा चुनौति थपिदिएको छ । मोइबाईल एकातर्फ अनिवार्य आबश्यकताका रुपमा उपस्थित भयो भने अर्कोतर्फ मानिसको सबैभन्दा प्रिय लत बनेर बसिदियो । आवश्यकता र लत यस्ता कुराहरु हुन् जोसँगको सम्बन्ध सितिमिति तोडेर तोडिदैन । अहिले मानिस र मोवाइलको सम्बन्ध यस्तै हुन पुगेको छ ।

प्रविधिको तीव्र विकाससँगै मोबाइल फोन स्वभाविक रुपमा मानिसको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । सञ्चार, शिक्षा, सूचना र मनोरञ्जनका लागि मोबाइल उपयोगी साधन बने पनि यसको अत्यधिक प्रयोगले पारिवारिक सम्बन्ध र प्रत्यक्ष संवादमा चुनौति थपिरहेको देखिन्छ ।एउटै घरमा रहेका परिवारका सदस्यहरू एकै ठाउँमा बसेर पनि आ–आफ्नै मोबाइलमा व्यस्त हुने अवस्था अहिले सामान्य बन्दै गएको छ । खाना खाने समय, पारिवारिक भेटघाट तथा फुर्सदको समयमा समेत सामाजिक सञ्जाल, भिडियोगेम र विभिन्न डिजिटल सामग्रीमा समय बिताउने प्रवृत्ति बढ्दो छ ।

प्रविधिले टाढा रहेका आफन्त र साथीभाइलाई नजिक ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । विदेशमा रहेका परिवारका सदस्यसँग भिडियोकलमार्फत सहजै कुराकानी गर्न सकिने भएको छ । शिक्षा, रोजगारी, व्यवसाय र सूचना प्राप्तिका क्षेत्रमा पनि मोबाइलले महत्वपूर्ण सुविधा दिएको छ । तर प्रविधिको यही सहजताले परिवारभित्रको प्रत्यक्ष संवादलाई कमजोर बनाउने अवस्था पनि देखिएको छ ।

अभिभावक आफ्नै मोबाइलमा व्यस्त हुने र बालबालिका पनि मोबाइल तथा अन्य डिजिटल उपकरणमा बढी समय बिताउने गर्दा परिवारका सदस्यबीच कुराकानी र सँगै बिताउने समय घट्दै गएको छ ।
यद्यपि, पारिवारिक सम्बन्धमा देखिएको दूरीको सम्पूर्ण कारण मोबाइललाई मात्र मान्न सकिँदैन । बदलिँदो जीवनशैली, व्यस्त कार्यतालिका, रोजगारीको दबाब र सामाजिक परिवर्तनले पनि परिवारका सदस्यबीचको प्रत्यक्ष संवादमा प्रभाव पारेका छन् । मोबाइलको प्रयोगलाई सन्तुलित बनाउन सके प्रविधि परिवारका लागि समस्या नभई सहयोगी माध्यम बन्न सक्छ ।

यसका लागि परिवारका सदस्यले दैनिक केही समय मोबाइल तथा अन्य डिजिटल उपकरणबाट टाढा रहेर एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने, खाना खाने समयमा मोबाइल प्रयोग नगर्ने र पारिवारिक गतिविधिमा सामूहिक सहभागिता बढाउने अभ्यास गर्न आवश्यक देखिन्छ । यसो हुनसक्यो भने पारिवारिक परामर्शको अभ्यास बढ्ने छ । अहिले नियमित र व्यबस्थित पारिवारिक परामर्शको अभावले समस्या चुलिदै गएका छन् ।

प्रविधिले संसारको अर्को कुनामा रहेका मानिसलाई नजिक ल्याएको छ भने यसको सकारात्मक पक्षको चर्चा गरिन्त तर आफ्नै घरमा रहेका मानिसबीच दूरी बढिरहेको तर्फ भने कसैले पनि ध्यान नदिएको जस्तो प्रतित हुन्छ । त्यसैले यो कुरामा गंरिभ बन्दै मोवाइलको प्रयोगमा संयम र सन्तुलित हुन आवश्यक छ । घर एउटै भएर मात्र परिवार नजिक हुँदैन । एकअर्काका लागि समय, संवाद र भावना दिन सकेमात्र पारिवारिक सम्बन्ध बलियो हुन्छ । विशेषगरी बालबालिकाको भावनात्मक विकासमा अभिभावकसँगको प्रत्यक्ष संवाद र समय महत्वपूर्ण मानिन्छ ।

घरमा अभिभावक उपस्थित भए पनि उनीहरू मोबाइलमै व्यस्त रहँदा बालबालिकाले आफूलाई बेवास्ता गरिएको महसुस गर्न सक्ने अवस्था सिर्जना हुन सक्छ । यसले परिवारभित्र भावनात्मक दूरी बढाउने जोखिमसमेत निम्त्याउन सक्छ । त्यतिमात्र हैन, अघिल्लो पुस्ताको सिकाई र अनुभव हस्तान्तरणको एउटा प्रक्रिया नै अहिले समाप्तिको दिशामा उन्मुख भएको देखिन्छ । पुस्तकबाट प्राप्त ज्ञानसँगै अघिल्लो पुस्ताको अनुभवसमेत ग्रहण गर्न सक्नेले मात्र आफूलाई परिपक्व ढंगले हरेक क्षेत्रमा प्रस्तुत गर्न सक्छ । मोवाईको बढ्दो प्रयोग र घरायसी संवादमा लागेको ब्रेकले अनुभव हस्तान्तरणको एउटा लामो अभ्यासलाई ध्वस्त बनाउने जोखिमतर्फ सबै समयमै गम्भिर बनौँ ।