स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर

तुलसीपुर,२४ साउन । समाज कल्याण केन्द्र नेपालले स्थापना दिवसको अवसरमा तुलसीपुर –१७ मानपुरमा वृहत निःशुल्क आँखा शिविर गरेको छ । समाज कल्याण केन्द्र नेपालका अध्यक्ष निर्मला गौतमको अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य, आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको थियो ।

सीविरमा स्थानीय नागरिक तथा समुदायको उल्लेख्य सहभागिता रहेको थियो । निःशुल्क आँखा शिविरमा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले समाज कल्याण केन्द्रले शिक्षा स्वास्थ्य लगायत सामाजिक कार्यहरु गर्दै आएको बताए । प्रमुख अतिथि गिरीले दृष्टि विहिन्ता न्यूनिकरणको अभियनामा समाज कल्याण केन्द्रले पनि सहकार्य गरि निःशुल्क आँखा शिविर आयोजना गरेको भन्दै समाज कल्याण केन्द्रको स्थापना दिवसको शुभकामना व्यक्त गरे । ‘यस संस्थाले गर्दै आएका कार्यहरु प्रशंसनीय छन्, आगामी दिनमा पनि सहयोग साझेदारी हाम्रो रहने छ’ अध्यक्ष गिरीले भने ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं। १७ का अध्यक्ष थलराज पुरी, वडा नं। १६ का अध्यक्ष शिवानन्द डिसीले आफ्ना वडाका नागरिकलाई निःशुल्क आँखा स्वास्थ्य सेवाका लागि कार्यक्रम आयोजना गरि दिएकोमा केन्द्र र अस्पतालाई धन्यवाद ज्ञापन गदै शुभकामना व्यक्त गरेका थिए । समाज कल्याण संघका सदस्य माया पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजसेवी राजनितिज्ञ गोविन्द मगजैयाँ, थारु संघका केन्द्रिय उपाध्यक्ष सन्तोष चौधरी ,विरेन्द्रमा मावि मानपुरका प्रअ रुपेश गुप्ता लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष गौतमले केन्द्रले शिक्षा स्वास्थ्य लागुऔषध दुर्वेसनी न्यूनिकरणका क्षेत्रमा काम गदै आएको र यस बर्ष स्थापना दिवसको अवसरमा निःशुल्क आँखा शिविर आयोजना गरेको बताइन् । कार्यक्रमको सहजिकरण समाज कल्याण केन्द्र नेपालका सचिव जानका केसीको गरेकी थिइन् । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौरको प्राविधिक तथा समाज कल्याण केन्द्र नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाका वडा नं। १६, १७, १८ को समन्वयमा भएको निःशुल्क आँखा शिविरमा एक हजार दुइ सय पाँच जनाको निःशुल्क आँखा जाँच गरिएको थियो भने एक सय २८ जना मोतिविन्दुका विरामीहरु फेला परेका थिए ।

शिविरमा आँखाको जाँच, दृष्टि परीक्षण तथा आवश्यक परामर्श प्रदान गर्नुका साथै आवश्यकता अनुसार तीन सय ७५ जनालाई चस्मा वितरण गरिएको थियो । मोतिविन्दुका विरामीहरुलाई राप्ती आँखा अस्पतालमा आवश्यकता अनुसार निःशुल्क तथा सहुलियतमा अस्पतालमा शल्यक्रिया गरिने राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । नेत्रविशेषज्ञ डा।सुमित पाण्डे सहितको प्राविधिक टोलिले सेवा दिएको थियो ।