थारु संघ दाङको बैठक,जिल्ला सदस्यमा दुई जना मनोनित

घोराही, २४ साउन । नेपाल थारु संघ दाङले संघको केन्द्रीय पदाधिकारी तथा सदस्यमा निर्वाचित सात जनालाई बधाई तथा सम्मान गरेको छ । साथै रिक्त रहेको जिल्ला कार्यसमिति सदस्यमा दुई जनालाई मनोनित गरेको छ ।

नेपाल थारु संघ दाङका जिल्ला सभापति शेषदत्त चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीको प्रमुख आतिथ्यता र नेपाल थारु संघका केन्द्रीय उपसभापति सन्तोष चौधरीको विशिष्ट आतिथ्यतामा आइतबार घोराहीमा भएको बैठकमा केही समयअघि नेपाल थारु संघ केन्द्रीय उपसभापति सन्तोष चौधरीसहित केन्द्रीय सदस्यहरू गणेशकुमार चौधरी, देवानजंग चौधरी, उषा चौधरी, महेश चौधरी, जग्गुलाल चौधरी र नरोत्तम चौधरीलाई सम्मान गरिएको थियो ।

बैठकले नेपाल थारु संघ दाङको जिल्ला कार्यसमिति सदस्यमा अमिलियाका सुरेन्द्रकुमार चौधरी र घोराहीका सन्चबहादुर चौधरीलाई मनोनित गरेको छ । यसैगरी बैठकले नेपाल थारु संघ दाङको स्मारिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । स्मारिका प्रकाशनका लागि शोभाराम चौधरी संयोज तथा श्रीराम दहितको सहसंयोजक रहेको उपसमिति गठन गरिएको छ । उपसमितिका सदस्यमा विक्रम चौधरी, खेमनारायण चौधरी, दिलीप चौधरी, उमा चौधरी, राजेश चौधरी, यादव चौधरी र उषा चौधरी रहेका छ्नन् । स्मारिका आगामी माघ ४ गते विमोचन गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल थारु संघले आफ्नो अधिकार, कर्तव्य र दायित्वबोध गर्दै संगठन निर्माणमा सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले नेपाली कांग्रेसलाई थप बलियो बनाउन थारु समुदाय संगठित भएर अघि बढ्नुपर्ने बताएका थिए । प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले थारु समुदायभित्र मात्र सीमित नभई आफ्नो क्षमता र दक्षताको विकास गर्दै समग्र पार्टीमा प्रतिस्पर्धी बन्ने गरी अघि बढ्न आग्रह गरेका थिए ।

नेपालको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसलाई वर्तमान अवस्थासम्म ल्याउन थारु समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले थारु समुदायका व्यक्तिलाई नेतृत्वमा अघि बढाउन पार्टीले सहयोग गर्दै आएको बताए ।

नेपाल थारु संघका केन्द्रीय उपसभापति सन्तोष चौधरीले थारु समुदायलाई एकीकृत गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउने उद्देश्यका साथ संघले काम गर्ने बताए । कार्यक्रममा देवानजंग चौधरी, गणेशकुमार चौधरी, उषा चौधरी, नेपाल थारु संघ क्षेत्र नं। ३ का सभापति यादव चौधरी, नेपाल थारु संघका केन्द्रीय प्रतिनिधि श्रीराम दहित र नेपाल थारु संघ दाङ क्षेत्र नं। १ ९२० का सभापति शिवकुमार चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव राजेश चौधरीले गरेका थिए ।