भरत विश्वकर्मा
रोल्पा, २३ साउन । डिभिजन वन कार्यालय रोल्पाले विभिन्न प्रजातिको बिरुवाहरू उत्पादन गर्दै वितरण गर्दै आएको छ । जिल्लाका विभिन्न सब डिभिजन वन कार्यालयहरूको नर्सरीमा आफैँ उत्पादन गरेर र बाहिरबाट खरिद गरेर बिरुवा वितरण गर्दै आएको छ ।
गत आर्थिक वर्ष २०८२÷०८३ मा वन कार्यालयले विभिन्न प्रजातिको एक लाख भन्दा बढी बिरुवा उत्पादन गरी सामुदायिक वन, कवुलियत वन समूह, कृषक समूह, विद्यालय, स्थानीय तह आदीलाई ८० हजार बराबरको बिरुवा वितरण गरेको छ । डिभिजन वन कार्यालय रोल्पाले टिमुर, चिउरी, किम्बु, कपुर, तेजपात, हर्राे, बर्राे, अमला, अल्लो, अम्बा लगायत विभिन्न प्रजातिका बिरुवाहरूको उत्पादन गर्दै निशुल्क रुपमा वितरण गर्दै आएको छ । गत आर्थिक वर्ष ०८२÷०८३ मा डिभिजन वन कार्यालय रोल्पाले एक लाख आठ हजार बिरुवा उत्पादन गरेको छ ।
वन कार्यालयले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा ६२ हजार सात सय ३६ एक वर्षीय बिरुवा र ४५ हजार बहु वर्षीय बिरुवा उत्पादन गरेको छ । जिल्लाको छ वटा सब डिभिजन वन कार्यालयमा रहेको नर्सरीहरूबाट सो परिणाममा बिरुवा उत्पाद गरिएको हो ।
लिबाङ सब डिभिजन वन कार्यालयबाट एक वर्षीय बिरुवा १२ हजार पाँच सय ३६ र बहुवर्षीय बिरुवा नौ हजार, जलजला सब डिभिजन वन कार्यालयबाट एकवर्षीय बिरुवा आठ हजार तीन सय र बहुवर्षीय बिरुवा सात हजार दुइ सय, त्रिवेणी सब डिभिजन वन कार्यालयबाट एकवर्षीय बिरुवा आठ हजार चार सय र बहुवर्षीय बिरुवा छ हजार चार सय, सुनछहरी सव डिभिजन वन कार्यालबाट एक वर्षीय बिरुवा आठ हजार तीन सय र बहु वर्षीय बिरुवा छ हजार चार सय, रुन्टीगढी सब डिभिजन वन कार्यालयबाट एक वर्षीय बिरुवा १२ हजार पाँच सय र बहु वर्षीय बिरुवा आठ हजार बिरुवा र माडी सब डिभिजन वन कार्यालयबाट एकवर्षीय बिरुवा १२ हजार पाँच सय र बहुवर्षीय बिरुवा आठ हजार तीन सय बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय रोल्पाले जानकारी दिएको छ ।
८० हजार बिरुवा वितरण
एक वर्षको अवधिमा वन कार्यालयले ८० हजार बिरुवा विभिन्न सामुदायिक वन, कवुलियत वन, विद्यालय, स्थानीयतहलगायतलाई वितरण गरेको छ । एकवर्षे बिरुवा २० हजार एक सयको हाराहारीमा वितरण गरिएको छ भने वहुवर्षीय बिरुवा ६० हजारको हाराहारीमा वितरण गरिएको छ ।
सोही अवधिमा वन कार्यालयले टिमुर, सतुवा, पदमचाल, देवदार, आँप, लिची आदि प्रजातिका ४७ हजार बिरुवा अन्यत्रबाट खरिद गरी निःशुल्क रूपमा वितरण गरेको डिभिजन वन कार्यालय रोल्पाका कार्यालय प्रमुख यज्ञमूर्ति खनालले जानकारी दिए । ‘बर्सेनि रूपमा हामीले निःशुल्क रूपमा बिरुवा वितरण गरिरहेको छौँ’, कार्यालय प्रमुख खनालले भने ‘जिल्लामा उत्पादन हुन नसकेको अवस्थामा हामीले बाहिरबाट खरिद गरेर वितरण गर्ने गरेका छौँ ।’
वन कार्यालयले यस वर्ष निजी, सामुदायिक तथा कबुलियती वन क्षेत्रमा वृक्षरोपणको लागि टिमुर २२ हजार पाँच सय, सतुवा नौ हजार, पदमचाल आठ हजार तिन सय, देवदार दुई हजार पाँच सय, सुन्तला सात हजार, कागती सात हजार, आँप दुई हजार नौ सय तथा लिची दुई हजार दुई सय बिरुवा खरिद गरी निःशुल्क ढुवानीसहित वितरण गरिएको जनाएको छ ।
यसैगरी जलजला सब डिभिजन वन कार्यालय अन्तर्गतको दुईखोली सुवाखोला सामुदायिक वन क्षेत्रमा सात हेक्टर क्षेत्रफलमा १० हजार पाँच सय खोटेसल्ला, चार सय २५ देवदार र एक हजार खरी प्रजातिको वृक्षरोपण गरेको जनाएको छ । यसैगरी रून्टीगढी सब डिभिजन वन कार्यालय अन्तर्गतका प्रगति सल्लेरी सामुदायिक वन, धुम्बास सामुदायिक वन, मुरुल्ले रानीवन सामुदायिक वन क्षेत्रमा करिब ४दशमलव आठ हेक्टर वन क्षेत्रमा खोटेसल्ला, पाषणवेद, टिमुर, अमला, बकाइनो, तेजपातलगायतका विभिन्न प्रजातिका बिरुवाहरू वृक्षरोपण तथा पुनःरोपण गरेको वन कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका ५८ वटा कबुलियती वनहरूमध्ये विभिन्न चार वटा कबुलियती वन क्षेत्रको चार दशमलव चार हेक्टर क्षेत्रफलमा अमृसो रोपण, विभिन्न नौ वटा कबुलियति वन क्षेत्रको पाँच दशमलव ४३ हेक्टर क्षेत्रफलमा टिमुर, पदमचाल, सतुवा र देवदारको वृक्षरोपण गरेको । त्रिवेणी सव डिभिजन वन कार्यालय अन्तर्गतको मुरुल्लेधुरी सामुदायिक वनको टिमुरवाङ क्षेत्रमा रोपण गरिएको टिमुर संरक्षणका लागि पाँच सय ६० मिटर लम्बाईमा जालीदार तारवार गरिएको तथा उक्त क्षेत्रको दुइ दशमलव ३४ हेक्टर क्षेत्रमा टिमुर गोडमेल तथा पुनः रोपणको कार्य गरिएको हो ।