तुफानबाबु श्रेष्ठ
मानिसको आवश्यकताले उसलाई कर्मशील बनाउँछ, तर आवश्यकता लोभमा परिणत भएपछि विवेक ओझेलमा पर्न थाल्छ । सन्तुष्टि हराएपछि जति प्राप्त भए पनि कमै लाग्छ, र त्यसैको परिणाम स्वरूप मानिसले आफ्नै हातले आफ्नै सुख, सम्बन्ध र भविष्य गुमाउने गल्ती गर्छ ।
इतिहास, धर्मग्रन्थ र लोककथाहरूमा लोभलाई सबैभन्दा ठूलो शत्रु मानिएको छ । किनभने लोभले मानिसको सोचलाई अन्धो बनाइदिन्छ, सही गलत छुट्याउने क्षमता हराइदिन्छ र अन्ततः उसलाई पश्चात्ताप बाहेक केही बाँकी रहँदैन । यस्तै गहिरो सन्देश बोकेको एउटा प्रेरणादायी कथा हो– ‘लोभको परिणाम’ । यो केवल एउटा गोठालो र भेडाबाख्राको कथा मात्र होइन, आजको समाजमा धन, पद, प्रतिष्ठा वा क्षणिक लाभका लागि आफ्नै मूल्य, सम्बन्ध र जिम्मेवारी बिर्सने हरेक मानिसको ऐना पनि हो ।
एक सुन्दर गाउँमा एउटा गोठालो बस्थ्यो । उसको जीविकाको आधार केही बाख्रा र तिनका पाठापाठी थिए । ती नै उसको सम्पत्ति, आम्दानी र परिवारको आशा थिए तर गोठालोको एउटा कमजोरी थियो( ऊ अत्यन्त लोभी स्वभावको थियो । ऊ सधैं आफू गाउँकै सबैभन्दा धनी बन्ने सपना देख्थ्यो । आफूसँग भएकोमा खुसी हुनुको सट्टा अरूसँग भएको देखेर लोभ गथ्र्यो ।
एक दिन ऊ आफ्ना बाख्राहरूलाई चराउन गाउँबाट टाढा, जंगलको छेउतिर रहेको पहाडी क्षेत्रमा पुग्यो । राम्रो घाँसको खोजीमा ऊ पहिले कहिल्यै नपुगेको बाटो हुँदै अघि बढ्दै थियो । अचानक मौसम बदलियो । कालो बादलले आकाश ढाक्यो, भीषण वर्षा सुरु भयो र हुरीले चारैतिर आतङ्क मच्चायो । आफ्नो ज्यान र बाख्राहरूलाई बचाउने उद्देश्यले उसले सुरक्षित स्थान खोज्न थाल्यो । केही माथि एउटा ठूलो गुफा देखेपछि उसले बाख्राहरूलाई बाहिर बाँध्यो र गुफाभित्र पस्यो ।
गुफाभित्रको दृश्य देखेर ऊ चकित भयो । त्यहाँ धेरै वटा जंगली भेडाहरू थिए । ती सबै तगडा, स्वस्थ, बाक्लो ऊन भएका र निकै आकर्षक देखिन्थे । भेडाहरू देख्नेबित्तिकै गोठालोको मनमा लोभ जाग्यो । उसले मनमनै सोच्यो( ‘यदि यी सबै भेडा मेरा भए भने म गाउँकै सबैभन्दा धनी मान्छे बन्ने थिएँ । यति धेरै राम्रा भेडा कसैसँग छैनन् ।’
त्यसपछि उसले एउटा योजना बनायो । भेडाहरूलाई आफ्नो बनाउन उनीहरूको विश्वास जित्नु पर्ने ठान्यो । ऊ गुफाबाट तल झ¥यो । बाहिर उसका आफ्नै बाख्राहरू चिसो वर्षामा काँपिरहेका थिए तर अब तिनप्रति उसको माया हराइसकेको थियो । बरु उसले सोच्यो, ‘अब यी कमजोर बाख्राको के काम ? मलाई त ती मोटा भेडा चाहिएका छन् ।’ उसले बाख्राहरूलाई खुला छोडिदियो । त्यसपछि निकै दुःख गरेर हरियो घाँस काट्यो, ठूलो भारी तयार ग¥यो र फेरि गुफामा पुगेर ती जंगली भेडालाई आफ्नै हातले प्रेमपूर्वक घाँस खुवाउन थाल्यो ।
केही समयपछि वर्षा रोकियो । गोठालो बाहिर आयो । उसले देख्यो– उसका सबै बाख्रा त्यहाँबाट कतै हराइसकेका थिए । तर उसलाई त्यसको कुनै दुःख लागेन । बरु ऊ मुस्कुराउँदै सोच्न थाल्यो, ‘साना बाख्रा गुमे पनि के भयो र ? यति धेरै राम्रा भेडा त अब मेरा भए ।’ यही कल्पनामा रमाउँदै ऊ फेरि गुफाभित्र पस्यो । तर यसपटक दृश्य फेरिएको थियो । वर्षा रोकिएसँगै जंगली भेडाहरू स्वतन्त्र रूपमा गुफाबाट निस्केर जंगलतिर लागिसकेका थिए ।
गोठालो उनीहरूको पछि दौडियो । करायो, रोक्ने प्रयास ग¥यो, तर ती कुनै पनि उसको नियन्त्रणमा आएनन् । केही क्षणमै सबै भेडाहरू जंगलको गहिराइमा हराए । अब ऊ एक्लै उभिएको थियो । उसले रिसले कराउँदै भन्यो– ‘तिमीहरूका लागि मैले आफ्ना बाख्रा वर्षामा छोडेँ । यति मेहनत गरेर घाँस काटेर खुवाएँ । अनि तिमीहरू मलाई छोडेर गयौँ ? कति स्वार्थी रहेछौँ !’ रिस शान्त भएपछि ऊ त्यहीँ भुइँमा बस्यो । केहीबेर गहिरो सोचमा डुब्यो । विस्तारै उसले आफ्नो गल्ती बुझ्न थाल्यो ।
भेडाहरू स्वार्थी थिएनन् । उनीहरू त स्वतन्त्र जंगली जनावर थिए । वास्तवमा स्वार्थी त ऊ आफैँ थियो, जसले क्षणिक लोभका कारण वर्षौँदेखि आफ्नो साथ दिइरहेका बाख्राहरूलाई बेवास्ता ग¥यो । परिणामस्वरूप उसले नयाँ पनि पाएन, पुरानो पनि गुमायो । त्यो दिन गोठालोले जीवनकै सबैभन्दा ठूलो पाठ सिक्यो– आफ्नो भएको चिजको कदर नगर्ने मानिसले अन्ततः सबैथोक गुमाउँछ । आजको समाजमा पनि धेरै मानिसहरू बढी कमाउने लोभमा पुरानो व्यवसाय छोड्छन्, सानो फाइदाका लागि विश्वास तोड्छन्, पद र पैसाका लागि आफ्नै साथी, परिवार वा सहकर्मीलाई बिर्सन्छन् । केही समयका लागि उनीहरू सफल देखिए पनि अन्ततः विश्वास गुमाउँछन् । विश्वास गुमेपछि धनले पनि सम्मान फर्काउन सक्दैन ।
लोभले मानिसलाई कहिल्यै सन्तुष्ट हुन दिँदैन । जससँग जे छ, त्यसको मूल्य बुझ्न नसक्ने मानिसले संसारकै सबै सम्पत्ति पाए पनि सुख पाउन सक्दैन । त्यसैले सफलता प्राप्त गर्ने सबैभन्दा ठूलो आधार सन्तुष्टि, इमानदारी र आफ्ना मानिसहरूप्रतिको निष्ठा हो । ‘लोभको परिणाम’ केवल एउटा गोठालोको कथा होइन, हरेक युगका मानिसका लागि जीवनदर्शन हो । यसले सिकाउँछ कि क्षणिक लाभको लोभमा आफ्ना वास्तविक सम्पत्ति– विश्वास, सम्बन्ध, इमानदारी र कर्तव्य– त्याग्नु सबैभन्दा ठूलो मूर्खता हो ।
जीवनमा नयाँ अवसरको खोजी गर्नु राम्रो हो, तर त्यसका लागि आफ्ना आधार, आफ्ना मानिस र आफ्ना मूल्यहरू गुमाउनु बुद्धिमानी होइन । किनभने लोभले देखाएको बाटो सुरुमा सजिलो र आकर्षक देखिए पनि त्यसको अन्त्य प्रायः पश्चात्तापमै हुन्छ । सन्तुष्टि सबैभन्दा ठूलो सम्पत्ति हो, इमानदारी सबैभन्दा ठूलो पूँजी हो, र लोभ त्यस्तो आगो हो जसले अरूभन्दा पहिले आफ्नै जीवन जलाउँछ । त्यसैले प्राप्त भएकोको सम्मान गरौँ, परिश्रममा विश्वास गरौँ र लोभलाई होइन, विवेकलाई आफ्नो जीवनको मार्गदर्शक बनाऔँ ।