गोरक्ष समाचारदाता
दाङ, २२ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले ‘जर्नी टु जिनियस एक्स्पो’ कार्यक्रम गर्ने भएको छ । बिहिबार सम्पन्न विस्तारित बैठकले आगामी असोज ९, १० र ११ गते ‘जर्नी टु जिनियस एक्स्पो’ कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी केन्द्रित एक्स्पो कार्यक्रमका लागि विभिन्न समिति गठन गरेको छ । प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारीको संयोकत्वमा मूलआयोजक समिति गठन गरिएको छ । पूर्व केन्द्रीय सचिव तथा प्राज्ञिक परिषद् सदस्य यादव गिरीको संयोजकत्वमा प्राविधिक तथा शैक्षिक समिति, प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसूदन केसीको संयोजकत्वमा अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन समिति, बरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष शोभाखर भुसालको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, सचिव आदिम केसीको संयोजकत्वमा प्रचारप्रसार तथा सञ्चार समिति गठन गरिएको छ । आवश्यकता अनुसार थप समिति गठन गरिने र सम्पूर्ण सरोकारवाला निकायलाई समितिमा समेटिने बताइएको छ ।
साउन ३० गते प्याब्सन दाङले सदस्य विद्यालयका प्रधानाध्यापक भेला बोलाएको छ । भेलामा कार्यक्रमको स्वरूपबारे छलफल गरिने बताइएको छ । बैठकलाई सम्बोधन गर्दै प्याब्सन पूर्व केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारीले कार्यक्रमलाई सफल बनाउन सरोकारवाला सम्पूर्ण निकायलाई आग्रह गरेका छन् । ‘एक्स्पो समग्र दाङको शैक्षिक अवस्था र अवसरको कार्यक्रमको हो । दाङलाई शैक्षिक हबका रूपमा चिनाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । यो समग्र दाङको कार्यक्रम हो । सम्पूर्ण सरोकारवाला निकायलाई कार्यक्रममा जोडिन अपिल गर्दछौँ’, अधिकारीले भने ।
कार्यक्रममा पूर्व केन्द्रीय सचिव तथा प्राज्ञिक परिषद् सदस्य यादव गिरी, प्राज्ञिक परिषद् सदस्य अरुणकुमार शर्मा, प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, केन्द्रीय सदस्य महेन्द्र अधिकारी, प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, प्रमुख सल्लाहकार मधुसूदन केसी, सल्लाहकार विनयकुमार मिश्र, डा जीवराज आचार्य, प्याब्सन राप्तीका अध्यक्ष रामप्रसाद भट्टराई, प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीलगायतले कार्यक्रमका विषयमा विचार राखेका थिए । कार्यक्रममा सचिव आदिम केसीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष हरि वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा भएको प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीको स्वागतबाट सुरु भएको कार्यक्रममा प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।