अमरराज आचार्य
दाङ, २२ साउन । लुम्बिनी प्रदेश स्थापना भएको आठ वर्षको अवधिमा प्रदेश सरकारले एक हजार चार सय बढी किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ देखि ०८२÷०८३ सम्म एक हजार चार सय ३० किलोमिटर सडक कालोपत्रे गरिएको हो ।
प्रदेशका १२ जिल्लामा बितेको आठ वर्षमा एक हजार चार सय ३० किलो मिटर सडक कालोपत्रे भएको यातायात पूर्वाधार निर्देशानालय बुटवलका बरिष्ठ इन्जिनियर एवम् सूचना अधिकारी अरुण गुप्ताले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा दुई सय किलोमिटर कालोपत्रे भएको थियो । आर्थिक वर्ष ०७६÷०७७ मा कालोपत्रे सडक निर्माण एक सय ५३ किलोमिटरमा सीमित रह्यो । त्यसपछि ०७७÷०७८ मा बढेर एक सय ९४ किलोमिटर पुग्यो भने ०७८÷०७९ मा दुई सय दुई किलोमिटर सडक कालोपत्रे भयो ।
आर्थिक वर्ष ०७९÷०८० मा आठ वर्षकै सबैभन्दा बढी दुई सय ३१ किलोमिटर सडक कालोपत्रे भएको तथ्याङ्कले देखाएको छ । त्यसपछिको आर्थिक वर्ष ०८०÷०८१ मा भने कालोपत्रे सडक निर्माण उल्लेख्य रूपमा घटेर एक सय ५० किलोमिटरमा सीमित भयो । आर्थिक वर्ष ०८१÷०८२ मा एक सय ७६ किलोमिटर र ०८२÷०८३ मा एक सय २४ किलोमिटर सडक कालोपत्रे भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेश स्थापना भएयता लुम्बिनीमा एक हजार चार सय ३० किलोमिटर सडक कालोपत्रे भएको देखिन्छ । कालोपत्रे सडकको विस्तारले प्रदेशभित्रका जिल्ला, पालिका, बजार तथा ग्रामीण क्षेत्रबिचको यातायात सम्पर्क सहज बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ । आर्थिक वर्ष अनुसार भने निर्माणको परिमाणमा ठुलो उतारचढाव देखिएकाले वार्षिक रूपमा पूर्वाधार निर्माणको गति समान रूपमा कायम हुन सकेको छैन ।
आठ वर्षको अवधिमा एक हजार आठ सय ३५ किलोमिटर गाभ्रेल गरिएको छ । निर्देशनालयसँग भएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा दुई सय ४८ किलोमिटर सडक ग्राभेल गरिएको थियो । त्यसपछि ०७६÷०७७ मा दुई सय पाँच किलोमिटर, ०७७÷०७८ मा दुई सय ७० किलोमिटर र ०७८÷०७९ मा दुई सय ६५ किलोमिटर सडक ग्राभेल गरिएको थियो । आर्थिक वर्ष ०७९÷०८० मा भने ग्राभेल सडक निर्माण आठ वर्षकै उच्च देखिएको छ । उक्त वर्ष तीन सय ३४ किलोमिटर सडक ग्राभेल गरिएको थियो । त्यसपछि भने यसको वार्षिक उपलब्धि ओरालो लागेको छ ।
आर्थिक वर्ष ०८०÷०८१ मा दुई सय १० किलोमिटरमा झरेको ग्राभेल सडक निर्माण ०८१÷०८२ मा एक सय ७६ र ०८२÷८३ मा एक सय २७ किलोमिटरमा सीमित भएको छ । यसैगरी यो अवधिमा दुई हजार आठ सय १७ किलोमिटर कच्ची सडक विस्तार भएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा मात्रै प्रदेश भर छ सय ३१ किलोमिटर कच्ची सडक निर्माण गरिएको थियो । आठ वर्षको तथ्याङ्कमा एकै आर्थिक वर्षमा निर्माण भएको यो सबैभन्दा धेरै कच्ची सडक हो ।
आर्थिक वर्ष ०७६÷०७७ मा कच्ची सडक निर्माण घटेर तीन सय ९८ किलोमिटरमा झरेको थियो । ०७७÷०७८ मा चार सय १५ किलोमिटर पुगे पनि त्यसपछिका वर्षमा पुनः घटेको देखिन्छ । आर्थिक वर्ष ०७८÷०७९ मा तीन सय ९६, ०७९÷०८० मा दुई सय ७६, ०८०÷०८१ मा दुई सय ४९ र ०८१÷०८२ मा दुई सय ८९ किलोमिटर कच्ची सडक निर्माण भएको थियो । पछिल्लो आर्थिक वर्ष ०८२÷०८३ मा भने कच्ची सडक निर्माण एक सय ६३ किलोमिटरमा सीमित भएको छ ।
कालोपत्रे, ग्राभेल र कच्ची सडकलाई समग्रमा हेर्दा आर्थिक वर्ष ०७५÷०७६ मा प्रदेशमा एक हजार ७९ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको थियो । त्यसपछि ०७६÷०७७ मा सात सय ५६, ०७७÷७८ मा आठ सय ७९, ०७८÷०७९ मा आठ सय ६३ र ०७९÷०८० मा आठ ४१ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको देखिन्छ । आर्थिक वर्ष ०८०÷०८१ मा यो परिमाण घटेर छ सय नौ किलोमिटरमा झरेको थियो । आर्थिक वर्ष ०८१÷०८२ मा छ सय ११ किलोमिटरमा सीमित भएको सडक निर्माण तथा स्तरोन्नति ०८२÷०८३ मा थप घटेर पाँच सय १४ किलोमिटरमा झरेको छ ।
आठ वर्षमा दुई सय १७ मोटरेबल पुल
प्रदेशमा आठ आर्थिक वर्षमा दुई सय १७ वटा मोटरेबल पुल निर्माण भएका छन् । आर्थिक वर्ष ०७५÷०७६ मा पाँच वटा मोटरेबल पुल निर्माण भएकोमा ०७६÷०७७ मा सङ्ख्या दोब्बर भएर १० पुगेको थियो । आर्थिक वर्ष ०७७÷०७८ मा १७ वटा मोटरेबल पुल निर्माण भएका थिए । आर्थिक वर्ष ०७८÷०७९ मा मोटरेबल पुल निर्माणमा उल्लेख्य वृद्धि भएर एकै वर्ष ४० वटा पुल निर्माण भएका थिए । त्यसपछिको आर्थिक वर्ष ०७९÷०८० मा २९ वटा मोटरेबल पुल निर्माण भएका छन् । आर्थिक वर्ष ०८०÷०८१ मा पुनः बढेर ३९ वटा पुगेको मोटरेबल पुल निर्माण भएको थियो । ०८१÷०८२ मा ४० वटा पुगेको थियो । आर्थिक वर्ष ०८२÷०८३ मा भने ३७ वटा मोटरेबल पुल निर्माण भएको कार्यालयसँग तथ्याङ्क छ ।
७८ वटा झोलुङ्गे पुल निर्माण
आठ वर्षको अवधिमा प्रदेशमा ७८ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । सडक तथा मोटरेबल पुलको सहज पहुँच नपुगेका ग्रामीण क्षेत्रमा आवागमनमा सहज बनाउन यस्ता पुल महत्वपूर्ण मानिन्छन् । आर्थिक वर्ष ०७५÷०७६ मा पाँच वटा झोलुङ्गे पुल निर्माण भएका थिए । आर्थिक वर्ष ०७६÷०७७ मा भने झोलुङ्गे पुल निर्माणको उपलब्धि शून्य रहेको तथ्याङ्कले देखाएको छ । त्यसपछि ०७७÷०७८ मा सात, ०७८÷०७९ मा ११ र ०७९÷०८० मा १० वटा झोलुङ्गे पुल निर्माण भएका थिए । यसैगरी आर्थिक वर्ष ०८०÷०८१ मा आठ वर्षकै सबैभन्दा बढी १७ वटा झोलुङ्गे पुल निर्माण गरिएको थियो । आर्थिक वर्ष ०८१÷०८२ मा १५ र ०८२÷०८३ मा १३ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।
मोटरेबल र झोलुङ्गे दुवैलाई जोड्दा आठ वर्षको अवधिमा प्रदेश सरकारले कूल दुई सय ९५ वटा पुल निर्माण गरेको देखिन्छ । यसरी निर्माण भएका सडक तथा मोटरेबल र झोलुङ्गे पुलले नागरिकलाई सहजता थपेको प्रदेश सरकारले जनाएको छ । नयाँ सडकको ट्रयाक खोल्ने र ग्राभेल गर्नेभन्दा निर्माण भइसकेका सडकलाई स्तरोन्नति गर्दै कालोपत्रेमा लैजाने, अधुरा आयोजना समयमै सम्पन्न गर्ने र पुल निर्माणलाई सडक सञ्जालसँग जोडेर अघि बढाउनेतर्फ प्रदेश सरकारको प्राथमिकता केन्द्रित हुनु पर्ने देखिन्छ ।
सीमित स्रोतको प्रभावकारी परिचालनसँगै समयमै ठेक्का व्यवस्थापन, बजेट कार्यान्वयन र आयोजना सम्पन्न गर्ने क्षमता बढाउन सके प्रदेश स्थापना यता विस्तार भएको सडक तथा पुल सञ्जालले प्रदेशको आर्थिक गतिविधि र आवागमनलाई थप सहज बनाउन सहयोग पुग्ने देखिन्छ । प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको जनाएको छ ।