नेतृत्वले बेवास्ता गरेको मनोविज्ञान

विपुल पोखरेल

मनोविज्ञान मानिसको यस्तो कुरा हो, जो सहजै पढ्न पनि सकिँदैन तर मनोविज्ञान नबुझेर गरिएको व्यवहारले त्यो मानिसलाई सन्तुष्ट राख्न सक्दैन । मनोविज्ञानप्रतिको लगातारको बेवास्ताले मानिसलाई पीडा दिन थाल्छ । पीडाको परिणाम के हुन्छ ? पीडकप्रति अविश्वास, उसका निर्णयको अस्वीकार, प्रतिवाद, विद्रोह अनि सम्बन्धविच्छेद । मनोविज्ञान व्यक्ति वा समूहको अस्तित्व र योगदानको अवसरसँग बढी जोडिएको हुन्छ, लाभहानिको कुरालाई मनोविज्ञानले प्राथमिकतामा राख्दैन ।

महान् दार्शनिक हेगेलको ‘स्वीकृतिको सिद्धान्त’अनुसार मानिस केवल भौतिक लाभ वा पदका लागि काम गर्दैन, उसलाई आफ्नो अस्तित्व र योगदानको पहिचान तथा स्वीकृति चाहिन्छ । अर्का विद्वान् फ्रान्ज फ्याननले पनि मनोविज्ञानको चर्चा गर्दा मानव चेतना र सामूहिक पहिचानबिचको गहिरो सम्बन्धलाई व्याख्या गरेका छन् । यस अर्थमा भन्नुपर्दा मनोविज्ञान केवल चेतनाको अध्ययन मात्र होइन, मूल्य, निष्ठा र आत्मसम्मानको दर्शन पनि हो ।

कुनै पनि दल होस् वा अन्य संगठन, आफ्ना सदस्य तथा शुभेच्छुकको मनोविज्ञान बुझ्न नसक्दा त्यो संगठन क्रमशः कमजोर र धराशायी हुँदै जान्छ । अहिले नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको सबैभन्दा बलियो पहरेदार भनेर चिनिने पार्टी नेपाली कांग्रेस यस्तै संकटबाट गुज्रिरहेको छ । शुभेच्छुक, कार्यकर्ता र जिम्मेवारीमा रहेकाहरु गरी ३ थरी मनोविज्ञानका साथ नेपाली राजनीतिमा योगदान दिँदै आएको पार्टी अहिले छिन्नभिन्नको अवस्थामा छ । तिन थरी मनोविज्ञानको संयोजनबाट प्राप्त ऊर्जा र शक्ति नै कांग्रेस पार्टीको सबैभन्दा ठुलो पुँजी हो ।

नेपाली कांग्रेसभित्रका आमकार्यकर्ता र शुभेच्छुकहरुको मनोविज्ञानलाई यही दार्शनिक कोणबाट हेर्नुपर्ने हो । कांग्रेसका लाखौं कार्यकर्ता कुनै लाभको पद, व्यक्तिगत स्वार्थ वा सुविधाका लागि पार्टीमा आबद्ध छैनन् । अहिले दार्शिनिक रुपमा ती मनोविज्ञानहरुको विश्लेशण गर्नुभन्दा नेतृत्वको प्रतिष्ठालाई केन्द्रमा राखेका कारण पार्टीले यो संकट झेल्न परिरहेको छ । कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताहरुको मनोविज्ञान निर्माणका मुख्य आधारहरुलाई केहीबेर चर्चा गरौं ।

इतिहासप्रति गौरव गर्ने मनोविज्ञान (संस्थागत स्मृति)ः नेपाली कांग्रेसको स्थापना नै योगदानका लागि थियो । यो दल प्रतिस्पर्धा गर्नका लागि जन्मिएको थिएन । एउटा क्रान्तिमार्फत राजनीतिक अभ्यासलाई जनताको आँगनमा स्थापित गर्ने र राजनीति भनेको राणाहरुको दरबारभित्रको खेल होइन, यो त जनताको प्रत्यक्ष सरोकारको विषय हो भन्ने कुरा स्थापना गुर्न नै कांग्रेसको धेय थियो । यो मनोविज्ञान अहिलेको पुस्तामा समेत आकार लिएर स्थापित भएको छ । राणाशासन, पञ्चायत र निरंकुशताविरुद्धका आन्दोलनमा आफ्ना अग्रजहरुले दिएको सहादत, जेलनेल र त्यागको गौरवशाली इतिहास नै कार्यकर्ताको शक्ति हो कांग्रेस । यो स्मृति उनीहरुका लागि राष्ट्र निर्माण र लोकतन्त्र सुदृढीकरणको एउटा अजस्र पुँजी हो ।

बिपीको विचार र मौलिक समाजवादः बिपी कोइरालाले नेपालको माटो सुहाउँदो विकासको स्थानीय परिभाषा दिनुभयो । साना किसान, हलो जोत्ने किसानको अनुहार हेरेर योजना बनाउनुपर्छ भन्ने बिपीको लोकतान्त्रिक समाजवादप्रति कार्यकर्ताहरुको अगाध विश्वास छ । नेपालको सन्दर्भमा विकासको हरेक निर्णयले तल्लो तह र गाउँमा बस्ने जनतालाई प्रत्यक्ष सम्बोधन गर्न सक्नुपर्छ भन्ने बिपीको मान्यताप्रतिको अटुट विश्वासले अहिले पनि कांग्रेससँग शुभेच्छुकहरुको ठुलो सङ्ख्या आशाका साथ जोडिएको छ । निःस्वार्थ योगदानको संकल्पः कुनै अपेक्षाबिना पनि यो मुलुकको लोकतन्त्रको रक्षा र सम्बर्धनका लागि कांग्रेसले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने मनोविज्ञानका साथ कांग्रेसको आह्वानमा निष्ठा र संकल्पसाथ योगदान दिने मनोविज्ञान कार्यकर्ताको ठुलो पंक्तिमा छ ।

विडम्बना, आज पार्टी नेतृत्वको तहमा कार्यकर्ताको यो आदर्शवादी र निष्ठावान् मनोविज्ञान पूरै उपेक्षित छ । वर्तमान कांग्रेसभित्र विचारको कुनै भिन्नता वा रुपान्तरणको नयाँ बहस छैन । मुख्य समस्या एकापसमा एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु र आफ्नो प्रतिष्ठालाई पार्टी हितभन्दा माथि राख्नु हो । विशेष महाधिवेशनपछिका घटनाक्रमलाई हेर्ने दृष्टिकोण, राजनीतिक सवालमा अदालत गुहार्ने प्रवृत्ति र संस्थापन तथा इतर पक्षबिचको भीषण गुटगत प्रतिस्पर्धाले पार्टीलाई विभाजनको डिलमा पु¥याएको छ । नेतृत्व तहले निम्नलिखित कुरामा ध्यान पु¥याउने हो भने कांग्रेस भित्रको खास मनोविज्ञान बुझ्न मद्दत गर्नेछ र त्यो पार्टीको हितमा त हुने नै छ, सँगसँगै निःस्वार्थ लोकतन्त्रको पक्षमा योगदान दिन चाहनेहरुले पनि अवसर पाउने छन् । त्यो अवसरसँग लाभको कुनै सम्बन्ध रहनेछैन ।

कार्यकर्ताको मनोविज्ञान पढ्नुः नेतृत्व केवल गणितीय शक्ति सन्तुलन र शक्ति कब्जामा मग्न छ तर तल्लो तहका कार्यकर्ताको भावना, चिन्ता र निःस्वार्थ भावलाई बुझ्न असमर्थ छ । मलाई केही चाहिएको छैन, लोकतन्त्रको पक्षमा र बिपीले सोचेको जस्तो हार्दिकतामा अडेको समाज स्थापनाको सन्दर्भमा योगदान दिन चाहन्छु भन्ने थुप्रै कार्यकर्ता र शुभेच्छुकको भावना नै कांग्रेसको पुँजी हो । संस्थागत दायित्वको स्मृतिः पार्टीको संस्थापन पक्ष र अन्य शीर्ष नेताहरुले आफूलाई सिंगो पार्टीको अभिभावक बनाउनुको साटो गुटको नायकमा सीमित गरेका छन् । यो मनोविज्ञान वा स्वार्थबाट माथि उठेर पार्टीले विगतमा प्रदर्शन गर्दै आएको राष्ट्रिय दायित्वको स्मरण गर्दै त्यो विरासतलाई निरन्तरता दिने सन्दर्भमा समकालीन भूमिकाको पहिचान र त्यो ढङ्गको योगदान दिनेतर्फ क्रियाशील हुन सक्नुपर्छ ।

अदालत र कानुनी दाउपेचभन्दा माथि उठ्ने सोचको विकासः राजनीतिक समस्यालाई राजनीतिक र वैचारिक ढंगले हल गर्नुको साटो अदालत गुहाएर पार्टीलाई अनिर्णयको बन्दी बनाउने काम भइरहेको छ । यो कुराले पार्टीका तल्लो तहका शुभेच्छुक र कार्यकर्ता लज्जित छन् । ‘बिपी भएको भए ठोस निर्णय गर्नुहुन्थ्यो’ भन्दै निन्याउरो मुख लगाएका तमाम शुभेच्छुक र कार्यकर्ताले अभिभावकविहीन अवस्था महसुस गरिरहेका छन् ।

हामी मिलेर जानुपर्छ भन्ने उनीहरुको चाहना अहिलेको सन्दर्भमा कांग्रेसका लागि राष्ट्रिय मनोविज्ञान बन्नुपर्ने हो तर नेतृत्वको अनावश्यक प्रतिस्पर्धा र अर्काको आलोचना गर्ने प्रवृत्तिले शुभेच्छुक र कार्यकर्ताको त्यो मनोविज्ञानको सम्मान गर्नुको साटो धज्जी उडाइरहेको छ ।

इतिहास साक्षी छ, जब–जब दलका नेतृत्वले आफ्ना कार्यकर्ता र समर्थकहरुको निष्ठा, आदर्श र मौलिक मनोविज्ञानलाई बिर्सेर केवल व्यक्तिगत वा गुटगत स्वार्थमा लिप्त भए, तिनले ठुलो ऐतिहासिक दुर्घटना भोग्नुप¥यो । आत्मश्लाघा, पदप्रतिको आशक्ति, यथास्थितिवादी सोच, आफू नै सबै दृष्टिले सर्वेसर्वा भएको मनोगत विश्लेषणजस्ता प्रवृत्तिले नेतृत्वलाई आफ्ना शुभेच्छुक र कार्यकर्ताको मनोविज्ञान बुझ्नमा व्यवधान गरिरहेको हुन्छ । चीनका नेता सन यात सेनको पार्टी कुओमिन्ताङ अर्थात् चिनिया नेसनल पार्टी, भारतको समाजवादी पार्टी, इटलीको सोसलिस्ट पार्टी मात्र होइनन्, अहिलेको समयमा भारतीय राष्ट्रिय कांग्रेसको पनि त्यस्तै हालत हुँदै गरेको देखिन्छ ।

पूर्वी युरोपका सामाजिक–लोकतान्त्रिक दलहरु पनि आफ्ना मौलिक सिद्धान्त र निष्ठावान् कार्यकर्तालाई छाडेर प्राविधिक राजनीति गर्न थालेपछि ती दलहरु जनता र कार्यकर्ता दुवैबाट विस्थापित हुँदै गए । नेपाली कांग्रेसको नेतृत्वले पनि यस्ता इतिहासबाट पाठ सिकेन र कार्यकर्ताको सामूहिक मनोविज्ञानलाई बेवास्ता गरिरह्यो भने ती मनोविज्ञान बोकेकाहरुले पीडाबोध गर्नेछन् । पीडाको परिणाम के हुन्छ ? पीडकप्रति अविश्वास, उसका निर्णयको अस्वीकार, प्रतिवाद, विद्रोह अनि सम्बन्धविच्छेद । अझै पनि नेतृत्वको अहम्, व्यक्तिगत प्रतिष्ठाको लडाइँ र गुटगत संकीर्णताले यो विशाल जनपुँजीलाई तङ्भंग र निराश बनाउने कार्यलाई रोक्न सकिन्छ । नेतृत्वले आफ्नो दुर्गुण त्यागेर तत्काल कांग्रेसी मनोविज्ञानको कदर गर्नैपर्छ । एकले अर्काको अस्तित्व स्वीकार गर्दै वैचारिक धरातलमा फर्किएर र अदालतको ढोकाभन्दा राजनीतिक संवादको माध्यमबाट आन्तरिक संकट हल गर्नु नै कांग्रेस बचाउने एक मात्र विकल्प हो ।

महान् दार्शनिक हेगेलको स्वीकृतिको सिद्धान्तले भन्छ– निष्ठावान् कार्यकर्ताले पद वा पैसा नमागे पनि नेतृत्वबाट आफ्नो योगदानको स्वीकृति र सम्मान खोजिरहेका हुन्छन् । जब नेतृत्वले त्यो आत्मसम्मान र योगदानलाई बेवास्ता गर्छ, तब कार्यकर्तामा निराशा र वितृष्णा पैदा हुन्छ । कांग्रेसका नेतापंक्तिले मनोविज्ञानको यो दार्शनिक पक्षलाई ध्यानमा राखेर सोच्न आवश्यक देखिन्छ ।