गोरक्ष समाचारदाता
दाङ, २१ साउन । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले करिब पाँच अर्ब रुपैयाँ लगानी जुटाउन सक्ने राजनीतिक नेतृत्व भए टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले टरिगाउँ विमानस्थलमा उत्तर–दक्षिणतर्फ एक हजार पाँच सय मिटर लामो धावनमार्ग निर्माण गर्न करिब पाँच अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले त्यो रकम जुटाउन सक्ने नेतृत्व आवश्यक रहेको बताए ।
तुलसीपुर उपमहानगरपालिकाले बनाएको प्राविधिक टोलीको अध्ययनले उत्तर–दक्षिण धावनमार्ग निर्माण गर्न सके हावा कम चल्ने, बिहान र साँझको समयमा विमान सञ्चालन गर्न सकिने गरी विस्तार गर्न सकिने बताएका हुन् । ‘प्राविधिक रूपमा उत्तर–दक्षिण एक हजार पाँच सय मिटरको धावनमार्ग बनाउन सकियो भने हावा नचलेको समयमा विमान सञ्चालन सम्भव हुन्छ’, पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले भने, ‘दिउँसो हावाको प्रभावका कारण सञ्चालन कठिन भए पनि बिहान र साँझ उडान गर्न सकिन्छ । यो प्राविधिक अध्ययनले देखाएको हो ।’ पोख्रेलले प्राविधिक अध्ययनले नारायणपुरको दक्षिण क्षेत्रमा नेपालकै उत्कृष्ट विमानस्थल निर्माण गर्न सकिने सम्भावना देखाए पनि राजनीतिक नेतृत्वले आँट गर्न नसक्दा बन्न नसकेको बताए । उनले टरिगाउँ विमानस्थल विस्तारको विपक्षमा आफू नरहेको स्पष्ट पार्दै प्राविधिक कठिनाइका कारण विस्तार चुनौतीपूर्ण रहेको बताए ।
पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७२ सालतिर आफ्नै पहलमा विमानस्थल विस्तार प्रक्रिया अघि बढाउन खोजिए पनि सरकारको छोटो कार्यकालका कारण अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ थियो । उनका अनुसार नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा पर्यटन मन्त्रालयले गराएको अध्ययनले टरिगाउँ विमानस्थल आर्थिक र प्राविधिक दृष्टिले विस्तार गर्न कठिन रहेको तथा नारायणपुर क्षेत्र उपयुक्त रहेको निष्कर्ष दिएको थियो ।
सरकारी जग्गामा बसोबास गरेका स्थानीयको विरोधका कारण भने योजना कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । पछि त्यही अध्ययन टोलीले गरेको अर्को अध्ययनले नारायणपुरको दक्षिण क्षेत्रलाई अझ उपयुक्त स्थानका रूपमा औल्याएको भए पनि त्यसबेला जिल्लाका राजनीतिक नेतृत्वले आवश्यक निर्णय गर्न नसकेको उनले बताए । त्यसपछि आपूm पनि टरिगाउँ विमानस्थलकै विस्तारलाई नै प्राथमिकतामा राखेर पहल अघि बढाइएको भए पनि प्राविधिक कठिनाइका कारण पछि परेको बताए ।
पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)ले उत्तर–दक्षिण धावनमार्ग निर्माण सम्भव रहेको देखाएको बताए । उक्त प्रतिवेदनका आधारमा तत्कालीन पर्यटनमन्त्रीसँग भेट गरी बजेट व्यवस्थापनका लागि पहल गरिएको तथा जग्गा अधिग्रहणमै करिब एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको भए पनि त्यस अनुसारको बजेट विनियोजन नहुँदा एयरपोर्ट बन्न सक्दैन भन्ने नेताहरूको अनुमान रहेको बताए ।
पोख्रेलले सरकार असफलताको बाटोतर्फ उन्मुख भइरहेको बताए । उनले सरकारले राम्रो काम गर्ने नागरिकको अपेक्षा रहेपनि सय दिनको अवधिमा त्यस अनुसारको उपलब्धि देखाउन नसकेको बताएका थिए । निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धता पूरा हुन नसकेको दाबी गर्दै बहुमतको सरकार भए पनि छोटो समयमै कमजोर बनेको टिप्पणी गरेका हुन् ।
महासचिव पोख्रेलले वर्तमान सरकारले जनतालाई महँगीबाहेक कुनै उल्लेखनीय उपलब्धि दिन नसकेको आरोप लगाएका थिए । विगतमा मूल्य वृद्धि चार प्रतिशतभन्दा कम रहेकामा अहिले पाँच प्रतिशतभन्दा माथि पुगेको भन्दै उनले नयाँ सरकार बनेपछि जनताले मूल्य वृद्धिको भार मात्रै बेहोर्नु परेको बताएका थिए । विद्युत् महसुलमा भ्याट लगाउँदा विपन्न नागरिक सबैभन्दा बढी प्रभावित भएको बताएका थिए । पत्रकार भेटघाट प्रेस चौतारी अध्यक्ष सुधासुमन ढकालको अध्यक्षमा भएको थियो ।