‘मिस मेनुका’ : समय बदलिए पनि नबदलिएको प्रश्न

विपुल पोख्रेल

एउटी वेश्या सत्यमा डगमग नगरेर अडिने संकल्प गर्छिन् । उनी त्यसरी सत्यमा अडिइन् भने समाजका टाठाबाठालाई क्षति पुग्ने कुरा निश्चित छ । सांसदसमेतको प्रतिष्ठा जोडिएको छ, ती वेश्याको सत्यप्रतिको संकल्पमा ।

यहाँ वेश्या एउटा प्रतीकका रूपमा उपस्थित पात्र हुन् । समाजको हेयकी पात्र हुन् । समाजको षड्यन्त्र नदेखेकी पात्र हुन् । आँखाले देखेको नै सत्य हो भन्ने बालमनोविज्ञानमा अझै कुनै पर्दा नहालेकी पात्र हुन् । सत्यको पक्षमा उभिनुपर्छ भन्ने सिकाइको विपक्षका कुनै तर्क नसुनेकी पात्र हुन् ।

अब ती वेश्याले यो समाजमा सत्यको पक्षमा उभिने संकल्पलाई कायम राख्न सम्भव होला ?

सन् १९४६ तिर फ्रान्सेली नाटककार ज्याँ पल सात्र्रको ‘ला पुतान रेस्पेक्त्युज’ (ीब एगतबष्ल चभकउभअतगभगकभ) ले लेखेको नाटकलाई नेपाली भाषा र परिवेशमा रूपान्तरण गरेर ‘मिस मेनुका’को नाम दिई अहिले काठमाडौँको शिल्पी थिएटरमा प्रदर्शन भइरहेको नाटक हेर्दै गर्दा उत्पन्न हुने प्रश्न हो यो । सन् २०२६ मा पनि यस्तो प्रश्न सामयिक मानिने छ र त्यतिबेला पनि यो प्रश्नको जवाफ उही नै रहने छ, अर्थात् जवाफ ‘असम्भव’ भन्ने नै हुनेछ भन्ने अनुमान सन् १९४६ मा सात्र्रले गरेका थिए होलान् कि नहोलान् ? तर यति लामो अवधि जीवित रहन सक्ने विषयको उठान हुनु यो नाटकको सबैभन्दा सबल पक्ष हो ।

नाटकमा वेश्याको भूमिकामा रहेकी मेनुकाले देखेको एउटा हत्याको घटनामा सांसदको भतिजा तथा शहरको गुन्डा गौरवले एकजनाको हत्या गर्छन् । तर त्यो हत्याको दोष एउटा मधेशीमूलका दलित अरविन्द पासवानलाई दिएर गौरवलाई जोगाउने सम्पूर्ण प्रपञ्चको प्रदर्शन बनेको छ यो नाटक ।

यति गर्दै गर्दा नाटकले समाजमा जरा गाडेर बसेको जातीय, वर्गीय र लैङ्गिक विभेदलाई अत्यन्तै यथार्थपरक ढङ्गले उजागर गरेको छ । नाटकको अनिवार्य तत्व मानिने द्वन्द्वका रूपमा हुनेखाने कुलीन घराना, सीमान्तकृत मधेशी÷दलित पात्र तथा यौनकर्मीबीचको द्वन्द्वलाई अत्यन्त मार्मिक र स्वाभाविक लाग्ने गरी प्रस्तुत गरिएको छ ।

सांसद जगन्नाथ शर्मा र उनका भान्जा विवेकजस्ता पात्रहरूले आफ्नो राजनीतिक प्रभाव, पारिवारिक प्रतिष्ठा र जातीय अहङ्कार बचाउनका लागि सत्यमाथि कसरी धावा बोल्छन् र निमुखालाई कसरी पासोमा पार्छन् भन्ने कुरा नाटकले स्पष्ट रूपमा देखाएको छ । यसले राजनीतिक वृत्तको आडमा हुने नैतिक पतन र आडम्बरलाई गतिलो व्यङ्ग्य गरेको छ । नाटक हेर्दै गर्दा लाग्छ, वैश्या पेसाभन्दा पनि घृणित अभ्यास गर्ने रहेछन् समाजमा कुलीन र शक्तिशालीको आवरणमा बस्ने मानिसहरूले ।

नाटककी मुख्य पात्र मेनुका एक यौनकर्मी भए पनि उनीभित्र रहेको सत्य बोल्ने साहस र मानवीय संवेदनाले नाटकलाई भावनात्मक गहिराइ दिएको छ । तर त्यो साहसलाई कसरी उनैले थाहा नपाउने गरी भुत्ते बनाइदिने ‘कला’ ठालुवर्गले प्रदर्शन गर्दो रहेछ भन्ने असली प्रवृत्ति प्रस्तुत गरेर नाटकलाई थप गहिराइमा पु¥याइएको छ ।

कूटनीतिज्ञ, अर्थशास्त्री तथा दार्शनिक कौटिल्यको चाणक्य नीतिअनुसार कसैलाई आफ्नो नियन्त्रणमा लिन वा काम निकाल्न चार प्रकारका उपाय अपनाइन्छ : १. सामः मीठो बोलेर, नजिकिएर र प्रशंसा गरेर फकाउने । २. दामः फाइदा, लोभ वा उपहारको प्रलोभन देखाउने । ३. भेदः शङ्का, भ्रम र अलमलमा पारेर एकापसमा वा मनमा फुट ल्याउने र ४. दण्डः डर, त्रास र दबाब उत्पन्न गराएर वशमा पार्ने ।

कौटिल्यको यो नीति ठालुहरूले निर्धाहरूमाथि आफूले आधिपत्य स्थापित गर्नका लागि दिएको÷सिकाएको सूत्र मात्र हो त ? होइन भने, यसको अभ्यास किन निर्धाहरूले गर्न सक्दैनन् ? नाटकले यो प्रश्न पनि जागृत गराइदिन्छ ।

‘मिस मेनुका’मा पनि कौटिल्यको नीति वेश्याको सत्यप्रतिको संकल्पलाई ध्वस्त पार्नका लागि प्रयोग गरिएको छ । विवेकले वेश्यालाई आफ्नो वशमा राख्छन्, प्रहरी(जनक)ले डर देखाउँछ, सांसद जगन्नाथले मीठो बोलेर, शङ्का, भ्रम र अलमलमा पारेर अनुकूलको निर्णय गराउँछन् अर्थात् आफ्ना भतिजा गौरवलाई जोगाउन सफल हुन्छन् । एउटा मधेशी दलितको जीवनमाथि ती वेश्याबाहेक कोही पनि संवेदनशील देखिँदैनन् । किराफट्याङ्ग्रामाथि आक्रमण हुँदा जत्तिको मन पनि दुख्दैन ठूलाबडाको ।

‘सत्य त अवश्य हो । तर सत्य अनेक किसिमका हुन सक्छन्। तिम्रो सत्य सबैको प्रिय चाहिँ परेन। मानिस जस्तै सत्य पनि उच्च र नीच वर्गका हुन्छन् ।’

‘मधेशेलाई मार्न पुग्यो, ठिकै भयो भनेर म भन्दिनँ । काम अनुचित गरेको हो। तर मलाई उसको आवश्यकता छ। ऊ एक असल घरानाको प्रतिभाशाली नागरिक हो, मलाई काम लाग्ने। गतिला र महँगा स्कुलमा पढेका यस्ता युवाहरूको मलाई जरुरत छ । उसको पारिवारिक व्यवसायमा ५०० मजदुरले काम गर्छन् । भोलि व्यवसायमा केही भइगयो भने ५०० परिवारको विचल्ली हुन्छ । उसको धर्म आफू जिउँदै रहेर मजस्ता नेताहरूलाई सघाउनु हो । यो मातृभूमिप्रतिको कर्तव्य निर्वाह गर्नु हो । तेरो कर्तव्य चाहिँ के हो त ?’

ठूलाबडा भनिनेहरू कस्ता तर्क गर्न सक्दा रहेछन् र कस्ता प्रश्न गरेर निर्धालाई ‘इमोशनल ब्ल्याकमेल’ गर्दा रहेछन् भन्ने कुरा पनि यो नाटकमा रहेको प्रस्तुत सम्वादले स्पष्टसँग देखाएको छ । यो प्रवृत्ति आजको दिनमा पनि हाम्रो समाजमा जस्ताको तस्तै छ भन्ने स्मरण गराउँदै हामीलाई झसङ्ग बनाउने क्षमता बोकेको छ यो नाटकले ।

नाटकका संवादहरू स्वाभाविक लाग्छन् । वेश्यालयमा बोलिने संवाद कस्ता हुँदा रहेछन् भन्ने जानकारी पनि दिन्छ नाटकले । तर पनि अश्लिल लाग्दैन कुनैबेला । पात्रहरूबीचको वैचारिक सङ्घर्ष, मानसिक दबाब र परिस्थितिले सिर्जना गरेको उकुसमुकुसले दर्शकलाई सुरुदेखि अन्त्यसम्म अड्याउन सक्छ । कौतूहलता पनि त्यत्तिकै जागृत भइरहन्छ । ‘म समय कटाउनका लागि नाटक हेर्दै छैन, एउटा विषयमा घोत्लिएको छु” भन्ने भावना जागृत गरिरहन्छ हरक्षण दर्शकहरूमा ।

युरोपेली परिवेशको नाटकलाई नेपाली समाजको माटो, भाषा, जातीय संरचना र राजनीतिक परिवेशसुहाउँदो रूपमा गरिएको नेपाली रूपान्तरणले यसलाई हाम्रो सन्दर्भमा ढाल्न सफल भएको छ । समकालीन नेपाली राजनीतिभित्रको फोहोर चित्रलाई उजागर गर्न र सामाजिक न्यायको सन्दर्भमा हाम्रो बहसलाई अझ गहिरो बनाएर लैजानका लागि प्रेरित गर्ने कोणबाट हेर्दा यो नाटक पूर्ण रूपमा सान्दर्भिक देखिन्छ ।

समीक्षकहरूले भनेका छन्– यो नाटकले ‘यौनकर्मीको कोठाबाट समाज देखाउने प्रयास’ गरेको छ । यो तर्कसँग सहमत हुँदै थप भन्न मन लागेको छ, ‘तिमीले भुल्यौ क्या हो हाम्रो समाजको विद्रूप रूप ?’ भनेर शिल्पी थिएटर र घिमिरे युवराजले हामी सबैलाई सचेत गराउनका लागि प्रदर्शन गरेका छन् यो नाटक ।

नाटकको प्राबिधिक पक्षमा पनि धेरै भन्नुछैन । भन्न खोजेको आवाज स्पष्ट सुनिन्छ, देखाउनु खोजेको दृष्य प्रष्ट देखिन्छ । अझ राम्रो गराउने ठाउँ त गीतामा पनि भेटिन्छ ।

नाटक :

मिस मेनुकाः एक संवेदनशील यौनकर्मी
नाट्यकारः ज्याँ पल सात्र्र
नाट्य रुपान्तरणः कल्पना घिमिरे नुरिस्सोँ
मञ्चमाः सरिता गिरी, घिमिरे युवराज, रुपेश मण्डल, प्रभावर देव शर्मा, धनराज सुनार, गोविन्द ओली
मञ्चन स्थानः शिल्पी थिएटर, बत्तिसपुतली
मञ्चन अवधिः १३ साउनदेखि ६ भदौसम्म