मेरो खुशी : अङ्ग्रेजी अनुवाद र त्यो साठी रुपैयाँ …

एउटा समय थियो, दाङमा अङ्ग्रेजी पढ्न र बोल्न जान्ने मान्छे विरलै भेटिन्थे । त्यही समयमा जिल्ला शिक्षा कार्यालयमा विदेशी पाहुना आउँदा खैरेले बोलेको अङ्ग्रेजी नेपालीमा अनुवाद गरिदिन बोलाइने घोराहीमा एकजना शिक्षक थिए, मधुसुदन गौतम ।

त्यही क्षणलाई उनी आफ्नो जीवनको एउटा अविस्मरणीय खुसीको क्षणका रूपमा सम्झन्छन्, जुन क्षणले उनलाई गर्वले भरेको मात्र होइन, आफ्नो पढाइको सार्थकता पनि देखाएको थियो । युवा उमेरदेखि नै शिक्षण पेसामा लागेका मधुसुदन गौतमलाई गोरक्ष दैनिकको खुसी स्तम्भका लागि छनौट गरेर ‘तपाईंको जीवनको सबैभन्दा ठुलो खुसी के हो ?’ भनेर सोध्दा उनले भने– ‘त्यो समयमा अहिले जस्तो अङ्ग्रेजी पढ्ने र बोल्न सक्ने मानिस कमै हुन्थे । कर्मचारीले पनि खासै नबोल्ने भएपछि जिल्ला शिक्षा कार्यालयले नै मलाई बोलाएर दुई पक्षको कुरा हुँदा अनुवाद गर्न लगाउँथे, त्यो पनि मेरो जीवनको ठुलो खुसीको क्षण हो ।

२००५ साल चैत २२ गते बुबा ईश्वरीप्रसाद गौतम र आमा ईश्वरादेवी गौतमको जेष्ठ सुपुत्रका रूपमा घोराही उपमहानगरपालिका–१८ रझेनामा जन्मिएका गौतमको हाल उमेर ७८ वर्ष पुगेको छ । गौतमले जीवनका ७८ वर्षमध्ये ४२ वर्ष शिक्षण पेसामै बिताए । नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाउने काम गरेका गौतमको मेजर विषय भने अङ्ग्रेजी नै थियो ।

तत्कालीन पद्मोदय पब्लिक माध्यामिक विद्यालय भरतपुरमा आईए अध्ययन गर्दा गर्दै नै घोराही उपमहानगरपालिका–१४ स्थित रात्री मावि रझेनामा २०२८ सालतिर पढाउने काम थालेका गौतम बिहान क्याम्पस पढ्थे भने साँझ ६ बजेदेखि ९ बजेसम्म स्कुलमा पढाउँथे । त्यो बेला स्कुलमा गौतमको तलब महिनाको ६० रुपैयाँ थियो । आफूले पढाएर ६० रुपैयाँ तलब बुझ्दाको क्षणलाई पनि गौतम जीवनको अर्को खुसीका रूपमा सम्झन्छन् । ‘पढाएर महिना पुगेपछि त्यो समयमा ६० रुपैयाँ तलब बुझ्दा मन यत्ति खुसी हुन्थ्यो, त्यो अहिले सम्झिँदा अनौठो जस्तो लाग्छ’, विगत स्मरण गर्दै गौतम भन्छन्,‘तलबको ५० रुपैयाँ घरमा बुबालाई दिएर १० रुपैयाँ राख्दा पनि प्रशस्त खर्च गर्न पुग्थ्यो । त्यो पनि खुसीकै समय हो ।’ रात्री माविमा करिब एक वर्ष पढाएपछि गौतम २०२८ सालमा हाल पूर्वी रुकुम जिल्लाको सदरमुकाम रुकुमकोट पुगे, जहाँ पढाउनका लागि उनले ६ दिन पैदल हिँडेको बताउँछन् ।

अहिले सडक र सवारी साधनको विकासले नजिक भए पनि दुरीका हिसाबले टाढा छ । त्यतिबेला बाटो र सवारी थिएनन्, दाजुसँग छ दिन पैदल हिडेर रुकुमकोट पुग्दाको क्षण पनि अविस्मरण क्षण भएको बताउँछन् । २०२८ सालमा नयाँ शिक्षा प्रणाली लागु भएसँगै गौतम रुकुमकोटबाट दाङ फर्किए र २०२९ सालदेखि करिब तीन वर्ष रझेनामा निमावि तहमा शिक्षकका रुपमा पढाउने काम गरे । अङ्ग्रेजी र नेपाली पढाउने काम गरे । त्यो बेला रझेनामा प्रधानाध्यापकका रूपमा टिकादत्त पन्त कार्यरत थिए ।

त्यसैक्रममा महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा विए पढाइ सुरु भयो । २०३१ सालमा सुरु भएको क्याम्पसको पहिलो ब्याचको अङ्ग्रेजी विद्यार्थीका रूपमा गौतमले स्नातक तह अध्ययन थाले, जब कि क्याम्पसमा अग्रेजी पढ्ने विद्यार्थी जम्मा चार जना मात्र थिए । अङ्ग्रेजी पढाउनका लागि क्याम्पसमा ब्रिटिस प्राध्यापकका रूपमा गोर्डन रगसँगै नेपाली प्राध्यापकका रूपमा नारायणसिंह गुरु र उनकी श्रीमती मञ्जु गुरुङ रहेका थिए । मेजर विषयका रूपमा अङ्ग्रेजी पढ्न गाह्रो भएको र किताब समेत नपाइने भएपछि त्रिवि (टियु) बाट ल्याइएका चारवटा किताब चारजना विद्यार्थीले पालैपालो मिलाएर पढेको उनी सम्झन्छन् । शिक्षाप्रति गरेको त्यही मेहनत, लगनशीलता र अनुशासनकै भरमा आज आफूले यो उचाइ हासिल गरेको उनको ठम्याइ छ ।

स्नातक तह पूरा गरेपछि २०३५ सालमा शिक्षा सेवा आयोगबाट पहिलो नम्बरमा नाम निकालेर निमावि तहमा रझेना माविमा नै स्थायी पोष्टिङ पाएका गौतम २०३७ सालमा काज सरुवामा देउखुरीको भालुबाङस्थित आदर्श माध्यामिक विद्यालय लालमटिया पुगेका थिए । जहाँ पहिलो पटक पुग्दा घोराहीबाट लमहीसम्म एक दिन र त्यहाँबाट लालमटियासम्म अर्को दिन गरी दुई दिन पैदल हिँड्नु परेको उनी सुनाउँछन् । त्यसबेला आदर्श माध्यामिक विद्यालय लालमटियाका प्रधानाध्यापक टेकनप्रसाद शर्मा घिमिरे थिए । उक्त विद्यालयमा गौतमले तीन वर्ष अङ्ग्रेजी र नेपाली शिक्षकका रूपमा पढाउने काम गरेको बताउँछन् ।

बिरगंज्बाट बिएड गरेका २०४१ सालमा माविमा पहिलो नम्बरमा नाम निकालेर मावि रझेनामा पोष्टिङ पाएका गौतमले २०४१ देखि २०६७ सालसम्म निरन्तर रझेनामै पढाउने काम गरे । ४२ वर्षको शिक्षण जीवनमा हजारौँ विद्यार्थीलाई शिक्षा दिएका उनी आफूले पढाएका विद्यार्थी अहिले विभिन्न क्षेत्रको नेतृत्वमा रहेको देख्दा र उनीहरूले गुरुको रूपमा सम्मान गर्दा खुसी लाग्ने गरेको बताउँछन् । ‘शिक्षकको जागिरे जीवनका क्रममा करिब ४२ वर्ष हजारौँ विद्यार्थीलाई शिक्षा दिइयो, त्यसमध्येमा कतिपय विद्यार्थी राम्रो ठाउँमा पुगेका छन्’, उनी भन्छन्, ‘तीनैमध्येका कतिपय विद्यार्थिले शिक्षा क्षेत्रदेखि बैंकलगायतका संघसंस्थाको नेतृत्वमा छन् ।

कहिले काहीँ फोन गर्छन्, कतिपयसँग भेट हुँदा गुरुका रूपमा सम्मान गर्छन्, त्यो पनि खुसीकै क्षण हो ।’ साधारण जीवनशैली र नम्र बोली व्यवहारका गौतम पारिवारिक रूपमा मध्यमवर्गीय परिवारका भए पनि सानै उमेरमा आमाको निधन हुँदा उनको बाल्यकाल सोचेजस्तो सहज हुन सकेन । मातृत्वको माया नपाउँदा बाल्यकालको ठुलो हिस्सा दुःखमै बित्यो । त्यो समयमा विवाह गरे ।

सुरुमा गुरुकुल अन्तर्गत चण्डीपाठ, अमरकोष लगायतको संस्कृत शिक्षा लिएका गौतम २०१७ सालमा औपचारिक रूपमा घोराहीको पद्मोदय पब्लिक माध्यामिक विद्यालयमा कक्षा ४ मा भर्ना भए । अङ्ग्रेजी अध्ययनका लागि संस्कृत शिक्षा छाडेका उनले २०२४ सालमा एसएलसी उत्तीर्ण गरे । त्यो बेला कापीकलम समेत नहुँदा डेस्कको सोलीमा राखेको मसीले बाँसको कलम चोपेर लेख्दै पढेको उनी सम्झन्छन् । त्यसबेला पद्मोदयमा पढाउने अधिकांश शिक्षक भारतबाट आउने गर्थे, अङ्ग्रेजी पढाउने नेपाली शिक्षक भने माधवराज रेग्मी र टिकादत्त पन्त मात्र भएको उनी सुनाउँछन् ।

एसएलसीपछि पद्मोदय क्याम्पसमै आईए पढेका गौतमले परीक्षा भने नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा गएर दिएका थिए । हाल घोराही उपमहानगरपालिका–१५ मधुवन टोलमा बस्दै आएका मधुसुदन गौतम र पत्नी डिला गौतमका तीन छोरा र एक छोरी रहेका छन् । शिक्षण पेसाबाट अवकाश पाए पनि गौतम अझै सामाजिक रूपमा सक्रिय छन् । ज्येष्ठ नागरिक सरोकार केन्द्र तेरौटे, कर्मचारी निवृत्त समाज, नेपाल परिवार नियोजन संघ, राप्ती साहित्य परिषद्, लेखक संघ दाङ र राप्ती पातञ्जली योग समिति लगायतका विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा योगदान गर्दै आएका छन् ।

साहित्यमा पनि रुचि राख्ने गौतमले विभिन्न पत्रपत्रिकामा फुटकर कविता लेख्दै आएका छन् र आफ्नो एउटा कविता संग्रह प्रकाशन गर्ने सोचमा रहेको बताउँछन् । बुबाआमाको सम्झनामा शिक्षा, योग साधनासँगै सामाजिक क्षेत्रमा समेत विभिन्न कोष स्थापना गरेर सहयोग गर्दै आएका छन् ।

प्रस्तुति : लीलाधर वली