नारायणप्रसाद श्रेष्ठ
नेपाल को राजनैतिक परिदृश्य वर्तमानमा निकै तरङ्गिँदै अगाडि वढेको देखिन्छ । संविधान बनेको पनि १० वर्ष भइसक्यो । निर्वाचन भयो, पटक–पटक एकमना सरकार पनि बन्यो । अब त नेपाल राष्ट्रमा शान्ति र सुव्यवस्था कायम हुन्छ कि भन्यो, तर पनि नेता र नेतृत्वको गलत मानसिकताले राजनैतिक शक्तिबिच फाटो बढ्दै छ । उसले एकलौटी ग¥यो ?
अब यसलाई कसरी असफल बनाउने ? कुन कुरालार्ई उचाल्दा अशान्ति हुन्छ ? जनता कसरी भडकिन्छन् ? विपक्षी दल, नेताको ध्यान त्यतातिर केन्द्रिकृत भइरहेको छ । यो राष्ट्र हाम्रो हो, हामी सबै मिलेर बनाउनु पर्छ भन्ने मानसिकता नेतृत्वमा कमजोर देखियो । निर्वाचन पूर्व जनतालाई सर्वोच्च ठान्ने नेताहरु अहिले जनता त भेडा हुन् यिनलाई जता लग्यो उतै दौडन्छन् भनी आफूलाई प्रस्तुत गरिरहेका छन् । कहिले संस्कृत र संस्कारको नाममा, कहिले धार्मिक सम्प्रदायको नाममा, अराजनैतिक चरित्र प्रदर्शन भइरहेको देखिन्छ । कतिपयले आफ्नो आङ्गमा भैसी हिडेको नदेख्ने, अरुको आङ्गमा जुम्रा देख्ने चरित्र प्रदर्शन गरेको पनि देखिन्छ ।
कतिपयले मेरो गोरुको बाह्रै टक्का भनी चरित्र प्रदर्शन गरिरहेका छन् । बच्चा जन्मन नौ महिना लाग्छ, त्यसको रेखदेख गर्न त्यत्तिकै समय खर्चनु पर्छ भन्ने कुरा जान्दा जान्दै पनि प्रकृतिको नियम बदल्ने दुस्साहस पनि गरिँदैछ । आफूले गरेको कर्मलार्ई बिर्सने चरित्र पनि देखा परेको अवस्था छ । आफूले के गरे ? त्यस कुराको हेक्का नराखी, उसले यो किन ग¥यो ? यस्तो गर्नु जनअपेक्षा विपरित कार्य हो भन्ने राजनीतिक संस्कार पनि देखिँदै छ । आफूले के गरे त्यो कुराको प्रवाह नगरी केवल उसलार्ई उसको कर्मबाट कसरी बिमुख बनाउन सकिन्छ, त्यतातिर नेतृत्वको ध्यान गएको छ । आफूले गरेका सबै ठिक अरुले गरेका सबै बेठिक भनी नानाथरिका चरित्र अहिले राजनीतिक वृत्तमा देखा परेको छ ।
मैले जे गरेको छु त्यही हुनुपर्छ भनी जिद्दी गरिरहेको अवस्था पनि देखिन्छ । आफूलार्ई पर्दा जनता गुहार्ने अरुलार्ई पर्दा रमिते बन्ने अराजनीतिक चरित्र पनि देखिँदैछ । अर्कोतिर जनतालार्ई आफ्नो गोजीको रकम झिके जस्तै गरी सटही गरिरहेको जस्तो पनि देखिन्छ । राष्ट्रिय राजनीति देश र जनताको लागि गरिनु पर्ने सोच नेताहरुमा कमजोर भएको छ । राजनीतिलार्ई सही र निश्चित दिशा गति दिनुपर्ने कुराले प्रसय पाइरहेको छैन । राजनीति केवल सत्ता भत्ता र प्रापति तिर मात्र लक्षित हुने गरी, हुने नहुने संस्कार स्थापित गर्नेतर्फ नेताहरुको ध्यान केन्द्रिकृत भइरहेको छ ।
राजनीतिमा आफूलाई अब्बल दर्जाको हस्ती मान्ने हस्तीहरुको घमण्ड र अहंकारले पनि राजनीतिक धरातल पराइको गोटी चाल बन्दै गइरहेको छ । धर्म र संस्कृतिलार्ई मेटाई राज्यलार्ई अरुको कठपुतली बनाउने दुसाहस पनि गरिँदैछ । नेताहरु स्वयम् भ्रष्टाचारको दलदलमा फसिरहेका छन् तर पनि भन्दैछन् म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न । संवैधानिक निकायका प्रमुखहरु पार्टीका कार्यकर्ता झैँ बनिरहेका छन् ।
कहिलै पनि अरुको दास नबनेको नेपालको इतिहासमा दाग लाग्ने काम भइरहेको देखिन्छ । पर्ख र हेर को धैर्यता नराखी केवल सत्ता र शक्तिको होडबाजीमा राजनीतिलार्ई नैतिक धरातलदेखि बाहिर लागि भिडतन्त्रमा परिणत गरिँदैछ । पर्ख र हेर भनी गलत कार्यको भण्डाफोर गरी राजनीतिलार्ई प्रजातान्त्रिक संस्कारमा हुर्काउनु पर्नेमा, प्रजातन्त्रको सर्वोच्चतालार्ई समेत चुनौती दिएको अवस्था देखिन्छ । हो ! राजनीति सत्ता प्राप्तीको लागि गरिन्छ होला तर के सत्ता प्राप्ती नै सबै हो र ?
प्रत्येक व्यक्तिको विचार राम्रो नराम्रो दुवै हुन्छ । राम्रो विचारलार्ई राजनेताले अङ्गीकार गर्नुपर्छ । यो राजनीतिको धर्म र कर्म पनि हो । जनताको विचारलार्ई लत्याउनु भनेको राजनीतिक संस्कारवाट अलग रहनु हो । जनताको स्वच्छ र पवित्र विचारलार्ई कसरी संस्थागत गर्ने यो महत्वपूर्ण विषय हो । यो राजनीतिक नेताहरुको चिन्तनको विषय बन्नु पर्ने हो तर अहिले त्यसको खडेरी परेको छ । जनमुखी कार्यलार्ई कसरी कार्यान्वयन गर्न हो त्यो कुरा चटक्कै बिर्सी, प्रजातन्त्रको सर्वोच्चता माथि नै प्रश्न उठ्ने गरी आचरण प्रवाहित हुनु कहाँसम्मको उचित हुन्छ ?
विचारको भिन्नतामा मेल नखान सक्छ तर आफैले सुरुवात गरेको प्रजातान्त्रिक अभ्यासलार्ई आफैले भत्काउने परिस्थिति किन जन्माइँदैछ ? नेपालमा के राजनीतिमा धर्म र नैतिकता छैन ? नीतिबिनाको गति र नैतिकता बिनाको राजनीति के प्रजातन्त्रको मान्यता हो ? हटवादी चिन्तनतर्फ आफूलार्ई प्रस्तुत गर्नु कति उचित छ ? त्यसैले हिजो के भयो त्यसको सारखिची अहिले हामी सकारात्मक चिन्तनतर्फ अगाडि नबढ्ने हो भने यसले भविष्यमा ल्याउने परिणाम झन भयाभय हुन नसक्ला भन्न सकिन्न । के त्यसतर्फ नेतृत्वको ध्यान गएको छैन ?
मनुष्यभित्र अन्तर्निहित दिव्यताको बोध गराई सामाजिक, आर्थिक, सांस्कृतिक, तथा राजनीतिक परिवर्तनमा देखेको परिवर्तित सत्यलार्ई आत्मसात गरी यथार्थ परक राजनीति अहिलेको आवश्यकता र युगको माग हो । राष्ट्रिय विकासको पूर्वाधार निर्माणदेखि समृद्ध नेपालको सपना साकार गर्न दया र मायाले होइन व्यवहारवाट प्रमाणित गरिनु पर्दछ । तब मात्र आदर्श समाज समुन्नत राष्ट्र निर्माणमा सवैको एकैबद्धता हुन सक्छ । यो राजनीति धर्म पनि हो ।
तसर्थ राजनीतिक नेतृत्व तहले वातावरणमा शुद्धता ल्याई वर्तमानमा देखिएका विसंगति र कुतर्कलार्ई चिर्दै असल संस्कार र परम्परा, रीति, कायम गर्नु गराउनु पर्दछ । यो राजनीतिक नैतिकता पनि हो । यही तथ्यपक राजनीतिक संस्कार राष्ट्रिय विकासको मूल मन्त्र पनि हो । राष्ट्रले कुन दिशा उन्मुख गराउने प्रत्येक सचेत नागरिकको अभिमतलार्ई कसरी राष्ट्रिय चिन्तनको विषय बनाउने यो राजनीतिक नेतृत्वको गहन जिम्मेवारी हो ।
राष्ट्र र राष्ट्रियतालार्ई अक्षुन्न राख्दै प्रजातान्त्रिक संस्कारको विकासका साथै नेपालको ऐतिहासिक अभिलेखनलार्ई विश्वसामु चिनारी दिनु नेताहरुको अर्को जिम्मेवारी हो । स्वस्थ र आदर्श नेतृत्व कहलाउने राजनीतिक चिन्तन गरी विश्वसामु परिचित नेपालको शान्तिपूर्ण इतिहास कायम गराउनु राजनीतिक नेतृत्वको अर्को जिम्मेवारी पनि हो । अन्योल ग्रस्त राजनीतिक चरित्रलार्ई हटाई स्वच्छ र पवित्र विचार प्रवाह गराउने जनमतलार्ई सही दिशा निर्देशन गर्ने कर्म र व्यवहार गर्नुपर्ने नेतृत्वको जिम्मेवारी हो तर यस कुरालार्ई चटक्कै विर्सिइ ,अहिले नेपालको राजनीतिक आवरण कुन दिशातर्फ भड्किरहेको छ ? यो गम्भीर प्रश्न उठेको छ ।
सामन्ती सोच र एकाधिकारवादी चिन्तनले अहिले नेपालको राजनीतिक गती अहंमवादी सोच र चिन्तनतर्फ विचलित भइरहेको छ । सञ्चार क्षेत्रको प्रगतिले साँगुरिएको विश्व मानचित्रले क्षणक्षणको स्थिति सार्वजनिक भई विचारमा विभिन्नता देखा परेको अहिलेको विशेषता मानिन्छ । हो ! यसमा राम्रो नराम्रो दुवै पक्ष त्यत्तिकै सशक्त पनि हुन सक्लान्, तर राजनेता कहलाउने व्यक्तिले राष्ट्रिय प्रजातान्त्रिक चिन्तन गर्नु अहिलेको आवश्यकता होइन र ? तसर्थ हिजो आज र भोलिको भविष्यतर्फ अब सबै गम्भीर बन्नै पर्छ ।
देशले कुन किसिमको राजनीतिक संस्कारको विकास गर्न खोजेको छ, राष्ट्रिय स्वार्थ कहाँ लुकेको छ, यो विषयको खोजी गर्नु, दुरदर्शी नेताको दायित्व होइनर ? इमान्दारी र त्याग र समर्पणमा आधारित राजनीतिक शुद्धता अहिलेको आवश्यकता हो । यसलार्ई दिगो राखी आफूलार्ई प्रस्तुत गर्नु, सबै नेतृत्वदायी नेताको भूमिका पनि हुनुपर्छ । यसको साथै राष्ट्रिय चिन्तन, नैतिकतामा आधारित कर्मबाट प्रस्टिनु पनि जरुरी छ ।
नेपालको ऐतिहासिक पृष्ठभूमिलार्ई हेर्ने हो भने ६२÷६३ को जनआन्दोलनपछि नेपालमा गणतन्त्र प्रजातान्त्रिक अभ्यासमा धेरै राम्रा अभ्यास पनि भएका हुन् । केही राम्रा र केही नराम्रा काम पनि भए गरेका हुन् । राजनीतिक शक्तिमा रहेका शासकहरु एकपछि अर्को असफल भएको अवस्था पनि हो । शक्तिशाली पार्टी छिन्न भिन्न भई एक अर्का मा समाहित भएको अवस्था पनि हो । यति मात्र होइन, जसले जस्तो कर्म गर्छ त्यसले त्यस्तै फल प्राप्त गरेको इतिहास पनि देखिएकै हो ।
भर्खरै सम्पन्न भएको आम निर्वाचनले पनि त्यस्तै किसिमको परिणाम दिएको छ । तसर्थ यस कुराको हेक्का राखी राजनीतिक विषयको व्यापकतालाई बुझी नैतिक आचरणमा देखा पर्ने कार्य अहिलेको आवश्यकता मानिन्छ । नैतिकता विनाको राजनीतिक केवल भिडतन्त्र मात्र हो । हामी यति कुरा भन्छौँ राजनीतिमा नैतिकताको खडेरी नपरोस् । सबैमा सद्बुद्धि विस्तार होस् । चेतना भया ।