डायवेटिक रेटिनोप्याथीको उपचार सम्भव छ : डा. केसी [अन्तर्वार्ता]

अन्धोपनको मुख्य कारण मोतियाविन्दु हो । त्यसका साथै जलविन्दु, मधुमेह, उच्च रक्तचापदेखि अन्य कारणले पनि मानिसको आँखामा असर गर्ने गर्छ । मधुमेहले शरीरका अन्य महत्वपूर्ण अङ्ग जस्तै मृगौला, मुटु, स्नायू र आँखामा मुख्य असर गर्छ । मधुमेहले आँखाको खास गरी दृष्टिपर्दाको रक्त नलीमा असर गर्ने गर्दछ । आँखाको रेटिनामा देखिने असरलाई डायवेटिक रेटिनोप्याथी भनिन्छ । डायवेटिक रेटिनोप्याथी हुँदा रक्त नसाहरुमा असर गरी पर्दामा रक्तश्राव हुने, सुन्निने र समयमै उपचार नभए आँखाभित्र धेरै रगत जम्मा भई पर्दा खुम्चिने अवस्था आउने गर्दछ । आँखाको पर्दा देख्नका लागि अत्यन्तै संवेदनशील अङ्ग हो । पर्दामा धेरै असर परिसकेपछि दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहका कारण आँखामा हुने असर (डायवेटिक रेटिनोप्याथी) र दृष्टि जोगाउने उपायलगायत आँखा स्वास्थ्यको विषयमा राप्ती आँखा अस्पतालमा कार्यरत नेत्रविशेषज्ञ डा. विनिता केसीसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।
 यहाँलाई सातावार्तामा स्वागत छ ?

 धन्यवाद, यहाँ अनि यहाँको मिडियालाई मेरा कुराहरू राख्न दिएकोमा ।

 राप्ती आँखा अस्पतालमा दैनिक कस्तो र कति बिरामीहरू आउनु हुन्छ ?

 राप्ती आँखा अस्पतालमा सरदर दैनिक दुई ढाई सयजना बिरामीहरू आउनु हुन्छ । त्यसमा सबै प्रकारका समस्याहरू लिएर बिरामीहरू आउनुहुन्छ ।

 दृष्टिविहीनताको मुख्य कारणहरू
के के हुन् ?

 दृष्टिविहीनताको प्रमुख कारण मोतियाविन्दु नै हो । त्यसका साथै जलविन्दु, मधुमेह, उच्च रक्तचाप, आँखामा चोटपटक, सङ्क्रमण तथा उमेरसँग सम्बन्धित अन्य रोगहरूले पनि दृष्टिमा गम्भीर असर पार्न सक्छन् । यदि तपाई हामीले कुनै समस्या आउनासाथ सकेसम्म आउनै नदिन नियमित आँखा परीक्षण गर्ने, ४० वर्ष पार गरेपछि समयमै आँखाको परीक्षण र उपचार गरेमा धेरै अवस्थामा दृष्टि जोगाउन सकिन्छ ।

 मधुमेह भनेको के हो ?

 मधुमेहलाई समान्य भाषमा सुगर भनेर पनि बुझ्ने गरिन्छ । रगतमा चिनी (ग्लुकोज) को मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ । यो दीर्घकालीन रोग हो, जसले शरीरका विभिन्न अङ्गहरूमा विस्तारै असर पु¥याउँछ । यसले आँखामा पनि असर पु¥याउन सक्ने भएकाले समयमै आँखा चेकजाँच गरी यसको असरबाट बच्न सकिन्छ ।

 मधुमेहले आँखामा कसरी असर गर्छ ?

 हो हजुरले राम्रो प्रश्न गर्नुभयो मधुमेह अर्थात् सुगरले आँखाको दृष्टिपर्दा (रेटिना) मा रहेका साना रक्तनलीहरूलाई क्षति पु¥याउँछ । यसका कारण रेटिनामा रक्तश्राव हुने, सुन्निने तथा नयाँ कमजोर रक्तनलीहरू बन्ने समस्या देखिन सक्छ । यस अवस्थालाई डायवेटिक रेटिनोप्याथी भनिन्छ । सुगरको बिरामीहरूले आँखा धमिलो देखेमा नजिकको आँखा अस्पतालमा तत्काल देखाउनु पर्ने हुन्छ । के कारणले यस्तो भयो भन्ने बेलैमा थाहा हुनसक्छ ।
 डायवेटिक रेटिनोप्याथी भनेको
के हो ?

 मधुमेहका कारण आँखाको रेटिनामा हुने क्षतिलाई डायवेटिक रेटिनोप्याथी भनिन्छ । समयमै उपचार नगरिएमा आँखाभित्र धेरै रगत जम्ने, रेटिना खुम्चिने (रेटिनल डिटाचमेन्ट) र अन्ततः दृष्टि गुम्न सक्ने अवस्था आउन सक्छ ।

 डायवेटिक रेटिनोप्याथीका सुरुवाती लक्षणहरू के के हुन् ?

 केहीलाई सुरुवाती चरणमा कुनै लक्षण नदेखिन पनि सक्छ । रोग बढ्दै जाँदा धमिलो देखिने, दृष्टि घट्ने, आँखा अगाडि कालो धब्बा वा झिँगा उडे जस्तो देखिने, राति कम देखिने तथा अचानक दृष्टि कम हुने समस्या देखिन सक्छ । यस्तो देखिएमा समयमै विशेषज्ञलाई देखाउनु पर्ने हुन्छ ।

 मधुमेह भएका सबै व्यक्तिले आँखाको परीक्षण गर्नुपर्छ ?

 पहिलो कुरा त मधुमेह मात्र होइन साधारण व्यक्तिले पनि आँखाको सुरक्षा आँखा स्वास्थ्यका लागि सकेसम्म वर्षको एक पटक आँखा चेकजाँच गर्नु राम्रो हो । मधुमेह भएका प्रत्येक व्यक्तिले वर्षमा कम्तीमा एक पटक आँखाको विस्तृत परीक्षण गराउनुपर्छ, चाहे आँखामा कुनै समस्या महसुस भएको होस् वा नहोस् । टाईप १ प्रकारको मधुमेहका बिरामीले रोग पत्ता लागेको ५ वर्षमा पहिलो पटक र त्यसपछि बर्सेनि आँखा जाँच गराउनुपर्छ । सुगर भएको महिलालाई गर्भ रहन गएमा गर्भ बसेको थाहा हुने वित्तिकै आँखा जाँच गनुपर्छ र त्यसपछि आवश्यकता अनुसार महिनामा वा ३÷३ महिनामा जाँच गर्नुपर्ने हुन्छ ।

 डायवेटिक रेटिनोप्याथीको उपचार सम्भव छ ?

 पक्कै पनि यसको उपचार सम्भव छ । पहिलो उपचार मधुमेहको नियन्त्रण नै हो । रोगको अवस्था अनुसार लेजर उपचार, आँखाभित्र औषधीको सुई (इन्जेक्सन) वा शल्यक्रिया गर्नु पर्ने पनि हुन सक्छ तर सबैभन्दा महत्वपूर्ण कुरा समयमै रोग पत्ता लगाउनु हो । धेरै ढिला थाहा भएमा उपचारले पनि राम्रो निष्कर्ष नदिन सक्छ ।

 मधुमेहका बिरामीले दृष्टि जोगाउन के के कुरामा ध्यान दिनुपर्छ ?

 रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्ने, चिकित्सकको सल्लाह अनुसार औषधी नियमित सेवन गर्ने, स्वस्थ खानपान अपनाउने, नियमित व्यायाम गर्ने र वर्षमा कम्तीमा एक पटक आँखाको परीक्षण गराउने बानी बसाल्नुपर्छ ।

 अन्त्यमा, आम नागरिकलाई तपाईंको सन्देश के छ ?

 मधुमेहले आँखामा असर गरिरहेको छ कि छैन भन्ने कुरा सुरुवाती अवस्थामा थाहा नहुन सक्छ । त्यसैले मधुमेह भएका सबैले नियमित रूपमा आँखाको परीक्षण गराउनुपर्छ । स्वस्थ जीवनशैली अपनाऔँ, रगतमा चिनी र रक्तचाप नियन्त्रणमा राखौँ र समयमै उपचार गराएर आफ्नो अमूल्य दृष्टि जोगाऔँ भन्न चाहन्छु । उपचार ढिलो हुँदा रेटिनामा स्थायी क्षति पुग्न सक्छ । धेरै रक्तश्राव हुने, रेटिना खुम्चिने तथा दृष्टि स्थायी रूपमा गुम्ने जोखिम बढ्छ । त्यसैले समयमै परीक्षण र उपचार अत्यन्त आवश्यक छ । आँखा जस्तो संवेदनशील अङ्गको सुरक्षा र आँखालाई सबैले माया गरौँ भन्न चाहन्छु ।