राप्ती विश्वासी सहकारीको वार्षिक समीक्षा

तुलसीपुर, १७ साउन। राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (रफिकोल), तुलसीपुर–दाङको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। समीक्षा कार्यक्रम पुरन्धारा सेवा केन्द्र, बबई हंसपुर तथा तुलसीपुरमा आयोजना गरिएको हो।

सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतम प्रमुख अतिथि रहेका थिए। त्यसैगरी बबई गाउँपालिकाका कार्यपालिका सदस्य नोखी डाँगी तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड दाङका लेखा सुपरिवेक्षण समितिका सदस्य गोकर्णप्रसाद आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा संस्थाका सचिव प्रल्हाद शाह र कोषाध्यक्ष कुमार बसन्त आचार्यले आर्थिक वर्ष २०८२÷०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रम, बजेट तथा वित्तीय सूचकका लक्ष्यअनुसार भएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा शेयर पुँजी ८.५५ प्रतिशतले वृद्धि भई ३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै बचत निक्षेप ९.७९ प्रतिशतले बढेर २७ करोड ८६ लाख रुपैयाँ, ऋण लगानी १०.४० प्रतिशतले वृद्धि भई २६ करोड ८१ लाख रुपैयाँ तथा कुल वासलात ७।४६ प्रतिशतले बढेर ३८ करोड २७ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। कार्यक्रममा अध्यक्ष बुढाथोकीले गत आर्थिक वर्षका लक्ष्यअनुसार संस्थाले सकारात्मक प्रगति हासिल गरेको उल्लेख गर्दै लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति, कर्मचारी तथा सम्पूर्ण शेयर सदस्यप्रति आभार व्यक्त गरे।

उनले शेयर सदस्यबाट प्राप्त सुझाव तथा पृष्ठपोषणले आगामी वर्ष संस्थाका कार्यक्रमलाई अझ प्रभावकारी र परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा संस्थाका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको रफिकोलका सदस्य ध्रुव गौतमले जानकारी दिए।