दाङ, १७ साउन । तुलसीपुर उपमहानगरपालिका–७, झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा ११ का विद्यार्थीलाई आइतबार स्वागत तथा अभिमुखीकरण गरिएको छ ।
घोराहीस्थित भिंग्रेली भिलेजमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थी जितेश चौधरीको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यता एवं हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको विशिष्ठ आतिथ्यतामा कार्यक्रममा बोल्ने बक्ताले विद्यालयलाई शिक्षा आर्जनसँगै व्यत्तित्व विकास गर्ने थलोका रुपमा विकास गर्न लगनशिल भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले दक्ष जनशक्ति उत्पादनमा हाम्रो पहुँच सेकेन्डरी स्कुलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय र राज्यको संयुक्त प्रयासबाट मात्रै गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै शैक्षिक गन्तव्यका रूपमा हाम्रो पहुँच छनोट गर्नु विद्यार्थीको सही निर्णय भएको बताएका थिए ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारी क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएको उल्लेख गर्दै विद्यालयमा सहकारी विषय अध्यापन गराउने योजना रहेको जानकारी दिएका थिए । कार्यक्रमका विशिष्ट अतिथि भण्डारीले विद्यार्थीलाई सहकारीको विषय पनि अध्ययन गर्न पाउने गरी विद्यालयले आवश्यक तयारी गरिरहेको बताएका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन विद्यालयको प्रमुख लक्ष्य रहेको बताउँदै व्यवस्थापन क्षेत्रका अवसर र सम्भावनाबारे जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यार्थीको रुचि र आवश्यकताअनुसार गुणस्तरीय अध्यापनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको बताए । प्रधानाध्यापक पनुले विद्यार्थीलाई मेहनती, अनुशासित र जिम्मेवार बनेर अध्ययनमा लाग्न सके सफलता प्राप्त गर्ने बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण पोखरेल, लेखा सुपरिवेक्षण समितिका संयोजक शरद शर्मा, शिक्षकहरू चमन धिताल, अर्जुन बस्नेत, लक्ष्मी घिमिरे र कमल पन्थी तथा कक्षा ११ का विद्यार्थी दामोदर आचार्यले हाम्रो पहुँच सेकेन्डरी स्कुल उत्कृष्ट शैक्षिक गन्तव्य भएको बताएका थिए । साथै उनीहरुले विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै विद्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको भन्दै आगामी दिनमा उच्च शिक्षा अध्ययनका लागि समेत व्यवस्था गर्ने गरि विद्यालयलाई अघि बढ्न आग्रह गरेका थिए । कक्षा १२ की विद्यार्थी अनिता परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मान्सी भण्डारी र सुस्मिता चौधरीले गरेका थिए ।