साहित्यिक यात्रा : समाज रूपान्तरणप्रतिको निरन्तर प्रतिबद्धता

सबिन प्रियासन चौधरी

मानिसको जीवनमा केही यात्राहरू यस्ता हुन्छन्, जसले केवल व्यक्तिगत उन्नतिलाई मात्र होइन, समाजलाई पनि सकारात्मक दिशातर्फ डोर्याउने काम गर्छन् । मेरो जीवनको साहित्यिक, सामाजिक र पत्रकारिताको यात्रा पनि त्यस्तै एउटा निरन्तर सङ्घर्ष, सिर्जना र सेवाको यात्रा हो । आज म जुन स्थानमा उभिएको छु, त्यसको जग मिलनचोक युवा क्लबले निर्माण गरिदियो भने त्यसलाई अझ बलियो बनाउने काम राप्ती साहित्य परिषद्ले ग¥यो । यी दुई संस्थाले मेरो व्यक्तित्व निर्माणमा अतुलनीय योगदान दिएका छन् ।

मेरो सामाजिक यात्राको प्रारम्भ मिलनचोक युवा क्लबबाट भएको हो । युवावस्थामा साथीसँग मिलेर खेलकुद तथा सामाजिक गतिविधि सञ्चालन गर्ने क्रममा समाजसँग अझ नजिक हुने अवसर प्राप्त भयो । फुटबल, क्रिकेट, भलिबल लगायतका खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै सामाजिक चेतनामूलक कार्यक्रम, सरसफाइ अभियान, सांस्कृतिक कार्यक्रम तथा युवाहरूलाई सकारात्मक बाटोमा डोर्याउने अभियानमा हामी निरन्तर लागिरह्यौं । त्यही क्लबले नेतृत्व, अनुशासन, समूहमा काम गर्ने संस्कार र समाजप्रतिको उत्तरदायित्व सिकायो ।

सामाजिक गतिविधिसँगै साहित्यप्रति मेरो गहिरो आकर्षण थियो । विद्यालय पढ्दादेखि नै लघुकथा, कविता, गीत र विभिन्न साहित्यिक रचना आफ्नो डायरीमा लेख्ने बानी थियो । सिर्जना मेरो लागि केवल मनोरञ्जनको माध्यम थिएन, समाजका पीडा, असमानता, विकृति र परिवर्तनको चाहनालाई शब्दमा उतार्ने माध्यम थियो । त्यसबेला बेला–बेला मेरा साहित्यिक सामग्री युगबोध दैनिक र गाउँघर जस्ता पत्रपत्रिकामा प्रकाशित हुन्थे । आफ्ना सिर्जना पाठकमाझ पुग्न थालेपछि साहित्यप्रतिको विश्वास र उत्साह झन् बढ्दै गयो ।

यसै क्रममा वि.सं. २०६० साल मेरो जीवनको एउटा ऐतिहासिक वर्ष बन्यो । यही वर्ष म राप्ती साहित्य परिषद्को केन्द्रीय सदस्यमा निर्वाचित भएँ । त्यही वर्ष मेरो पहिलो साहित्यिक कृति “रोदनपछि“ उपन्यास पनि प्रकाशित भयो । एउटै दिन पहिलो उपन्यास सार्वजनिक हुनु र राप्ती साहित्य परिषद्को केन्द्रीय सदस्यमा निर्वाचित हुनु मेरो साहित्यिक जीवनका अविस्मरणीय क्षणहरू हुन् । यसले मेरो सिर्जनात्मक यात्रालाई नयाँ ऊर्जा र स्पष्ट दिशा दियो ।

त्यतिबेला राप्ती साहित्य परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाल हुनुहुन्थ्यो । उहाँसँग पहिलेदेखिको पारिवारिक चिनजान थियो । उहाँको प्रेरणा, मार्गदर्शन र स्नेहले मलाई साहित्यिक क्षेत्रमा अझ जिम्मेवार र सक्रिय बन्न प्रेरित गर्यो । म स्वयं पनि समाजका लागि केही योगदान गर्नुपर्छ भन्ने दृढ सोच बोकेर हिँडेको व्यक्ति भएकाले परिषद्को जिम्मेवारीलाई अत्यन्त गम्भीरतापूर्वक निर्वाह गरेँ ।

राप्ती साहित्य परिषद्को केन्द्रीय सदस्यका रूपमा काम गर्दा साहित्यलाई केवल पुस्तकभित्र सीमित राखिएन । साहित्यलाई समाजसँग जोड्ने प्रयास गरियो । विशेषगरी २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा परिषद्ले सडकमा उत्रिएर लोकतन्त्र, परिवर्तन, नागरिक अधिकार र सामाजिक जागरणका पक्षमा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्यो । कविता वाचन, गीत, सांस्कृतिक प्रस्तुति, साहित्यिक बहस तथा जनचेतनामूलक कार्यक्रममार्फत परिवर्तनको पक्षमा साहित्यलाई प्रभावकारी माध्यम बनाइयो । त्यो समय साहित्य समाज परिवर्तनको एउटा शक्तिशाली हतियार बनेको थियो ।

साहित्यिक यात्रासँगै वि.सं. २०६१ सालदेखि मैले औपचारिक रूपमा पत्रकारिताको यात्रा पनि प्रारम्भ गरेँ । पत्रकारिता मेरो लागि केवल समाचार लेख्ने पेशा थिएन, समाजको आवाज बोल्ने, अन्यायविरुद्ध कलम चलाउने र सत्यलाई उजागर गर्ने दायित्व थियो । साहित्यले संवेदनशीलता सिकायो भने पत्रकारिताले यथार्थसँग प्रत्यक्ष साक्षात्कार गरायो । यी दुवै विधाले एकअर्कालाई बलियो बनाउँदै लगे ।

पत्रकारितामा प्रवेश गरेपछि मेरो सक्रियता अझ बढ्यो । सामाजिक मुद्दा, विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, कृषि, वातावरण र नागरिकका समस्यालाई निरन्तर समाचार तथा लेखमार्फत उजागर गर्दै आएँ । पत्रकारिताले समाजका प्रत्येक तहसँग नजिक हुने अवसर दियो भने साहित्यले ती अनुभवलाई गहिराइका साथ अभिव्यक्त गर्ने क्षमता दियो ।

राप्ती साहित्य परिषद्मा निरन्तर सक्रिय रहँदा संगठनले पनि मेरो योगदानको मूल्यांकन गर्यो । पछि सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम खनाल निर्वाचित हुनुभयो भने मलाई महासचिवको जिम्मेवारी प्रदान गरियो । महासचिवको रूपमा परिषद्लाई अझ गतिशील बनाउने, साहित्यिक कार्यक्रमहरू विस्तार गर्ने, नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने तथा स्रष्टालाई सम्मान गर्ने अभियानमा सक्रिय रूपमा काम गर्ने अवसर प्राप्त भयो ।

आज पछाडि फर्केर हेर्दा लाग्छ, मेरो व्यत्तित्व निर्माणमा सबैभन्दा ठूलो योगदान दुई संस्थाको छ । पहिलो, मिलनचोक युवा क्लब, जसले सामाजिक नेतृत्व र सेवाभाव सिकायो । दोस्रो, राप्ती साहित्य परिषद्, जसले साहित्यिक पहिचान, सिर्जनात्मक उचाइ र राष्ट्रिय स्तरमा चिनिने अवसर प्रदान गर्यो । यी संस्थाहरू नभएको भए आजको मेरो यात्रा सम्भव नहुन पनि सक्थ्यो । साहित्यिक सिर्जनाको कुरा गर्दा मैले उपन्यासलाई आफ्नो प्रमुख विधाका रूपमा रोजेँ । समयक्रममा एकपछि अर्को उपन्यास प्रकाशित गर्दै जाँदा नेपालमै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्ने स्रष्टाका रूपमा परिचित हुने अवसर प्राप्त भयो । उपन्याससँगै कथा, कविता, गीत, निबन्ध, लेख तथा अन्य विधामा पनि निरन्तर कलम चलाइरहेँ । सिर्जनाको विविधताले साहित्यलाई अझ फराकिलो बनायो ।

मेरो प्रत्येक साहित्यिक कृतिको उद्देश्य केवल मनोरञ्जन दिनु होइन, समाज रूपान्तरणमा योगदान पुर्याउनु हो । सामाजिक विकृति, विसंगति, अन्याय, विभेद, भ्रष्टाचार, मानवीय संवेदना, राष्ट्रियता, प्रेम, संघर्ष, शिक्षा, चेतना र सकारात्मक परिवर्तनलाई आफ्ना कृतिको मूल विषय बनाउने प्रयास गरेको छु । पाठकले पुस्तक पढिसकेपछि केही सोचून्, केही सिकून् र सकारात्मक परिवर्तनका लागि प्रेरित होऊन् भन्ने मेरो सधैंको चाहना रहँदै आएको छ ।

साहित्यमा मेरो अर्को विशेषता भनेको पुरस्कार प्राप्त गर्ने उद्देश्यले सिर्जना नगर्नु हो । आजसम्म कुनै पुरस्कार प्राप्त गर्ने लक्ष्य राखेर मैले कुनै पनि प्रतियोगितामा आवेदन दिएको छैन । सिर्जना मेरो आत्मसन्तुष्टि, समाजप्रतिको उत्तरदायित्व र परिवर्तनप्रतिको प्रतिबद्धता हो । तर पुरस्कारको पछि नलाग्दा पनि समाज र विभिन्न संस्थाहरूले मेरो योगदानको मूल्यांकन गर्दै धेरै सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । ती सम्मानहरू मेरा लागि थप जिम्मेवारीका प्रतीक हुन् ।

साहित्यसँगै पत्रकारितामार्फत पुर्याएको योगदानको कदरस्वरूप वि.सं. २०७७ सालमा नेपाल सरकारबाट राष्ट्रपतिमार्फत विभूषित हुने ऐतिहासिक अवसर प्राप्त भयो । दाङ जिल्लाबाट साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिका रूपमा यस्तो राष्ट्रिय सम्मान प्राप्त गर्नु मेरो व्यक्तिगत गौरव मात्र नभई समग्र दाङवासी, साहित्यकार, पत्रकार र शुभेच्छुकहरूको सम्मान पनि हो । त्यो सम्मानले अझ जिम्मेवार भएर समाजप्रति योगदान गर्न प्रेरणा दिएको छ ।

साहित्य र पत्रकारिता दुवै क्षेत्रले मलाई जनताको भावना बुझ्न सिकाएका छन् । समाजका दुःख, पीडा, सङ्घर्षर आशालाई नजिकबाट अनुभव गर्ने अवसर दिएका छन् । यही अनुभवलाई शब्दमा उतार्दै समाजलाई सकारात्मक दिशातर्फ लैजान सक्ने सिर्जना गर्नु नै मेरो जीवनको मुख्य उद्देश्य बनेको छ । जीवनको यात्रा अझै समाप्त भएको छैन । सिक्ने, लेख्ने, बोल्ने र समाजका लागि केही गर्ने चाहना अझै उस्तै छ । नयाँ पुस्तालाई साहित्य, पत्रकारिता, सामाजिक सेवा र सकारात्मक नेतृत्वतर्फ प्रेरित गर्ने जिम्मेवारी पनि आफूले महसुस गरेको छु । कलमलाई समाज परिवर्तनको माध्यम बनाउँदै सत्य, न्याय, समानता, मानवता र लोकतान्त्रिक मूल्यहरूको पक्षमा निरन्तर लेखिरहने प्रतिबद्धता मेरो जीवनभर कायम रहनेछ ।

अन्ततः, मेरो यात्रा कुनै एक व्यक्तिको सफलता मात्र होइन; परिवारको साथ, साथीको विश्वास, मिलनचोक युवा क्लबको प्रेरणा, राप्ती साहित्य परिषद्को अवसर, पत्रकारिताको अनुभव र समाजको माया–विश्वासले निर्माण गरेको साझा यात्रा हो । यही विश्वासलाई आत्मसात गर्दै आगामी दिनमा पनि साहित्य र पत्रकारितामार्फत् समाज रूपान्तरण, नागरिक चेतना, राष्ट्रिय एकता र मानवीय मूल्यहरूको संरक्षणमा निरन्तर योगदान पुर्याउने मेरो दृढ संकल्प रहनेछ ।