आधुनिक कृषि उपकरण पाएपछि लमहीका किसान उत्साहित

प्रिया स्मृती गजमेर

देउखुरी, १४ साउन । शून्य लगानीमै आधुनिक कृषि उपकरण पाएपछि दाङको लमही नगरपालिका क्षेत्रका किसानहरू निकै उत्साहित भएका छन । वर्षौंदेखि परम्परागत तरिकाले खेती गर्दै आएका किसानहरूले अब आधुनिक कृषि औजारको प्रयोगबाट श्रम, समय र लागत बचत हुने तथा उत्पादनसमेत वृद्धि हुने आशा गरेका छन । कसैले धान कुटाउने मेसिन पाएका छन भने कसैले गहुँ पिसाउने मेसिन, कसैले मकै छोराउने मेसिन र कसैले मकै रोप्ने मेसिन प्राप्त गरेका छन । निःशुल्क उपलब्ध गराइएका यी कृषि उपकरणले विशेषगरी मध्यमस्तरका कृषकहरूको दैनिक कृषि कार्यलाई सहज बनाउने छ ।

लमही नगरपालिका ९ धवारीका स्थानीय टोपेन्द्र पुन मगरले आफूहरूका लागि गहुँ पिसाउने मेसिन निकै उपयोगी भएको बताए । उनका अनुसार यसअघि गहुँ पिसाउन करिब १५ किलोमिटर टाढासम्म जानुपर्ने बाध्यता थियो । त्यसका लागि समय र यातायात खर्च दुवै लाग्ने गरेको थियो । अब आफ्नै गाउँमा मेसिन उपलब्ध भएपछि त्यो समस्या अन्त्य हुने उनको भनाइ छ । यसैगरी मकैको दाना हातैले छुट्याउँदा घण्टौं समय लाग्ने गरेको भए पनि अब मकै छोराउने मेसिनको प्रयोगबाट छोटो समयमा धेरै काम गर्न सकिने भएपछि किसानहरू थप हर्षित भएका छन । आधुनिक उपकरणको प्रयोगले श्रमको अभावलाई समेत केही हदसम्म समाधान गर्ने छ । युएन ह्याबिटाट तथा गुड नेभर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) ले भूमि कृषि कार्यक्रम अन्तर्गत किसानहरूलाई कृषि उपकरण वितरण गरेको हो ।

सिएसआरसीले लमही नगरपालिकाका विभिन्न वडामा गठन गरिएका किसान समूहमार्फत कृषि उपकरण वितरण गरेको जनाएको छ । लमही–८ खोलीगाउँ भूमि अधिकार कृषक समूह , बाघखोली भूमि अधिकार कृषक समूह, लमही–७ को हरियाली भूमि अधिकार मञ्च कप्तानगञ्ज, लमही–९को धवारी भूमि अधिकार कृषक समूह, लमही–७कोहसनापुर भूमि अधिकार कृषक समूह, लमही–६ को घोडेबास भूमि अधिकार कृषक समूह तथा लमही–९ का पैते र लौरीरिहारका कृषकहरूलाई धान कुटाउने मेसिन, गहुँ पिसाउने मेसिन, मकै छोराउने मेसिन र मकै रोप्ने मेसिन वितरण गरिएको सिएसआरसीका जलवायु मैत्री कृषि संयोजक निलम त्रिपाठीले जानकारी दिएका छ्नन् ।

उनका अनुसार किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादन लागत घटाउने, उत्पादन वृद्धि गर्ने र कृषि पेसालाई थप व्यवसायिक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले कृषि क्षेत्रको विकास बिना समृद्धि सम्भव नभएको बताउँदै आधुनिक कृषि प्रविधिको प्रयोग अहिलेको आवश्यकता भएको बताइन् । अहिले युवाहरू रोजगारीका लागि विदेश जान बाध्य भइरहेका छन । उनले वितरण गरिएका उपकरणको नियमित मर्मत सम्भार गर्दै सबै किसानले समान रूपमा प्रयोग गर्नुपर्नेमा समेत जोड दिएको थिजन। कार्यक्रममा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (ीसएसआरसी) का कार्यक्रम संयोजक रेवन्त चौधरी, किसान समूहका प्रतिनिधि, तथा कृषकको सहभागिता रहेको थियो ।