खेमराज रिजाल
तुलसीपुर, १५ साउन । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौरमा अत्याधुनिक शल्यक्रियाका लागि भवन थपिएको छ । अस्पताल व्यवस्थापनले त्यस भवनलाई शल्यक्रिया भवनका रूपमा प्रयोग गर्ने बताएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको भारतीय राजदुतावास, काठमाडौंका काउन्सिलर, सुश्री गीताञ्जली ब्रैंडन र तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख, टीकाराम खड्काले बिहिबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा चार करोड २४ लाख ३८ हजार रुपैयाँमा ठेक्का सम्झौता र अस्पतालको तर्फबाट थप आन्तरिक एक करोड रुपैयाँको लागतमा शल्यक्रिया भवन निर्माण सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालिकामार्फत् भारतीय राजदुतावासको आर्थिक सहयोगमा सिएनएस, आरएस, भक्टोरिया जेभी बुद्धनगर काठमाडौँले २०८३ वैशाखमा भवन निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको थियो । दुई तलाको भवनमा २० वटा कोठा छन् । शल्यक्रियाका लागि नयाँ भवन निर्माणसँगै आँखा स्वास्थ्य सेवामा थप सहजता हुने अस्पताल व्यवस्थापनले जनाएको छ । उद्घाटन कार्यक्रम नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको थियो ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति शाखाका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछाने, लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य शङ्कर गिरी, नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्द, भारतीय राजदूतावास, काठमाडौंका काउन्सिलर, सुश्री गीताञ्जली ब्रैंडन, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, नेपाल नेत्रजयोति संघ दाङका सभापति सभाध्यक्ष कृष्णकुमार गिरीलगायतले नेपाल भारत विकास साझेदारी कार्यक्रमले दुई देशबिच आपसी सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
सो अवसरमा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख शम्शेर थापाले भवन निर्माणसँगै आँखा स्वास्थ्यको विकास विस्तार र हालसम्म दिएको सेवाको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकलार्ई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका सूचना अधिकारी बालाराम खड्का तथा नेपाल नेत्रज्योति संघ दाङका सहसचिव प्रणवकुमार खड्काले गरेका थिए ।