दाङमा उद्योग व्यवसायमा डेढ अर्ब बढी लगानी

अमरराज आचार्य
दाङ, १४ साउन । दाङमा आर्थिक वर्ष २०८२÷०८३ मा घरेलु तथा उद्योग एवम् व्यवसाय क्षेत्रमा करिब डेढ अर्ब रुपैयाँ लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार गत आर्थिक वर्षमा उद्योग तथा व्यावसायिक फर्ममार्फत् स्थिर तथा चालु पुँजी गरी एक अर्ब ४३ करोड ८५ लाख ८१ हजार आठ सय रुपैयाँ बराबरको लगानी भएको हो ।

लगानीसँगै उद्योग व्यवसाय दर्ता, रोजगारी सिर्जना तथा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति देखिएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा एक हजार ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएकामध्ये उद्योगतर्फ चार सय ५२ र वाणिज्यतर्फ छ सय २८ फर्म रहेका छन् । सोही अवधिमा सात सय २९ वटा उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन् । बन्द हुनेमध्ये उद्योगतर्फ तीन सय २४ र वाणिज्यतर्फ चार सय पाँच फर्म छन् ।

कार्यालयका अनुसार बन्द भएका फर्मको तथ्याङ्क कार्यालयमा औपचारिक रूपमा दर्ता खारेज गराएका उद्योग तथा वाणिज्यको मात्र हो । सञ्चालनमा नरहे पनि कार्यालयमा पुगेर दर्ता खारेज नगर्ने व्यवसायको सङ्ख्या उल्लेख्य रहेकाले वास्तविक रूपमा बन्द भएका उद्योग, व्यवसायको सङ्ख्या अझ बढी हुन सक्ने निजी क्षेत्रका प्रतिनिधिहरूको भनाइ छ । तथ्याङ्कले उद्योग, व्यवसाय खुल्ने र बन्द हुने क्रम लगभग समान रहेको देखाएको छ । जसले व्यावसायिक वातावरणमा प्रतिस्पर्धा र चुनौती दुवै रहेको सङ्केत गर्दछ ।

गत आर्थिक वर्षमा तीन सय ७६ उद्योग र छ सय २१ वाणिज्य फर्ममा विभिन्न प्रकारका संशोधन गरिएको छ । यसैगरी दुई हजार दुई सय ५८ उद्योग तथा व्यवसाय नवीकरण भएका छन् । नवीकरण हुनेमध्ये उद्योगतर्फ नौ सय ५९ र वाणिज्यतर्फ एक हजार दुई सय ९९ फर्म छन् । यसले सञ्चालनमा रहेका उद्योग तथा व्यवसायले आफ्नो कानुनी प्रक्रिया नियमित रूपमा पूरा गरिरहेको देखाउँछ । लगानी विस्तारसँगै रोजगारी सिर्जनामा पनि सकारात्मक प्रभाव परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । उद्योग क्षेत्रमा दुई सय ३९ महिला र दुई सय ४६ पुरुष गरी चार सय ८५ उद्यमी थपिएका छन् ।

यसै अवधिमा उद्योग तथा व्यवसायमार्फत् एक हजार नौ सय २५ जनाले रोजगारी पाएका छन् । रोजगारी पाउनेमध्ये सात सय ७४ महिला र एक हजार एक सय ५१ पुरुष रहेका छन् । कार्यालयका अनुसार उद्योग क्षेत्रको तुलनामा व्यापार तथा सेवा क्षेत्रमा लगानी र रोजगारी दुवै बढी केन्द्रित भएका छन् । खुद्रा तथा थोक व्यापार, निर्माण सामग्री, कृषि उत्पादनको बजारीकरण, सेवा क्षेत्र तथा अन्य व्यावसायिक गतिविधिमा निजी क्षेत्रको लगानी विस्तार हुँदै जाँदा वाणिज्य क्षेत्रको दायरा फराकिलो बन्दै गएको देखिएको छ । पछिल्ला वर्षमा सेवा र व्यापार क्षेत्रतर्फ लगानीकर्ताको आकर्षण बढ्दै गएको तथ्याङ्कले पुष्टि गरेको छ ।

राजस्व सङ्कलनतर्फ कार्यालयले उल्लेखनीय प्रगति गरेको देखिएको छ । कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ मा एक करोड ८२ लाख १० हजार तीन सय ४८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलित राजस्वमध्ये उद्योगतर्फ ६३ लाख दुई हजार छ सय ८० रुपैयाँ र वाणिज्यतर्फ ८७ लाख ९४ हजार छ सय ६८ रुपैयाँ रहेको छ । यसैगरी बिमा दाबीबाट ३१ लाख १३ हजार रुपैयाँ प्राप्त भएको कार्यालयले जनाएको छ । कृषि, उत्पादनमूलक उद्योग, सेवा, पर्यटन, सूचना प्रविधि तथा व्यापारिक गतिविधिमा लगानी विस्तारसँगै स्थानीय स्तरमा स्वरोजगारका अवसर बढ्दै गएको कार्यालयको भनाइ छ । सरकारी सहुलियत कार्यक्रम, उद्यम विकास तालिम तथा वित्तीय संस्थाबाट हुने लगानी प्रवाहले नयाँ उद्योग स्थापना र व्यवसाय विस्तारमा सकारात्मक योगदान पु¥याएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने, व्यवसाय दर्ता प्रक्रियालाई थप सहज बनाउने, उत्पादनमूलक उद्योगको दिगोपनामा जोड दिने तथा निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीतिलाई प्राथमिकता दिएको छ । सोही नीति अनुसार चालु आर्थिक वर्षदेखि मदिरा तथा धूम्रपानजन्य उद्योग बाहेकका उद्योगको दर्ता र नवीकरण निःशुल्क गरिएको छ । यस व्यवस्थाले दाङसहित प्रदेश भर उद्योग दर्ताको सङ्ख्या थप वृद्धि हुने अपेक्षा गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार उद्योग तथा व्यवसाय क्षेत्रमा भएको लगानी, रोजगारी सिर्जना, उद्योग दर्ता र राजस्व वृद्धिले जिल्लाको आर्थिक गतिविधिमा सकारात्मक सङ्केत देखिएको छ । उत्पादन, व्यापार र सेवा क्षेत्रको विस्तारसँगै स्थानीय स्रोतसाधनको उपयोग बढ्दै गएको, निजी क्षेत्रको सहभागिता सुदृढ बन्दै गएको तथा आगामी दिनमा उद्योगमैत्री नीतिको प्रभाव थप देखिने अपेक्षा गरिएको कार्यालयको भनाइ छ ।