प्रमोद आचार्य
दंगीशरण, १४ साउन । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को स्वास्थ्य क्षेत्रको कार्यसम्पादन तथा मूल्याङ्कनमा जिल्लाका सबै स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको छ । उक्त उपलब्धिको अवसरमा गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
बुधवार गाउँपालिकाको सभाहलमा आयोजित सम्मान कार्यक्रममा सात वटै वडाका ५१ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई खादा, प्रशंसापत्र तथा ५१ वटा दराज हस्तान्तरण गरिएको थियो । गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीले जिल्लामै उत्कृष्ट नतिजा हासिल हुनु स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिको अथक मेहनत, समर्पण र सेवाभावको प्रतिफल भएको बताए । उनले महिला स्वास्थ्य स्वयम्सेविकाहरू समुदाय स्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने सशक्त आधार भएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, पोषण, सरसफाइ, महिला तथा बालबालिकाको संरक्षण, वातावरण संरक्षणदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा उनीहरूको योगदान अतुलनीय रहेको बताए ।
गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले महामारी तथा विभिन्न सङ्कटका समयमा अग्रपङ्क्तिमा रहेर समुदायको सेवामा निरन्तर खटिने महिला स्वास्थ्य स्वयम्सेविकाको समर्पण प्रशंसनीय रहेको बताइन् । आगामी दिनमा पनि उनीहरूको मनोबल उच्च राख्न गाउँपालिका प्रतिबद्ध रहने उनले बताइन् । कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाको तर्फबाट गोमा न्यौपाने, स्वास्थ्यकर्मीको तर्फबाट आधारभूत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्मा, कार्यपालिका सदस्य सितारा नेपाली, वडा नं. ३ का वडाध्यक्ष शुकलाल चौधरी, वडा नं. १ का वडाध्यक्ष रमेश भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले मन्तव्य व्यक्त गर्दै जिल्लामै प्रथम स्थान हासिल गर्नु दंगीशरण गाउँपालिकाको साझा सफलता भएको बताएका थिए । उनीहरूले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कम्प्युटर अपरेटर प्रमोद आचार्यले गरेका थिए । दंगीशरण गाउँपालिकाले स्वास्थ्य सेवा सुदृढीकरण, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, जनस्वास्थ्य प्रवर्धन तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ । यही निरन्तर प्रयासका कारण गाउँपालिकाले जिल्लामै उत्कृष्ट कार्यसम्पादन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।