उस्तै स्वरुपमा लकडाउन थपियो । स्वाभाविक थियो यो निर्णय । किनभने सरकारले यसको विकल्प खोज्न कुनै आवश्यकता नदेखेका प्रमाणहरु दिनदिनै दिएकै थियो । ‘सामाजिक दूरी कायम ग¥यो भने कोरोना संक्रमण सर्दैन’ यो रटान बाहेक सरकारसँग अरु कुनै न त योजना छ न त कोरोनाबाट बचाउने सन्दर्भमा अन्य कुनै काम गर्ने योजना । संसदमा नीति तथा कार्यक्रम पेश गर्दै ‘कोरोना मुक्त नेपाल’लाई आफ्नो मुख्य प्राथमिकता बनाउने जानकारी सरकारले दियो । त्यो पनि राष्ट्रपतिको मुखबाट बाचन गराएर । तर, त्यसलगत्तै बीरगञ्जको क्वारेन्टाइनको अवस्था त्यहाँ बसेका संक्रमित पत्रकारले छताछुल्ल पारेका छन् भने बाँकेमा रातभर बिरामी छट्पटाउँदा एम्बुलेन्स समेत नपुगेको अवस्थामा उनको मृत्यु भयो । यी दुई घटनाले हाम्रा क्वारेन्टाइनको अवस्था बुझ्नका लागि मद्दत गर्दछ ।
यो तयारीका बीच ‘कोरोना मुक्त नेपाल’ निर्माणको प्राथमिकता कहाँ र कसरी अलपत्र पर्ने हो, थाहा छैन । क्वारेन्टाइनभित्रै भएको मृत्युका बारेमा छानबिन हुनुपर्छ र त्यहाँ भएको कमजोरीका लागि जिम्मेवारहरुलाई कारबाही गर्नुपर्छ । बाहिर आएका घटनाक्रमहरु सत्य हुन् भने कोरोनाभन्दा निर्ममता त्यहाँको व्यबस्थापनले देखाएको छ । यो घटनाको छानबिन हुन कुनै बिलम्व गर्नु हुँदैन । अहिले निर्माण भएका क्वारेन्टाइन र आइसोलेसन लकडाउनका अवधिका लागि मात्रै हैनन् । परिवेश हेर्दा यस्ता संरचनाहरु लामो समय चाहिने देखिन्छ । बिज्ञहरुले पनि त्यस्तै सुझाइरहेका छन् । विद्यालयमा बनाइएका अस्थायी क्वारेन्टाइन र आइसोलेसन अस्थायी हुन् र हुनु पनि पर्दछ ।
‘कोरोना मुक्त नेपाल’लाई प्राथमिक लक्ष्यका रुपमा औपचारिक रुपमा घोषणा गरेको सरकारले स्थायी प्रकृतिका त्यस्ता संरचना बनाउनुपर्छ भन्ने कुरामा आफ्नो तत्परता देखाउनुपर्दछ र त्यसका लागि योजना र बजेट घोषणा गर्नुपर्छ । यतिबेला बाच्ने कुरा नै, संक्रमणबाट जोगिने कुरा नै सरकारले भनेझै प्राथमिक कुरा हो । सामाजिक दूरी बढाऊँ भन्ने र नागरिकस्तरबाट जुटेको राहत वितरण गरेर मात्र संक्रमण रोकिँदैन । सामाजिक दूरी बढाउँदै पनि काम गर्न सक्ने ठाउँहरु हुन्छन् । त्यसको पहिचान गर्नतर्फ सरकार गम्भीर बन्नुपर्छ ।