कोरोना बिशेष अस्पताल आसपासबासीको चिन्ता

‘व्यबस्थापकीय सुधार नगरे जोखिम बढ्छ’

खेमराज रिजाल
बेलझुण्डी, ५ जेठ । बिरामीले खाना खाएका जुठा थाल खुलेआम घरपालुवा चौपायाले चाटिरहेको अवस्था, तरकारी बिक्री वितरण गर्ने गाडी गाउँ–गाउँ डुल्ने र पानीको आपूर्तिका सवालमा पनि धेरै शंका देखिएपछि बेलझुण्डी कोरोना अस्पताल आसपासका नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् । चिन्तासँगै स्थानीय टोल विकास संस्थाले व्यवस्थापकीय सुधारका लागि चेतावनीसमेत दिएका छन् ।
सोमवार बेलझुण्डी क्षेत्रका आसपासमा रहेका ५ वटा टोल विकास संस्थाहरुको बैठकले अस्पताललाई पूर्णरुपमा सुरक्षित बनाउने तथा संक्रमण फैलने सम्भावनालाई शून्य बनाउन अस्पताल प्रशासनलाई सुझाव दिने निर्णय गरेको छ । साथै बैठकले अस्पतालमा भर्ना भएका बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । कोरोना विशेष अस्पतालमा बिरामी तथा स्वास्थ्यकर्मीहरुले खाना खाएका जुठा भाडाहरु छाडा चौपायाले चाट्ने गरेको, अस्पताल परिसरमा तारजालीको व्यवस्थापन हुन नसकेको, प्रवेशद्वारमा काम गर्ने तथा मेस चलाउने व्यक्तिहरु समेत गाउँ–गाउँमा खुलेआम घुमिरहेको, तरकारी र पानी उपलव्ध गराउने साधनहरु समेत अन्य बस्तीमा समेत घुमिरहेको अवस्थामा बैठक केन्द्रित भएको देवीपुर टोल विकास संस्थाका अध्यक्ष पूर्णबहादुर वलीले बताए ।
बैठकमा कोरोना विशेष अस्पतालका आसपासका एकीकृत टोल विकास संस्था, देवीपुर टोल विकास संस्था, जमेरामंगरी टोल विकास संस्था, वनकट्टी टोल विकास संस्था, निमुवा टोल विकास संस्था र बेलघारी टोल विकास संस्थाका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकले दाङ जिल्लामै कोरोना विशेष अस्पताल सञ्चालनमा आउनुलाई गौरवको विषय ठान्दै बिरामीहरुबाट संक्रमण फैलने प्रशस्तै सम्भावना रहेको भन्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने समेत निर्णय गरेको एकीकृत टोल विकास संस्थाका सचिव कपिल लामिछानेले बताए ।
बैठकमा कोरोना अस्पतालमा बिरामीले प्रयोग गरेका खाना खाने थाल र बचेको खानाको उचित व्यवस्थापन गरिनुपर्ने, सड्ने र नसड्ने बस्तुलाई दिनदिनै नियमितरुपमा विसर्जन गरिनुपर्ने, छाडा चौपाया तथा व्यक्तिहरुको आवत–जावतलाई नियन्त्रण गरिनुपर्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राखिनुपर्ने, गेटमा ड्युटी गर्ने सुरक्षाकर्मीलाई पनि अन्य बस्तीहरुमा घुमफिर गर्न बन्देज गर्ने, बिरामीले खाएका जुठा भाँडा तथा अन्य पदार्थलाई बैज्ञानिक रुपमा डिस्पोज गरिनुपर्ने तथा भान्साबाट उत्पादित फोहर राख्ने स्थानमा अनिवार्यरुपमा तारजाली लगाएर व्यवस्थापन गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।
‘हामीहरुले बिरामीलाई स्वागत गर्न चाहन्छौं र शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्दछौं, तर कोरोना विशेष अस्पतालको फोहर व्यवस्थापनको समस्याले स्थानीयबासी संक्रमित हुने अवस्था नआओस्’, देवीपुर टोल विकास संस्थाका तुलाराम नेपाली (विकास)ले भने । अस्पतालमा बजेटको भन्दा पनि व्यवस्थापनको समस्या देखिएकाले संक्रमण फैलनबाट अस्पताल प्रशासन गम्भीर हुनुपर्ने पनि उनको अभिव्यक्ति थियो । अस्पताल व्यवस्थापनले पनि केही कमजोरीलाई स्वीकार्दै फोहर व्यवस्थापनमा गम्भीर भएको जनाएको छ । अस्पताल व्यवस्थापनमा खटिएका नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारी विनय पोख्रेलले कोरोना विशेष अस्पतालबाट उत्पादन भएको फोहर व्यवस्थापनमा आफू गम्भीर भएको बताए । अस्पताल परिसरमा अझै पनि छाडा चौपाया आउने अवस्थालाई ध्यान दिँदै गल्ने र नगल्ने फोहर व्यवस्थापनको काम शुरु भइसकेको बताए । यद्यपि यो विषयमा स्थानीय पालिकालाई ध्यानाकर्षण गराउने पनि उनको भनाइ थियो ।
बैठकको निर्णय सुनाउँदै गर्दा अस्पतालका सदस्य सचिव डा. शर्वेश शर्माले पनि अस्पतालमा बिरामीले खाएका भाँडाकुडाको बैज्ञानिक व्यवस्थापन गर्ने बताए । तर उनले एउटा अनलाइनमा बोल्दै आफूले बाख्रा, कुखुरा धपाउने नभएर बिरामीको उपचार गर्ने ठाडो अभिव्यक्ति दिएका थिए । यसले सदस्य सचिवसमेत अस्पतालको फोहर व्यवस्थापनका सवालमा पन्छिन खोजेको देखिएको देवीपुर टोल विकास संस्थाका संरक्षक गिरिराज पाण्डेले बताएका छन् ।
यसैबीच सोमवारै बेलझुण्डी अस्पताल परिसरमा स्थानीय जनप्रतिनिधिहरुले समेत फोहर व्यवस्थापन र अन्य व्यवस्थापकीय कमजोरीका विषयमा सुझाव दिएका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ का अध्यक्ष थलराज पुरी र १८ का अध्यक्ष माधव वलीले वेलझुण्डी अस्पताललाई संक्रमणरहित बनाउने बताएका छन् । ‘संक्रमणका सवालमा केही कमजोरीहरु छन्, ती कमजोरीलाई व्यवस्थापनको काम आजैदेखि शुरु भएको छ’, कोरोना अस्पताल व्यवस्थापनसँगको छलफलपछि वडाध्यक्ष माधव वलीले बताए । अस्पताल परिसरमा तारजाली लगाउने तथा भान्छाबाट उत्पादित फोहरलाई खाडलमा बैज्ञानिक रुपले व्यवस्थापन गर्ने तयारी भइसकेको पनि अध्यक्ष वलीको अभिव्यक्ति थियो । सोही छलफलमा सहभागी तुलसीपुर उपमहानगरपालिका–१७ का अध्यक्ष थलराज पुरीले पनि अस्पतालका कारण स्थानीयबासी संक्रमित भए भने सबैभन्दा ठूलो दुर्भाग्य त्यही हुने भन्दै तत्काल व्यवस्थापकीय सुधार गर्न चेतावनी दिएका थिए । अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मी, चौकीदार, भान्सामा काम गर्ने व्यक्तिहरुसमेत नियमितरुपमा क्वारेन्टाइनमै बस्नुपर्ने उनको अभिव्यक्ति थियो ।
यसै प्रसंगमा जिल्ला संकट व्यवस्थापन केन्द्रले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिरामीले खाएका जुठा भाँडाको तत्काल व्यवस्थापन गर्न निर्देशनसमेत दिएको बताए । तर स्थानीयवासीहरु भने विश्वविद्यालयको गाडी गाउँ–गाउँमा पुगेर चिया खाने र सम्बन्धित व्यक्तिको चाहनाअनुरुप सञ्चालन हुनेमा दुःख व्यक्त गरेका छन् । विश्वविद्यालयको मातहतमा सञ्चालनमा आएको कोरोना अस्पतालमा जोडिएका बिश्वबिद्यालयका कर्मचारीहरु पनि खुलेआम हिँड्दा समस्या आउने हो कि भन्ने चिन्ता पनि स्थानीयको रहेको छ ।
आत्मबल बढाऊ
कोरोना विशेष अस्पतालमा अहिलेसम्म बिरामीलाई न पत्रपत्रिका, न त फ्रि वाइफाइको व्यवस्थापन पनि । बिरामी भनिएकामा कुनै लक्षण देखिएको छैन । उनीहरुले मनोरञ्जन चाहिरहेका छन् । तर न वाइफाइ सुविधा न त टिभिमा समाचार हेर्ने व्यवस्था ! यसै अवस्थामा बिरामीहरुको समेत आत्मबल बढेको अवस्था छैन । पछिल्लो समयमा अस्पताल व्यवस्थापनका सन्दर्भमा आर्थिक पारदर्शिताको पनि कुरा आएको छ । तर यो सवालमा अस्पताल व्यवस्थापन समिति कत्ति पनि गम्भीर देखिएको छैन । कोरोना विशेष अस्पतालको स्वामित्वमा एउटा पनि एम्बुलेन्स नभएको अवस्थामा शव वाहन र पिकअप भ्यान खरिद गर्ने निर्णयले स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्न सकेको छैन ।
संसार देख्न पाए हुन्थ्यो
यसैबीच बेलझुण्डी कोरोना विशेष अस्पतालमा रहेका बिरामीहरुको एउटै गुनासो संसार देख्न पाए हुन्थ्यो भन्ने छ । सबै बिरामीका हातहातमा एनड्रोइड मोबाइल छ, तर चलाउने वाइफाइ छैन । बिरामी भनेर भर्ना गरिएकाहरुले टिभी माग गरिरहेका छन्, तर दाता दिन तयार छैनन् । किनकि कोरोना अस्पताललाई बजेटको कुनै अभाव छैन । खर्चको पारदर्शितामा मात्रै समस्या हो । ‘हामी कोरोना अस्पताललाई सहयोग गर्न तयार थियौं, एउटा टिभी दिन सकिन्थ्यो, तर प्रदेश सरकारको बजेटले एउटा टिभी किन्न पर्याप्त छ भन्ने बुझेका छौं’, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले भने । यसै सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाले भने फ्रि वाइफाइको व्यवस्थापनको पहल गरेको छ ।
एम्बुलेन्सभन्दा पहिले शव वाहन !
यसैबीच कोरोना विशेष अस्पतालले आफ्नो मातहतमा एउटा पनि एम्बुलेन्स नभए पनि शव वाहन खरिद गर्ने निर्णयका विषयमा सर्वत्र आलोचना भएको छ । बिरामी बचाउने अभ्यासलाई थाँती राख्दै प्रदेशका आन्तरिक मामिला मन्त्री कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले एउटा शव वाहन र एउटा पिकअप भ्यान खरिद गर्ने निर्णय गरेको छ । ‘यो निर्णय संक्रमितलाई बचाउनभन्दा पनि मृत्यु संस्कारका विषयमा लक्षित देखियो, यो दुखद् अवस्था हो’, देवीपुर टोल विकास संस्थाका सल्लाहकार गिरिराज पाण्डेले गोरक्षलाई भने । अस्पतालका कोरोनाका बिरामीहरुलाई स्वागत गर्न र चाँडै निको हुने वातावरण मिलाउन आफूहरुले भरमग्दुर प्रयत्न गरिरहेको पनि उनको अभिव्यक्ति थियो ।
आजदेखि योगा
यसैबीच प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले कोरोनाका बिरामीहरुलाई स्वास्थ्यवद्र्धक जडिबुटी र नियमित योगा अभ्यास गराउने बताएको छ । चिकित्सालयका निमित्त निर्देशक रामकामेश्वर ठाकुरले सोमवारै कोरोना अस्पतालमा पुगेर बिरामीहरुलाई रोग प्रतिरोधात्मक औषधिहरुसमेत उपलव्ध गराएका छन् । ‘हाम्रो अभियान भनेको बिरामीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने मात्रै हो, त्यसका लागि नियमित औषधिसँगै शारीरिक व्यामयमा काम पनि शुरु गर्दैछौं’, डा. ठाकुरले भने । प्रादेशिक चिकित्सालयले बिरामीहरुलाई रोग प्रतिरोधात्मक च्यवनप्राश, एष्टमधु, लहरे गुर्जोलगायतका सामग्रीहरुसमेत उपलव्ध गराएको छ ।