एक परमात्मा पिता एक विश्व परिवार

आत्मा र परमात्मालाई एउटै मान्नु मानिसको सबैभन्दा ठूलो भूल हो । जबकि परमात्मा हामी आत्माका पिता हुनुहुन्छ । परमपिता परमात्मा शिव यो सृष्टिका रचयिता हुनुहुन्छ । हामी सबै आत्मा पनि परमधामका निवासी हौं । तर आत्माको जन्म हुन्छ । आत्माले शरीरको माध्यमबाट जुन कर्म गर्छ त्यसको फल पनि पाउँछ । परमात्मा सबै गुण, शक्ति, ज्ञान, प्रेम, पवित्रताका सागर हुनुहुन्छ र हामी आत्मा वहाँ जस्तै छौं। परमात्मा ज्योतिर्बिन्दु स्वरूप हुनुहुन्छ र आत्माको स्वरूप पनि ज्योतिर्बिन्दु नै छ । यस सृष्टिमा मानव आत्माहरू त अनेक छन् अनि परमात्मा त एउटै हुनुहुन्छ । मानव आत्मालाई ‘जीव आत्मा’ भनिन्छ तर ‘जीवलाई परमात्मा’ भनिँदैन ।

ईश्वर जो सबै मानव आत्माहरूका पिता हुनुहुन्छ तर उहाँ सबैमा व्याप्त हुनुहुँदैन । ईश्वर सबै मानव आत्माहरूका पिता भएको हुनाले मानिसले ‘विश्व भ्रातृत्व’ को कुरा गर्छन् ‘विश्व पितृत्व’को होइन । सबै मानव आत्माहरू झैं ईश्वरलाई पनि मानिसहरूले चैतन्य मान्दछन् । यदि उहाँ सबै ठाउँमा व्याप्त हुनुहुन्छ भने त जडवस्तु कही पनि नहुनुपर्ने हो । ईश्वर सर्वव्यापी हुनुहुन्छ भने सबै ठाउँमा ईश्वरका गुणहरू पनि देखिनुपर्ने हो । तर यसको विपरीत काम, क्रोध, लोभ, मोह, अहंकार इत्यादि विकारहरू नै समस्त विश्वमा पाउँछौं । यदि परमात्मा सर्वव्यापी हुनुहुन्छ भने किन मानिसमा अशान्ति, दुःख अनि दुश्मनी ? जुन परमात्मालाई एकक्षण स्मरण गर्दा हामीले शान्तिको अनुभव गर्दछौ भने ईश्वर सर्वव्यापी भए त संसारमा कति शान्ति हुने थियो होला ! ? धेरै व्यक्तिहरूले विभिन्न धर्मका धर्मपितालाई ‘ईश्वरको सन्देशवाहक’ भनी विश्वास गर्छन् ।

यदि ईश्वर सर्वव्यापी हुनुहुन्छ भने कहाँबाट अनि कसको निम्ति उनीहरूले सन्देश ल्याए ? परमात्मालाई पापकटेश्वर भनिन्छ, विषय– विकारहरूदखि मुक्ति दिलाउनका निम्ति भक्तहरू उहाँलाई पुकार्छन् भने ईश्वर भएको ठाउँमा किन हिंसा, बलात्कार, भ्रष्टाचार अनि पापै पाप ? आज त भनौ भने संसारमा पाप नै सर्वव्यापी देखिन्छ । सर्वव्यापीको भूल धारणाले राम्रो अनि नराम्रो, मूर्ख अनि ज्ञानी साथै चैतन्य आत्मा र जड पदार्थको भिन्नता पनि हटाईदिन्छ । वास्तवमा ईश्वर सर्वव्यापीका सिद्धान्त मानिस नराम्रो कत्र्तव्यहरूदेखि जोगियोस् एउटा राम्रो भावनाले शुरू भएको हो । मानिसले पाप कर्महरू अरुदेखि लुकेर गर्छन् भन्ने विचारले मानिएको कुरा हो तर आज कोही व्यक्तिलाई यस मान्यताले पाप कर्मदेखि जोगाएको छैन ।

शिवको अर्थ हो कल्याणकारी र लिङ्गको अर्थ हो प्रतिमा । कल्याणकारी परमात्मालाई स्थुलमा पूजा गर्नको लागि शिवलिङ्गको निर्माण गरियो । अज्ञानरूपी रात्रिमा परमात्मा आएर अज्ञान–अन्धकारलाई मेटाउने भएकाले शिवलिङ्गलाई कालो आकृतिमा देखाईन्छ । देवताका पनि देव महादेव, ब्रह्मा, विष्णु, शंकरका पनि रचनाकार त्रिमूर्ति, तीनै लोकका मालिक त्रिलोकीनाथ, तीनै कालका ज्ञाता त्रिकालदर्शी, संसारका सबै आत्माहरूका परमपिता शिव नै हुनुहुन्छ । परमात्मा जन्म र मृत्युभन्दा पर हुनुहुन्छ । उहाँको कुनै महापुरुष अथवा देवताको जस्तै शारीरिक जन्म हुँदैन तर वहाँको दिव्य अवतरण हुन्छ । वहाँ अजन्मा, अकर्ता, अभोक्ता, अविनाशी हुनुहुन्छ । परमधाम निवासी हुनुहुन्छ,जसलाई हामी शान्तिधाम, निर्वाणधाम बैकुण्ठ र ब्रह्मलोक पनि भन्छौ ।

शिव र शंकरमा त्यतिकै फरक छ जति पिता र पुत्रमा हुन्छ । शंकरको आकारी शरीर छ । शंकर परमात्मा शिवका रचना हुनुहुन्छ । परमात्मा शिवले शंकरलाई यो कलियुगी संसारको विनाश गर्नको लागि रचना गर्नुभएको हो । शंकरलाई हरक्षण शिवलिंगको अगाडि तपस्या गरेको पाउँछौ । यदि शंकर स्वयं ईश्वर भएको भए वहाँलाई ध्यान गर्नुपर्ने आवश्यकता नै पर्ने थिएन । ध्यानमङ्गन शंकरको हाव–भाव एउटा तपस्वीको अलंकारी रूप हो । शंकर र शिवलाई एउटै सम्झनुको कारण हामी परमात्मा प्राप्तिबाट वञ्चित भयौं । अब फेरि आफ्नो भाग्य बनाउने मौका छ । गीता, शिवपुराण, महाभारत र यजुर्वेद सबै धर्मग्रन्थहरूमा परमात्मा अवतरणको कुरा स्पष्ट लेखिएको छ। शिवपुराणको कोटी रुद्रसंहिताको बयालीसौं अध्यायमा उल्लेख छ ‘म ब्रह्माको ललाटबाट अवतरित हुन्छु’ अर्थात् सम्पूर्ण संसारमाथि अनुग्रह गर्नको लागि शिव ब्रह्माको ललाटबाट प्रकट हुनुभयो र उहाँको नाम रुद्र रह्यो । परमात्मा शिवले नै ब्रहमाको मुखद्वारा नयाँ सृष्टिको रचना गर्नुभयो । जब ब्रह्माद्वारा सत्ययुगी संसारको रचना गर्ने कार्य तीब्र गतिले भएन तब शिवले ब्रह्माका शरीरमा प्रबेश गरी ब्रह्मालाई पुनर्जिवित गरेर वहाँको मुखद्वारा नयाँ सृष्टि रचना गर्ने कार्यको सुरुवात गर्नुभयो ।

शिव पुराणमा पटक–पटक यो कुराको उल्लेख गरी यसलाई स्पष्ट लेखिएको छ कि सबैको मनोकामना पूरा गर्ने परमात्माको चिन्ह शिवलिंग नै हो । संसारको विनाशकालमा एउटा अद्भुत ज्योतिर्लिंग प्रकट भयो, जुन अनुपम, अव्यक्त र स्थिर थियो । जसद्वारा नै संसारको सुरुवात भयो । अर्थात् परमात्मा शिवले प्रजापिता ब्रह्माको माध्यमद्वारा ईश्वरीय ज्ञान र सहज राजयोगको शिक्षा दिएर यो दुःखले भरिएको तमोगुणी वातावरणलाई परिवर्तन गर्नुभयो । त्यसकारण ब्राह्णलाई ब्रह्मामुख वंशावली भनिएको हो । यहाँ जातीय ब्राह्मणको कुरा नभै कर्मको सन्दर्भ जोड्न खोजिएको हो ।

शक्ति रूपान्तरणलाई हेर्दा जसरी बिजुली एक शक्ति हो,यसमा कुनै चित्र हुँदैन र यो देखिँदैन तर प्रकामान त हुन्छ । परमात्मा पनि एक शक्ति हुनुहुन्छ उहाँको चरित्रको चित्रण हुन्छ, दिव्य अनुभूति गर्न सकिन्छ । हामी देख्दछौ कि धेरै मानिसहरू विश्वास गर्छन् कि परमात्मा एक हुनुहुन्छ र उहाँ नै सत्य हुनुहुन्छ भन्ने वास्तविकता सार्वभौमिक रूपमा स्वीकार गरिन्छ । यसबाट परमात्माको परिचय पनि केवल एकै हुनसक्छ भन्ने कुरा स्पष्ट हुन्छ । ईश्वरको सत्य पहिचान के हुनसक्छ ? जसरी कुनै चिकित्सकको पहिचान निजको ज्ञान, अनुभव,गुण तथा कर्तव्यका आधारमा गरिन्छ त्यसगरी परमात्माको सही स्वरूपको पनि पाँच कुराहरूका आधारमा पहिचान गर्न सकिन्छ :

१. जो सर्वमान्य होस् 
परमात्मा उहाँलाई भनिन्छ जो सर्वमान्य छ, मतलब उहाँलाई सबै धर्मका आत्माहरूले स्वीकार गरून्, किनकि उहाँ सर्व धर्मका आत्माहरूको परमपिता हुनुहुन्छ । उहाँलाई अलग–अलग नामले जानिन्छ जस्तै परमेश्वर, ईश्वर, ओमकार, अल्लाह, खुदा, गड, नूर इत्यादि परन्तु उहाँ हुन त एकै हुनुहुन्छ ।

२ जो सर्वोच्च होस्
परमात्मा उहाँलाई भनिन्छ जो सर्वोच्च, सर्वश्रेष्ठ, सर्वोत्तम या परम हुनुहुन्छ मतलब उहाँभन्दा माथि कुनै हस्ती छैन । परमात्माको कोही माता–पिता, शिक्षक, गुरु या रक्षक छैनन्, उहाँ नै सर्व आत्माहरूका परमपिता, परम शिक्षक, परम सद्गुरु र परम रक्षक हुनुहुन्छ । यसैले भगवानको महिमामा भनिन्छ– उच्च तिम्रो नाम, उच्च तिम्रो धाम, उच्च तिम्रो हर काम, उच्चभन्दा उच्च भगवान् । त्यसैले जसको नाम, धाम, गुण र कर्तव्य सबैको भन्दा उच्च छ उहाँ नै भगवान् हुनुहुन्छ ।

३ जो सबैभन्दा अनौठो होस्
परमात्मा वहाँलाई भनिन्छ जो सबैभन्दा अनौठो हुनुहुन्छ । परमात्मा जन्म–मरण, कर्म–फल, पाप–पुण्य, सुख–दुःखको चक्रमा आउनुहुन्न । परमात्मा यस प्रकृतिको परिवर्तन क्रिया अर्थात् सतो–रजो–तमोभन्दा पनि अलग हुनुहुन्छ । वहाँ सबै प्राकृतिक बन्धनहरूबाट मुक्त हुनुहुन्छ । यसैले वहाँ सबैभन्दा अलग र सबैको प्रिय हुनुहुन्छ । ईश्वरभन्दा उच्च त कोही छैन नै परन्तु वहाँसमान पनि कोही छैन ।

४ जो सर्वज्ञ होस्
परमात्मा उहाँलाई भनिन्छ जो सर्वज्ञ हुनुहुन्छ अर्थात् जसले सबैकुरा जान्नुहुन्छ । कुनै पनि सन्दर्भमा जब कुनै कुरा मानिसको बुद्धिमा आउँदैन तब ईश्वरलाई याद गर अवश्य भन्दछन्, भगवान्ले जानून् वा अल्लाहले जानून् अर्थात् परमात्मालाई कुनै पनि कुरा अनभिज्ञ छैन किनकि उहाँ सर्वज्ञ हुनुहुन्छ ।

५ जो सर्व गुणहरू र शक्तिहरूको भण्डार होस
परमात्मा उहाँलाई भनिन्छ जो सर्वगुण र शक्तिहरूको भण्डार हुनुहुन्छ । परमात्मा कहिल्यै पनि कसैबाट केही लिनुहुन्न, परन्तु सागर या सूर्यसमान आफ्नो गुण र शक्ति सबैलाई दिइ नै रहनुहुन्छ । यसैले कुनै पनि साकार देहधारी व्यक्तिलाई परमात्मा भन्न सकिँदैन, किनकि साकार व्यक्ति कहिल्यै पनि सर्वमान्य हुन सक्दैन जसले सबै धर्मका आत्माहरूको स्वीकृति पाएको होस् । साकार देहधारीका माता–पिता, शिक्षक, गुरु, रक्षक अवश्य नै हुन्छन् यसैले उसलाई सर्वोच्च भन्न सकिँदैन । साकार व्यक्ति सबैभन्दा अलग पनि हुनसक्दैन किनकि साकारसँग नै जन्म–मरण, कर्म–फल, पाप–पुण्य र सुख–दुःख आदिमा सम्मिलित हुने गर्दछन् । साकार सबैको ज्ञाता तथा दाता पनि बन्न सक्दैन । ऊ त अझ ईश्वरसँग ज्ञान, सुख, शान्ति र शक्ति मागि नै रहन्छ । यी सबै कुराहरूले सिद्ध हुन्छ– कोही पनि साकार देहधारी व्यक्ति परमात्मा हुन सक्दैन ।
परमात्मा उहाँलाई नै भनिन्छ जसको अस्तित्व सबै धर्ममा भिन्न–भिन्न रुपमा स्वीकार गरिएको छ । प्रायः सर्व धर्मका व्यक्तिहरूले के भन्छन् भने परमात्मा एक हुनुहुन्छ र उहाँ सबैका पिता हुनुहुन्छ । जो ज्योतिविन्दु, सर्वमान्य, सर्वज्ञ हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, यो निर्विवाद छ ।

हुन त प्रत्येक धर्मका धर्मपिताहरु अलग–अलग छन् तर पनि प्रत्येक धर्मका अनुयायीहरू निराकार ज्योतिस्वरूप परमात्मा शिवको प्रतिमा (शिवलिङ्ग) लाई कुनै न कुनै रूपमा मान्यता दिन्छन् ।

God is the one whose existence is accepted differently in all religions. Most religions say that God is one and that He is the Father of all. The one who is Almighty, omniscient and omnipotent, it is undeniable. Although the religions of each religion are different, the followers of each religion somehow recognize the image of Lord Shiva (Shivalinga) as the formless light.

नेपाल, भारतलगायत विश्वका विभिन्न देशहरूमा परमात्माको महिमा परमज्योति, सूर्यसमान तेजोमय प्रकाशको रूपमा नै गरिएको छ । अमरनाथ, विश्वनाथ, सोमनाथ र पशुपतिनाथ आदि मन्दिरहरूमा परमपिता परमात्मा शिवका स्मरण चिन्हहरू छन्। परमात्मा शिवको पूजा स्वयं श्रीरामले पनि गर्नुभएको कुरा वर्तमान समयमा रामेश्वरको रूपमा पूजा हुनुले स्पष्ट हुन्छ । शिव श्रीरामका पनि अराध्य हुनुहुन्छ । रावणको शक्तिलाई सामना गर्नको लागि श्रीरामले शिवको आराधना गरेको कुरा शास्त्रमा उल्लेख छ । हामी शंकरलाई हमेशा ध्यान मुद्रामा भएको पाउँछौ यसले स्पष्ट हुन्छ शंकरका पनि कोही आराध्य देव हुनुहुन्छ, जसलाई उहाँले समेत स्मरण गर्नुहुन्छ । महाभारत युद्धभन्दा पहिले कुरुक्षेत्रको मैदानमा श्रीकृष्णले ज्ञानेश्वर, सर्वेश्वरको स्थापना गरी उनै सर्व शक्तिमान निराकार शिवको पूजा–आराधना गर्नुभयो र कौरवमाथि विजय गर्नुभएको कुरा उल्लेख छ ।

मुस्लिम धर्ममा मूर्ति पूजा गरिँदैन तर मान्यता छ कि जीवनमा एकपटक मक्का–मदीनाको यात्रा अवश्य गर्नुपर्छ । त्यहाँ राखिएको पवित्र पत्थरको दर्शन मुसलमानको लागि अनिवार्य मानिन्छ,जसको कुनै साकार आकृति छैन र जुन निराकार छ । त्यसलाई नै संग–ए–असवद र अल्लाह भनिन्छ । त्यसलाई उनीहरू नूर–ए–इलाही पनि भन्छन् अथवा त्यो नूर, त्यो प्रकाश, त्यो प्रकाशमय स्वरूप जसलाई हामी ज्योतिर्लिंङ्ग भन्छौ । ज्योति भनेको प्रकाश हो । त्यसैगरी सिख धर्मका गुरुनानक देवजीले परमात्माको सही स्वरूप एक ओंकार निराकार भनी स्पष्ट शब्दमा वर्णन गर्नुभएको छ । त्यो निराकार छ, सर्वमान्य छ,सत्य छ जसलाई अकालमूर्तको रुपमा गुरुवाणीमा लेखिएको छ । हामीले ज्योतिर्लिंङ्ग भन्यौ, नानकजीले त्यसलाई निराकार,सर्वमान्य, सत्यनाम बताउनुका साथ–साथै सधै माथितिर नै औंलाले ईशारा गर्नु भयो ।

पारसीको अङ्गयारीमा होली फायर (पवित्र ज्योति) पाईन्छ । पारसीहरू भारतमा आउँदा बल्दै गरेको अग्नीको केही अंश लिएर आएका थिए । आज पनि उनीहरू नयाँ अङ्गयारीको स्थापना गर्दा प्रकाशित ज्योतिको अंश स्थापना गर्छन् जुन परमज्योतिको प्रतीक हो । मिश्रमा शिवको पूजा सेवा नामले र फिजीमा शिवलाई सेवा वा सेवाजिया नामले पुजिन्छ । रोममा शिवलिंगलाई प्रियपस भनिन्छ । इटलीमा गिर्जाघरमा शिवलिंगको प्रतिमा राख्ने गरिएको छ । जिजस क्राइष्टले ईश्वरलाई लाइट(प्रकाश) भन्नुभयो । उहाँँले God Is Light.Iam the Son of God भन्नुभएको छ ।

आज पनि चर्चमा एउटा ठूलो मैनबत्ती जलाइन्छ जुन परमज्योति परमात्माको सूचक हो । ओल्ड टेस्टामेंटमा देखाएको छ कि जब हजरत मूसा शिनाई पर्वतमा जानुभयो त्यहाँ उहाँलाई परमज्योतिको साक्षात्कार भयो,जसलाई हेरेर हजरत मूसाले भन्नुभयोे जेहोवा जसलाई यहूदीहरू मान्दछन् । महात्मा गौतमबुद्धलाई ज्योतिको नै साक्षात्कार भयो र शान्तिदूतले संसारभर चिनिनुभयो । वौद्ध धर्मका अनुयायीहरु जापानमा तीन फिटको स्टेण्ड माथि एउटा रातो पत्थर राखेर ध्यान गर्दछन् । शिकोनिजम् सेक्टवालाले त्यही पत्थरलाई करनीको पत्थर भन्छन, जसलाई चिंकोनसेंकी भनिन्छ । महावीरलाई पनि ज्योतीको अस्तित्वलाई मान्दथे । अतः सबैले परमात्माको ज्योतिस्वरूप शक्तिलाई स्वीकारेका छन् । यसरी हेर्दा परमात्मा एक हुनुहुन्छ,एक पिता एक विश्व परिवार यही कुराको विस्मृती हुनुको कारण हामी हिन्दु मुस्लिम शिक्ख ईशाई,आपसमा सव भाइ भाइको भावनालाई केवल नारामा मात्र सिमित राख्न पुग्यौ र धर्म एवं जातीय युद्धमा होमियौ । फलस्वरुपमा विश्व एक परिवारको बदलामा एक युद्धभूमी रणभूमि र जंगलको रुपमा परिणत भयो, जसलाई रौरव नरकले चिनिन थालियो ।

परिवर्तन संसारको नियम हो । सत्ययुगपछि कलियुग, दिनपछि रात आउनु स्वाभाविक हो । यो दुइटै क्रिया आफ्नो समय अनुसार चलिरहेको हुन्छ। यही समय अवधिमा ईश्वरको आगमन हुन्छ । परमात्माको आगमन अलौकिक र दिव्य हुन्छ । यसलाई देख्न र चिन्नको लागि त्यही रूपमा आउनु पर्ने हुन्छ । उहाँले नै यसको विधि स्वयम् आफै आएर भन्नुहुन्छ ताकि कुनै पनि अबरोध र विघ्न उत्पन्न नहोस् । परमात्माद्वारा अनेक प्रकारका कर्म हुने गर्छन् । एकातिर भक्तहरूको भगवानसँग मिल्ने आशा पूरा गर्नु हुन्छ भने अर्कोतिर आसुरी प्रवृत्तिको नाश गर्ने कार्य पनि गर्नुहुन्छ । परन्तु धेरैजसो मानिसहरूलाई यस्तो कुराको विश्वास हुँदैन त्यसैले परमात्माले आफ्नो परिचय स्वयं दिनुहुन्छ । यहीबाट सुरु हुन्छ आत्मा र परमात्मा मिलनको अद्भुत खेल । आखिरमा परमात्मा को हुनुहुन्छ, उहाँको स्वरूप कस्तो छ,कहाँ मिल्न सकिन्छ, कसरी कुराकानी गर्न सकिन्छ साथै हामी आत्माहरूको असली घर कहाँ छ ? यी सबै कुराको ज्ञान हुनु जरूरी छ ।

वर्तमान समयमा परिवर्तित परिवेश, लुप्त भइरहेको मानवता, मूल्यको पतन, प्राकृतिक आपत, पर्यावरणमा बदलाव, हिंसा, आतंकवाद सबैले परिवर्तनतर्फ ईशारा गरिरहेका छन् । यही समयमा परमात्माले विश्वको नवनिर्माण गर्दै हुनुहुन्छ । संसार तीब्र गतिले बदलिरहेको छ । प्रकृति, पुरुष र सत्ता सबैमा परिवर्तन भइरहेको छ । यो कलियुगको अन्तिम चरण र सत्ययुगको आरम्भको समय हो । परमात्मा शक्तिद्वारा महापरिवर्तनको कार्य भइरहेको छ । परम सत्ता (सर्वोच्च सत्ता), मनुष्य आत्मा र प्रकृति यी तीन सत्ताले वर्तमान समयमा काम गरिरहेका छन् । मनुष्य आत्माहरुको कर्म यति निच र अति भईसक्यो,जसको उल्लेख शास्त्रमा पनि कहीं छैन । यसको प्रत्यक्ष असर प्रकृतिको रोदनको रुपमा चारैतर्फ देखिएको छ । बाढी–पहिरो, भूकम्प, सुनामी, अतिवृष्टि, खडेरी, महामारी सर्वविदित नै छ। जब सृष्टि चक्रमा यस्तो स्थिति मनुष्य र समाजमा देखा पर्छ तब विश्वको महापरिवर्तन अवश्यम्भावी हुन्छ, इतिहास साक्षी छ । यो परिवर्तन परमात्माको सान्निध्यमा हुन्छ जसमा मनुष्य आत्मा र प्रकृति दुइटै पवित्र र सतोप्रधान हुन्छन् । फेरि नयाँ दुनियाँको आगमन हुन्छ।

The supreme power,the human soul and nature, these three powers are working at the present time. The karma of human souls has become inferior, which is not even mentioned anywhere in the scriptures. Its direct effect is seen all around as the weeping of nature. Floods, landslides, earthquakes, tsunamis, heavy rains, droughts, epidemics are well known. When such a situation appears in man and society in the cycle of creation, then the great change of the world is inevitable, history has witnessed. This change takes place in the presence of God, in whom the human soul and nature are both sacred and pure.

आज हामी त्यही समय चक्रमा छौं । एकतर्फ आसुरी प्रवृत्तिको बढ्दो ताण्डव, अर्कोतर्फ परमात्म शक्तिद्वारा विश्व परिवर्तन दुइटै कार्य जारी छ । यो समय नरबाट नारायण र नारीबाट लक्ष्मी बन्ने सुनौलो समय हो । जब यो संसार पतित भ्रष्टाचारी बन्छ, आसुरी प्रवृत्तिको बोलबाला हुन्छ तब चारै युगमा एकपटक मात्र यो सृष्टिमा परमात्मा अवतरित भएर पुनःनयाँ दुनियाँ स्थापनाको महान कार्य गर्नुहुन्छ । भौतिकताको चकाचौंधमा डुबिसकेको यो दुनियाँमा ज्ञानको तेस्रो नेत्र बन्द हुनुको कारण सत्य र असत्यको अन्तर समेत थाहा हुनसकेको छैन । यस्तो समयमा परमात्मा स्वयं आएर हामी आत्माहरुको र आफ्नो परिचय आफै दिनुहुन्छ । आत्माको असली गुण र कर्तव्यको बोध गराउनु हुन्छ यसरी आत्मा र परमात्माको यहाँ मंगल मिलन हुन्छ, जुन वर्तमान समयमा जारी छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका माध्यामबाट परमात्मा पिताले एक विश्व एक परिवारको महान कार्य गर्दै हुनुहुन्छ जसमा हामी पनि सहभागी बनौ र स्वर्णीम संसारको पुनर्निर्माण गर्ने सुनौलो अवसर नगुमाऔं । ओम् शान्ति ।

लेखक डिभिजन वन कार्यालय, दाङका अधिकृत एवं आद्यात्मिक अभियन्ता हुन् ।