सल्यानमा ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग
तुफानबाबु गिरी
सल्यान,६ मंसिर । रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपाली युवाहरुले पठाएको रकमबाट सल्यानमा ज्येष्ठ नागरिकहरुलाई सम्मान र सहयोग गरिएको छ ।
कोरिया रहेका १५ जना नेपालीहरुले पठाएको रकमबाट सल्यानको शारदा नगरपालिका वडा नं. ८ मार्केमा बसोबास गर्ने ९ जना जेष्ठ नागरिकहरुलाई सम्मान एव आर्थिक रुपमा विपन्न एक जनालाई आर्थिक सहयोग समेत गरिएको छ ।
कार्यक्रममा ज्येष्ट नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस अवसरमा मार्केमा निवासी ८५ वर्षिया ज्येष्ठ नागरिक मोति विष्टलाई कपडा, जुक्ता, ३० केजी चामलका २ बोरा, कम्बल र सिरकसहित नगद १५ हजार तीन सय ५० रुपैया सहयोग गरिएको हो ।
सोही वडाका वडाध्यक्ष जुद्धबहादुर बुढाथोकी र स्थानीय समाजसेवी लोकबहादुर विष्टले संयुक्त रुपमा ज्येष्ठ नागरिकलाई सम्मानसँगै सहयोग सामग्री हस्तान्तरण गरेका थिए । कोरियामा बस्ने नेपालीहरुले सहयोगका लागि ३२ हजार ६ सय रुपैया सहयोगका लागि पठाएका थिए ।