लीलाधर वली
दाङ, १३ साउन । घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीमा बस्दै आएका रोल्पाको लुङ्ग्री गाउँपालिका–८ बडाचौर निवासी दिल मगरको कोठामा ग्यास सकिएको सात दिन भइसकेको भए पनि उनले ग्यास पाउन सकेका छैनन् । ग्यासका लागि पटक पटक पसल धाउँदा पनि नपाएपछि होटलमा खाना खानु पर्ने बाध्य भएको उनी बताउँछन् । घोराही उपमहानगरपालिका–१४ नयाँबजारमा रहेको ग्यास पसलमा पटक पटक पुगेको र नाम लेखाउँदासमेत ग्यास नपाएको उनको गुनासो छ । ‘ग्यास सिलिन्डरका लागि शुक्रवार नाम टिपाएको थिएँ, अहिलेसम्म ग्यास पाएको छैन’, उनी भन्छन्, ‘पसल साहुजीलाई सोध्दा ग्यास आएपछि पाउँछौ भन्छन् तर ग्यास पाउन सकिएको छैन ।’ ग्यास नपाउँदा कोठा गरी बस्ने आपूm जस्ता विद्यार्थीलाई समस्या भएको उनी बताउँछन् ।
उनी जस्तै घोराही उपमहानगरपालिका–१५ भरतपुर निवासी पवित्रा केसी पनि ग्यास नपाएर समस्यामा परेको बताउँछिन् । कोठामा ग्यास सकिएपछि पटक पटक डिलरसम्म पुग्दा पनि ग्यास पाउन नसकेको उनी बताउँछिन् । ‘पहिले फोन गर्ने बित्तिकै घरमै ग्यास आइपुग्थ्यो तर अहिले ग्यास पाउनै समस्या भयो’, उनी भन्छिन्, ‘ग्यास पसलमै गएर सोध्दा ग्यास आएपछि पाउनुहुन्छ भन्छन् तर ग्यास आएर बाँडेको हामीलाई पत्तै हुँदैन ।’ कोठामा ग्यास सकिएपछि छिमेकीकहाँ पकाएर खाने गरेको बताउँदै उनले छिमेकीको ग्यास पनि सकिए थप समस्या हुने अवस्था रहेको बताइन् । खाना पकाउने ग्यास नपाएर नागरिक समस्यामा पर्दासमेत सरोकारवाला निकाय जिम्मेवार बन्न नसकेको उनको गुनासो छ ।
दिल मगर र पवित्रा केसी प्रतिनिधिमूलक पात्र मात्र हुन् । घोराहीमा उनीहरू जस्तै धेरै नागरिकले ग्यासको समस्या भोग्नु परेको छ । ग्यासमा मात्र भर पर्ने उपभोक्ता समयमै ग्यास नपाउँदा समस्यामा परेका छन् । यता ग्यास व्यवसायीले पनि उपभोक्तालाई ग्यास पु¥याउनै समस्या भएको बताउँछन् । घोराही उपमहानगरपालिका–१४ निवासी ग्यास व्यवसायी कृष्णप्रसाद घिमिरेले आपूmलाई ग्यास पु¥याउनै समस्या भएको बताउँछन् । आएको ग्यास नियमित रूपमा वितरण गरे पनि बजारमा कसरी ग्यासको अभाव भइरहेको भन्ने बुझ्न नसकेको बताउँछन् । ‘ग्यास आइरहेको छ, आएको ग्यास उपभोक्तालाई बाँडिरहेका छौँ, तापनि उपभोक्तालाई ग्यास पुगेको छैन’, व्यवसायी घिमिरे भन्छन्, ‘ग्यास कहाँ गइरहेको छ, म आफैँ अचम्ममा परेको छु ।’ उनका अनुसार चालु आर्थिक वर्षको साउन १२ गतेसम्म १२ सय सिलिन्डर ग्यास वितरण भइसकेको छ ।
घोराही–१७ चौघेरामा ग्यास व्यवसाय गर्ने मोहनचन्द्र योगीको पनि अनुभव उस्तै छ । ‘आएको ग्यास उपभोक्तालाई वितरण गरिरहेका छौँ, पसलमा उपभोक्ताको लाइन लाग्न छोडेको छैन’, उनी भन्छन्, ‘बजारमा उपभोक्ताले स्टक ग्यास राख्दा अहिले समस्या आएको हुन सक्छ ।’ व्यवसायीले आएको ग्यास वितरण गरिरहेको भन्दै व्यवसायीले ग्यास लुकाएको भन्ने गलत भएको उनी बताउँछन् । उपभोक्ताले भने बजारमा ग्यासको अभावसँगै केही व्यवसायीले महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको गुनासो गरेका छन् । व्यवसायीहरूले भने ग्यासमा मूल्य वृद्धि नगरिएको बताउँछन् ।
ग्यास पसलको अनुगमन
दाङका बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि घोराहीमा ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका र नेपाल आयल निगम तुलसीपुर कार्यालयको संयुक्त टोलीले मङ्गलवार घोराही बजारमा रहेका ग्यास सप्लायर्स तथा डिलरहरूको अनुगमन गरेको हो । अनुगमनका क्रममा उद्योगबाट नियमित रूपमा ग्यासका सिलिन्डर आइरहेको भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको अवस्था भेटिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले वितरण प्रणाली व्यवस्थित नहुँदा केही उपभोक्ताले घरमै ग्यास सञ्चित गर्ने प्रवृत्तिका कारण बजारमा अभाव देखिएको बताएकी छिन् ।
उनका अनुसार व्यवसायीलाई प्राप्त भएको ग्यास तथा वितरण गरिएका सिलिन्डरको स्पष्ट अभिलेख राख्न निर्देशन दिइएको छ । ‘ग्यास अभावको समस्या हटाउन ग्यास लैजाने व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा राख्नेदेखि वितरण प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका छौँ’, जिल्ला बजार अनुगमन समिति संयोजकसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी पुनले भनिन्, ‘वितरण प्रणालीलाई व्यवस्थित गर्दा ग्यासका सिलिन्डर कहाँ स्टक राखिएको छ भन्ने पहिचान गर्न सकिन्छ ।’
संयुक्त टोलीले घरायसी प्रयोजनका लागि प्रत्येक उपभोक्तालाई एक पटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएको छ । होटल, उद्योग, होस्टेललगायत संस्थालाई भने आवश्यकताका आधारमा ग्यास उपलब्ध गराउन निर्देशन दिइएको छ । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनारले स्थानीय उपभोक्तासँगै बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीले समेत ग्यास नपाएको गुनासो बढेपछि अनुगमन गरिएको बताए । अनुगमनका क्रममा ग्यास वितरण प्रणाली व्यवस्थित नभएको र कतिपय डिलरबाट जिल्ला बाहिरसमेत ग्यास जाने गरेकाले त्यसको असर बजारमा देखिएको शाखा प्रमुख सुनारले बताए ।
नेपाल आयल निगम तुलसीपुर कार्यालयका प्रमुख विनोद बस्नेतले असार महिनाको तुलनामा साउन महिनामा जिल्लामा पर्याप्त ग्यास आपूर्ति भइरहेको बताए । नियमित रूपमा ग्यास आइरहे पनि आवश्यकताभन्दा बढी ग्यास घरमै सञ्चित गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम अभाव देखिएको बताउँछन् । संयुक्त अनुगमन टोलीले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सबै ग्यास सप्लायर्सलाई आयात तथा वितरणको स्पष्ट अभिलेख राख्नु पर्ने, अहिलेको असहज अवस्थामा जिल्ला बाहिर ग्यास नपठाउन निर्देशन दिएको छ । अनुगमन टोलीले घोराही–१४ को नयाँ बजार, वडा नं. १५ को ट्राफिक चोक, क्याम्पस रोड र १७ को चौघेरामा रहेको ग्यास पसलको अनुगमन गरेको थियो