मेरो खुशी : त्यो मुस्कान अनि तीन हजार रुपैयाँ …

आफूले देखेकी अनि भेटेकी एउटी सुन्दर कन्या, जोसँग केही समयै प्रेम बस्छ । कसैले प्रशंसा गरेकै आधारमा पग्लिएको मन । पहिलो पटक प्रत्यक्ष उनिसँग भेट्दा त बिहेको सोँच नै बन्यो । त्यति मात्रै कहाँ हो र ! यस्तो सोँच बनेको २१ दिनमै विवाह । यस्तो घटनाले को पो खुसी नहोला र ?

युवा व्यवयासी दामोदर खनाललाई गोरक्ष दैनिकको खुसी स्तम्भका लागि छनौट गरेर ‘तपाईंको जीवनको सबैभन्दा धेरै ठुलो खुसी के हो ?’ भनेर प्रश्न गर्दा उनले आफ्नो खुसीको सन्दर्भलाई बेलिविस्तार लगाउँदै भने,–‘विवाह पक्का भएपछि मैले उनलाई हाम्रो माया प्रेम सफल भयो हैन ? भनेर सोधे । उनले मेरो आँखामा आँखा जुझाएर लज्जालु मुस्कान मात्र दिइन् । त्यो मुस्कान नै मेरो जीवनको सबैभन्दा ठुलो खुसी हो । अझ भनौ खुसी मात्र हैन, उर्जा पनि हो ।’

कलिलो उमेर, अनि सरकारी जागिरमा व्यस्त सिता एमसीसँगको सम्बन्ध, विवाह र उनको त्यो मुस्कानलाई जीवनको सबैभन्दा ठुलो खुसी ठान्ने दामोदरले सितालाई ०७३ साल मङ्सिर ३ गते पहिलो पटक भेटेका थिए । भेटेको २१ दिनपछि अर्थात सोही महिनाको २४ गते उनीहरूको बिहे भयो । बिहेपछि दुई सन्तानका बाबु बनेका दामोदरको अर्को खुसी भनेको ०७४ र ०७८ मा जन्मिएका दुई छोराहरू हुन् । ‘एउटा सानो अनि सुन्दर संसार बसालियो’ उनले भने, ‘एउटा बाबुको लागि यो क्षण महत्वपूर्ण र उत्सवको क्षण नै लाग्दो रहेछ ।’ हाल देउखुरीको कालाकाटेमा डेरी उद्योग र भालुवाङ्मा होटेल सञ्चालन गर्दै आएका दामोदर सन्तानको सोही मायाले नियमित जसो काठमाडौँ जाने गर्छन । जहाँ उनको श्रीमति सरकारी जागिरे छिन् र छोराहरू स्कूल पढ्ने गर्छन् ।

डेरी उद्योग र होटल व्यवसायमा राम्रो र उदारणीय काम गरिरहेका उनले त्यसलाई आफ्नो जीवनको तेस्रो खुसी भन्छन् । दोस्रो के त ? गोरक्षको प्रश्नमा उनले भने, ‘मैले पत्रकारिता पनि गरे, अहिले पनि पत्रकारितासँग आवद्ध छु । सगरमाथा टेलिभिजनको लुम्बिनी प्रमुखको जिम्मेवारीमा छुँ । पत्रकारिताको प्रारम्भ भने मैले क्लासिक एफएमबाट गरेँ । १९ वर्षको उमेरमा रेडियोमा आवाज दिएँ अनि मेरो जीवनको पहिलो तलबका रूपमा त्यहाँबाट तीन हजार रुपैयाँ पाएँ । त्यो नगद तीन हजार मेरो जीवनमा सन्तान प्राप्ती पछिको अर्को ठुलो खुसीका रूपमा स्मरणीय छ ।’

उनलाई त्यो तलव लेखा शाखाबाट प्राप्त भएन, एफएम सञ्चालिका मञ्जु कार्की लामिछानेले आफ्नै हातबाट दिएकी थिइन् । त्यो क्षणमा आफू अत्यन्त गम्भीर भएको र अहिले पनि त्यो सम्झदा गम्भीर हुने गरेको समेत खनाल बताउँछन् । २०४० साल कार्तिक २८ गते अर्घाखाँचीको ढाकाबाङ्मा बारीको पाटामा जन्मिएका थिए उनी । ‘अस्पतालमा नगएरै घर अगाडिको बारीको पाटामा’, उनी भन्छन्–‘जहाँ आमाले त्यतिबेला घाम ताप्दै हुनुहुन्थ्यो रे ।’ ०५८ मा काठमाडौँ गएका उनी त्यहाँ पढाइसँगै रेडियोकर्मीका रूपमा क्रियाशील रहे । साथीहरूको सङ्गतमा लाग्दै गर्दा केही बलियो आम्दानीको बाटो खोज्नुपर्छ भन्ने कुरामा उनी पनि ‘कन्भिन्स’ भए । उनै मध्यका एकजना साथीसँग मिलेर ०७१ सालमा उनले होटेल व्यवसाय सुरु गरे । पहिलो पटक उनले दाङ देउखुरीको लमहीमा होटेल सञ्चालन गरे ।

‘होटेलबाट धेरै कुरा सिकियो, मानिससँग व्यवहार चिन्ने, मानिसहरूको रुचि बुझ्ने अनि उनीहरूलाई सेवा गर्ने अवसर पाइयो होटेल व्यवसायबाट’ उनी भन्छन्–‘यो कुरा मेरो जीवनको एउटा खुसी त हो नै, खुसीसँगै सिकाई, बुझाई र आफूले आफैलाई रोमाञ्चित बनाउने अवसर पनि सावित भयो ।’ होटेल व्यवसाय गर्नुअघि र गरिसकेपछिको आफूलाई तुलना गर्दै उनले भने,–मानिससँग मैले राख्ने सम्बन्धको गुणस्तर नै फरक भयो । म नम्र हुन सिके, सहयोगी हुन सिके अनि हार्दिकता प्रदान गर्नसमेत सिके । बलियो सम्बन्धका लागि यी कुराहरू त अनिवार्य तत्व रहेछन् भन्ने लाग्छ, आजकल मलाई ।’

दामोदरले अहिले कालाकाटेस्थित आफ्नो स्वर्गद्वारी डेरी उद्योगमा बढी समय दिइरहेका छन् । त्यसपछि भालुबाङमा रहेको इभरल्याण्ड होटेलमा । होटेलमा अरू साथीहरू पनि भएका कारण त्यहाँ कम र डेरीमा धेरै समय दिनेगरी आफ्नो दायित्व निर्धारण गरेको बताउँछन्, उनी । नयाँ पुस्तालाई पनि व्यवसायमा लाग्नका लागि उनी सल्लाह दिने गर्छन् । ‘हौसिएर वा अन्धाधुन्ध लगानी गर्ने हो भने आत्तिने हुन्छ’ उनको सुझाव छ, ‘पहिले बुझेर, मार्केट अध्ययन गरेर अनि आफूसमेत सक्रिय भएर मात्र यो क्षेत्रमा काम गर्नुहोला, लगानी लगाउने र अरुको जिम्मा मात्रै दिने हो भने रिस्क धेरै हुन्छ ।’ सङ्घर्ष, लगानशीलता र धैर्यता यी तीन कुरा छैन भने व्यवसाय सम्भव हुँदैन– उनको प्रष्ट दृष्टिकोण छ ।

स्टार्टअप विजिनेसको बहस र चर्चा जतिधेरै भए तापनि व्यवसाय गर्ने सोँच बनेको मानिसलाई अझै पनि राज्यका संरचनाहरूले उत्साहित गर्न नसकेको उनको अनुभव छ । यसलाई उनी दुःखद कुराका रूपमा स्मरण गर्न चाहन्छन् र यसमा सुधार होस् भन्ने अपेक्षा पनि गर्दछन् । ‘झन्झटिला प्रावधान हुनु, एकद्वार प्रणाली नहुँदा राज्यका सबै संरचनामा सबै कागजात बोकेर पुग्न पर्दा नयाँ मानिस त आत्तिन्छ कि भन्ने लाग्छ’ उनले भने–‘प्रविधिको यत्रो विकास भइसकेको अवस्थामा यो कुरामा पनि सुधार हुनेछ भनेर विश्वास त जागेको छ तर अझै सुधार हुन बाँकी छ ।’

प्रस्तुती : अमरराज आचार्य