युवा जनशक्ति राष्ट्रको आधार र भरोसा हो

नारायणप्रसाद श्रेष्ठ

कुनै पनि राष्ट्रको विकास त्यहाँको नीति, नैतिकता एवम् युवाजन शक्तिको जोश र जागरमा निर्भर रहेको हुन्छ । युवाको पौरख र पसिनाले सिन्चित मेहनत र उर्जाशिल विचार र शक्तिबाट नै रास्ट्रको भविष्य उज्वल बनेको हुन्छ । म, मेरो ,राष्ट्रवाद भनी जबसम्म युवा जमातमा अघि बढ्ने सङ्कल्प देखिँदैन, युवा हाम्रो विकासको आधार हो भनी गर्व गर्ने परिस्थिति बन्दैन, त्यो समयको गतिशिलता बढ्दैन, तबसम्म विकासको मोडेल तयार हुन सक्दैन । न त नया योजनाले मुर्तरुप लिन सक्छ ? त्यसैले युवा हाम्रा आधारस्तम्भ हुन भनी बुझी राष्ट्रिय विकासको नीति ल्याउन जरुरी छ ।

नेपाल भूपरिवेष्ठित राष्ट्र हो । हिमाल, पहाड र तराई भएर रहेको यहाँको भू–बनोट र प्रकृतिलाई हेर्दा नेपालको भविष्य युवामा निर्भर रहेको पाइन्छ । भौगोलिक बनोट अनुकूल विकासका पूर्वाधार तयार गरी जनजीवनलाई उद्योग र उत्पादनसँग जोड्न युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । दक्ष युवा जनशक्तिबाट नै नेपालमा रहेको प्राकृतिक स्रोत खनिज र जलस्रोतले सार्थकता पाउने वातावरण बन्न सक्छ । अहिले भइरहेको मुख्य पेसा कृषि उत्पादनदेखि पर्यटन पूर्वाधारको लागि तथा विकासका अन्य पूर्वाधार निर्माणमा युवाको भूमिका रहेको हुन्छ ।

यति मात्र होइन राज्य सञ्चालनका लागि नविनतम विचार प्रवाह गर्ने सवालमा तथा नीति निर्माणमा समेत युवाको भूमिका अपरिहार्य आवश्यक रहेको हुन्छ । किनकि युवा जनशक्ति राष्ट्रको खम्बा हो आधारशिला हो र समृद्धिको आधार हो । युवा शक्तिबाट नै समृद्ध नेपाल सुखी नेपालीको नारा सम्भव हुनसक्दछ । जुन राष्ट्रमा युवा जनशक्तिलाई परिचालन गर्ने सक्षम नेतृत्व र नीति रहेको हुन्छ । त्यो राष्ट्र अन्य राष्ट्रको तुलनामा निश्चय पनि सक्षम र विकसित रहेको हुन्छ । युवा जनशक्तिको जोश, जाँगर र हिम्मतबाट नै विश्वमा धेरै ठूला–ठूला चमत्कारहरु भइरहेका छन् । यदि त्यस सत्यलाई गहिरेर बुझ्ने हो भने युवा नै राष्ट्रको आधार रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।

त्यसैले युवा जनशक्तिलाई राज्य नीतिले उनीहरुको श्रम, सिप र जाँगरलाई मातृभूमिप्रतिको जिम्मेवारीमा लगाउन सक्नुपर्दछ । पुरानो सोच र चिन्तनबाट मात्र राष्ट्रिय विकासको आधार बलियो हुन्छ भन्ने कुरा अहिले अफाप हँुदैछ । जबसम्म विचार र चिन्तनमा युवा जनशक्तिको सकारात्मक भाव जागृत हुँदैन तबसम्म देशले स्वच्छ र सुशासनयुक्त समाजको परिकल्पना गर्न सक्दैन । तसर्थ अहिलेको वर्तमानमा जुन किसिमको राजनीतिक तरङ्ग देखा परेको छ । सोच र विचारमा जुन किसिमको स्वार्थ र अहमता देखिएको छ । त्यो परिवर्तन नभएसम्म राष्ट्रिय विकासको अवधारणामा पुरानै प्रवृत्ति दोहोरिरहन्छ । यस्तो परिस्थिति भइरहने हो भने युवाले न त विकासको आधारशिलामा हात बढाउने अवसर रहन्छ । न त समृद्ध नेपालको परिकल्पना साकार हुने अवस्था रहन्छ । तसर्थ समयले अहिले चुनौती र अवसर दुवै दिएको छ । यो सत्यलाई अब सबैले मनन गर्न जरुरी छ ।

समयको परिवर्तनसँगै हरेक मानिसको मन विचार र भावना परिवर्तन भई विविध किसिमले प्रस्तुति भइरहेको हुन्छ । हिजोको परिवेश र आजको परिवेशमा कहीँ न कहीँ परिवर्तनको स्थिति देखिन्छ । मानिसको सोच्ने शक्ति आचरण र व्यवहारमा समेत परिवर्तन भएको पाइन्छ । यति मात्र होइन हिजोको जीवनशैली र वर्तमानको जीवनशैलीमा केही न केही भिन्नता देखिन्छ । अहिले मानिसलाई युग सुहाउँदो जीवनशैली बनाउन निकै भागदोड गर्नु पर्ने अवस्था छ । भौतिक विलासीले प्रत्येक व्यक्तिको मानसिकतामा हलचल ल्याएको छ । कतिपय अवस्थालाई मूल्याङ्कन गर्ने हो भने हिजो र आजको न्याय प्रणालीमा सङ्कुचित र निर्देशीत विचार प्रवाहित भई अनुशासित र मर्यादित जीवनशैलीमा फरकपन देखा परेको छ ।

हिजो कानुनी मान्यतालाई आधार बनाएर सामाजिक न्याय प्रणालीमा नीति र नैतिकताको राम्रो परिपालन भएको अवस्था थियो भने अहिले त्यो अवस्था नभई रहेको देखिन्छ । नैतिकतामा प्रश्न चिन्ह उठिरहेको छ । कानुनी आधारलाई हेर्ने दृष्टिकोण कमजोर भएको छ । हिजो आत्म सहयोग थियो । एकअर्काबिच विश्वासको वातावरण थियो तर अहिलेको वर्तमानलाई हेर्ने हो भने त्यो अवस्था कमजोर छ । विडम्बना मान्नुपर्छ, समयको गतिशिलतासँंगै जीवनमा नयाँपन, विचारमा सुदृढीकरण हुनुपर्नेमा समय अनुकुल विकाशित राष्ट्र सम्वृद्धि नेपाल हुनुको सट्टा अविकसित हुँदै झन पछि झन ब्याक हुँदैछ । यसले राष्ट्रिय अवधारणा कहाँ अलमलिएको छ यो सोचनीय विषय बनेको छ ।

समयको परिवर्तनसँगै भौतिक विकासले, विचार र चिन्तनमा परिवर्तन आउनु नौलो विषय नहुन सक्छ तर सुशासन र कानुनी आधार कमजोर हुनु भनेको जीवनशैलीमा असहज परिवेश देखा पर्नु, गलत मान्यता बढ्दै जानु, निश्चय पनि गम्भीर विषय मानिन्छ । यसैको कारण जनशक्तिमा नैरास्यता देखा परेको मानिन्छ । अहिले भौतिक विलासीले मानवीय चिन्तन र जीवनशैलीलाई स्वार्थ र व्यक्तिवादी चिन्तनतर्फ धकेल्दै गएको छ । फलस्वरुप युवा जनशक्ति र उनीहरुको सोच गलत मार्गमा जाने अवस्था सिर्जना भएको छ । जीवनलाई विलासितर्फ मोडिदै गएको छ ।

प्रकृतिले हामीलाई यो अवस्थासम्म जे जति दिएको छ हाम्रो जीवनचर्यामा जे जस्ता ऊर्जाका स्रोतहरु हामीलाई प्राप्त भएको छ त्यो बाहेक हाम्रो जीवनशैलीले प्रकृतिभित्र रहेको शक्ति र उर्जालाई प्रयोग गर्न सकिरहेका छैनौँ । युवा जनशक्ति दिनप्रतिदिन श्रम सिप बेच्न विदेश पलायन भइरहेको अवस्था छ । यसले हाम्रो समृद्धिको नारा केवल कागजी रुपमा परिणत भएको छ । समृद्धिको आधार युवा जनशक्ति भनी नेताले जसरी मिठा–मिठा शब्दजालबाट आश्वासन बाँटी रहेका छन् विकासको लागि राजनीति भनी कुर्लीरहेका छन् । ती सबै कोरा भावनामा बहकिँदै गएको छ । विचार र सङ्कल्पमा अभाव सिद्ध भइरहेको अवस्था देखिन्छ । अहिलेको युगमा युवा जनशक्तिको श्रम र सिपबाट नै आधुनिक युग सुहाउँदो नेपालको विकास हुन सक्छ भन्ने नीति हुनुपर्दथ्यो तर विडम्बना, यो किताबी पानाभित्र रुमल्लिएको छ । नीति र नैतिकताको कारण युवा जनशक्ति विदेश पलायन हुने स्थिति बढिरहेको छ ।

सुशासनको प्रत्याभूति हुन नसकी राष्ट्रिय विकासको बलियो आधार युवा जनशक्ति विदेश जान बाध्य भइरहेका छन् । यस्तो बाध्यता हुनु भनेको राष्ट्रिय विकासको आधारशिला कमजोर हुनु हो । उचित स्थान र उचित श्रम र सिपको परिचालन गरिने भनी नेतृत्व तहबाट जतिसुकै आश्वासनका पोका बाहिर ल्याए पनि युवा जनशक्ति परिचालन गर्ने आधार स्तम्भ नै भत्किदै जाने स्थिति देखा पर्दै गएको छ । स्वार्थ को राजनीतिले अहिले दक्ष र सिपयुक्त नेतृत्व पंक्ति विदेश दौडिरहेको छ । नेतृत्वको नियतमाथि शङ्काको दृष्टिकोण मडारिँदै गरेको छ । जनताले अपेक्षा गरे अनुसार विकासका पूर्वाधार अहिले तयार हुन सकिरहेको छैन । केही समय यता हाम्रा देशमा भएका औद्योगिक क्षेत्र कलकारखाना क्रमश निजीकरण हुने जुन अभियान बढ्दै गएको छ । निजीकरणको नाममा जसरी राज्यले उद्योग कलकारखानालाई पलायन हुने अवस्था सिर्जना ग¥यो ।

त्यसले रोजगारीको अभाव खड्किने अवस्था देखा पर्दै गयो । कानुनी राज्यको अवधारणाअनुसार युवा शक्ति स्वदेशमै केही गरु भन्ने हुटहुटी हुँदा हुँदै पनि रोजगारीको लागि विदेशी भूमिमा ४५ डिग्री तापमा काम गर्न बाध्य भएका छन् । जसले हाम्रो राष्ट्रिय स्वाभिमान, र विकासका आधारशिला कमजोर हुँदै गएका छन् । अहिले हजारौँ युवा विदेशी भूमिमा जान तछाडमछाड गरिरहेको देखिनु साच्चिकै लज्जा हुनु हो । तसर्थ त्यसको निराकरणतर्फ लाग्नु अहिलेको आवश्यकता हो । विदेशमा बेचिएको रगत पसिनाले पठाइएको रेमिटान्सभित्र नेता रमाउनु भनेको विरोधको लागि विरोध गर्नु, राम्रा कामको पनि विरोध गर्नु यो सरासर गलत हो ।

रोजगारीको अभावमा कोही कसैलाई बञ्चित गरिँदैन भनी नेताले गरेको प्रतिबद्धता हात्तीको देखाउने दात नहोस् हामी शुभकामना दिन्छौँ । अर्थोपार्जन तथा रोजगारीको मुख्य आधार औद्योगिक क्षेत्रको विकास अहिले निकै कमजोर अवस्थामा रहेको छ । हामीले हाम्रो राष्ट्रिय विकासका जनशक्तिलाई विदेशी बजारमा बेच्ने हाम्रो जुन किसिमको मानसिकता मौलाउँदै गरेको छ । यसले बचे खुचेका आर्थिक सम्पन्न्ता पनि धारासायी हुने अवस्था सिर्जना हुन सक्छ । विषयलाई साध्य बनाउने विवेक नै नैतिक चरित्र तथा अनुशासित जीवनशैली निर्माण गर्ने बलियो आधार हो र युवा जनशक्ति नै विकासको मूल आधार हो । भन्ने मान्यता अहिले निकै कमजोर रहेको छ । यस कुरातर्फ प्रत्येक व्यक्ति वर्ग क्षेत्र र पार्टीलगायत सरकारमा नेतृत्व गर्ने सबैलाई यसले सचेत हुन घचघचाइरहेको छ ।

त्याग र समर्पणमा आधारित विकासको लागि राजनीतिक भन्ने मान्यतालाई आत्मसाथ गर्न सबैलाई उत्तिकै जिम्मेवारी बोध गराउनु पर्ने अवस्था वर्तमानमा देखिएको छ । युवा राष्ट्र र राष्ट्रियताको बलियो आधार हो । उनीहरुको सिप र क्षमतालाई व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी पनि हो । युवा पलायनसँगै अहिले राष्ट्रिय विकासका आधार पनि कमजोर भइरहेको छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने उखान झै, हामी जे गर्छौ जनताका लागि गर्छौं भनी मिठा भाषणबाजी गर्दै अघि बढन खोज्नु भनेको वास्तवमा राष्ट्रको लागि दुर्भाग्य मानिन्छ ।

त्यसैले चुनौती स्वरुप देखा परेको हाम्रो विकास र सम्वद्धिको नारा सार्थक बनाउन युवाशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण निर्माणा गर्नु जरुरी छ । उद्योग कलकारखानातर्फ हाम्रो ध्यान पु¥याई रोजगारी अभिवृद्धि गर्नेतर्फ ध्यान बढाउन जरुरी छ । राष्ट्रलाई सफल र सम्वृिद्ध बनाउनु छ भने औधोगिक राष्ट्रको रुपमा नेपाललाई चिनाउने गरौँ अघि बढाउनु पर्दछ । समयले यही खोजिरहेको छ । अस्तु ।