संयमित र जिम्मेवार बन्न सञ्चार माध्यमलाई आग्रह

काठमाडौँ,१२ साउन । प्रेस काउन्सिल नेपालले सुनसरीलगायत पूर्वी जिल्लाहरूमा हालै घटेका दुःखद तथा संवेदनशील घटनाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले उक्त घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलीका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समाचार सम्प्रेषण गर्दा उच्च व्यावसायिकता, संयमता र जिम्मेवारी प्रदर्शन गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ।

प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत एवम् सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा अपुष्ट सूचना, अफवाह, उत्तेजना फैलाउने सामग्री, घृणात्मक अभिव्यक्ति तथा सामाजिक, धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने कुनै पनि सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ। पत्रकारिताको मूल मर्म सत्य, तथ्य, सन्तुलन र सार्वजनिक हितको संरक्षण गर्नु रहेको स्मरण गराउँदै काउन्सिलले आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न, पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता र मानवीय मर्यादाको सम्मान गर्न तथा अनुसन्धान प्रक्रियामा असर पर्ने विवरण सम्प्रेषण नगर्न निर्देश गरेको छ।

काउन्सिलले घटनासम्बन्धी प्रकाशित सामग्रीहरूको निरन्तर अनुगमन गरिरहेको जानकारी गराउँदै आचारसंहिता विपरीतका समाचार सम्प्रेषण भएको पाइएमा अनुगमन शाखामा जानकारी गराई सहयोग गर्न सञ्चारकर्मी तथा सर्वसाधारणलाई अपिल गरेको छ। साथै, उक्त संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिक, धार्मिक वा सामाजिक ध्रुवीकरणको माध्यम नबनाई शान्ति, सामाजिक सद्भाव र जिम्मेवार सञ्चार संस्कृति संरक्षणमा सहयोग पुर्‍याउन काउन्सिलले विश्वास व्यक्त गरेको छ।