दाङ ठेगाना भएका संक्रमितको संख्या ४, बाँकेमा ४७ थपिए
दाङ, ५ जेठ । सोमबारमात्रै नेपालका बिभिन्न ल्याबमा गरिएका पिसिआर परीक्षणबाट थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ । बिहानै स्वास्थ्य मन्त्रालयले ९ जनामा संक्रमण देखिएको एक बिज्ञप्तिमार्फत जानकारी गराएको थियो । बेलुकाको पत्रकार सम्मेलनमा धुलिखेलमा परीक्षण गराएका दाङका एकजना, बाँकेको भेरी अस्पतालमा परीक्षण गराएकामध्ये ४७ जनासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । यसरी नेपालमा संक्रमितको कूल संख्या ३ सय ५७ पुगेको छ ।
नेपालमा बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको हो । तीमध्ये ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको भेरी अस्पतालले जनाएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो । दाङसहित गुल्मी, मोरङ, धनुषा, रौतहट र धादिङका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि दाङका ३ जनामा पुष्टि भएको थियो । तीमध्ये दुईको दाङमै र एकको काठमाडौंमा उपचार भइरहेको छ । सोमबार थपिएका एकजनाको धुलिखेलमा गरिएको परीक्षणमा संक्रमण देखिएको हो । सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।