क्याविनेटवाट नेपालको नयाँ नक्सा पारित

काठमाडौं, ५ जेठ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेत समाबेश गरेर बनाइएको नेपालको नयाँ नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको जानकारी दिएका छन् ।

भूमिसुधार मन्त्री पद्यमा अर्यालले पेश गरेको नक्सा पास भएको बताइएको छ । मन्त्री परिषदमा पेश भएको र पास भएको नक्सा भने यो समाचार तयार गरुन्जेल सार्वजनिक भएको छैन ।

नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । ‘यो नक्सा बमोजिम नै हाम्रा निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुने जनाइएको छ ।

भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध भएको थियो । साथै संसदीय समितिले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।