तुफानबाबु श्रेष्ठ
जीवनमा सफलता प्राप्त गर्न मेहनत आवश्यक छ, तर मेहनतसँगै इमानदारी, विवेक र न्यायप्रतिको सम्मान पनि उत्तिकै आवश्यक हुन्छ । केही मानिसहरू आफ्नो स्वार्थ पूरा गर्न कानुनका कमजोरी, शब्दका खेल वा चालाकीको सहारा लिन्छन् । उनीहरूलाई लाग्छ– अरूलाई छल्न सके आफू विजेता बनिन्छ । तर इतिहास र जीवनका असंख्य घटनाहरूले देखाएका छन् कि छल र कपटको विजय क्षणिक मात्र हुन्छ । अन्ततः सत्य, न्याय र बुद्धिमत्ताकै जित हुन्छ ।
सम्राट अकबरका दरबारका नवरत्नमध्ये एक बीरबल आफ्नो तीक्ष्ण बुद्धि, निष्पक्ष निर्णय र न्यायप्रिय स्वभावका कारण आज पनि स्मरणीय छन् । उनका अनेक प्रेरणादायी प्रसंगहरूमध्ये किसान र इनारको यो कथा केवल मनोरञ्जन मात्र होइन, समाजलाई सही बाटो देखाउने गहिरो शिक्षा पनि हो । एक गाउँमा एउटा मेहनती किसान बस्थ्यो । वर्षौँदेखि आफ्नै पसिनाले खेत जोतेर परिवार पाल्दै आएको उसले आफ्नो खेतीलाई अझ राम्रो बनाउन एउटा इनार किन्ने निर्णय ग¥यो । धेरै खोजीपछि उसले आफ्नै छिमेकीसँग रहेको एउटा इनार उचित मूल्य तिरेर किन्यो । अब खेतीका लागि पानीको समस्या हट्नेछ भन्ने आशामा किसान निकै खुसी थियो ।
तर छिमेकी भने अत्यन्त लोभी र धूर्त स्वभावको थियो । उसलाई पैसा त चाहिएको थियो, तर इनार बेचिसकेपछि पनि किसानलाई त्यसको पूर्ण लाभ लिन नदिने योजना उसले मनमै बनाएको थियो । भोलिपल्ट किसान पानी निकाल्न इनारमा पुग्यो । उसले डोरी र बाल्टिन हाल्नै लागेको बेला छिमेकी आएर रोक्दै भन्यो– ‘रोक ! मैले तिमीलाई इनार बेचेको हुँ, इनारभित्रको पानी होइन । पानी त मेरो हो । त्यसैले मेरो अनुमति बिना पानी निकाल्न पाउँदैनौँ ।’
किसान अचम्ममा प¥यो । उसले सम्झाउने प्रयास ग¥यो, ‘इनार किनेपछि त्यसमा भएको पानी प्रयोग गर्ने अधिकार पनि त मेरो नै हुनुपर्छ’ तर छिमेकी आफ्नो जिद्दीमा अडिग रह्यो । किसानले धेरै सम्झायो, गाउँलेहरूलाई पनि गुहा¥यो, तर समाधान निस्केन । अन्ततः न्यायको खोजीमा किसान सम्राट अकबरको दरबारमा पुग्यो । दरबारमा उसले सम्पूर्ण घटना सुनायो । किसानको दुःख सुनेपछि सम्राटले यो विवाद समाधान गर्ने जिम्मा बीरबललाई दिए ।
बीरबलले दुवै पक्षलाई दरबारमा उपस्थित हुन आदेश दिए । किसानले आफ्ना कुरा दोहो¥यायो भने छिमेकीले ठूलो आत्मविश्वासका साथ भन्यो– ‘महाराज, मैले इनार बेचेको हुँ, पानी होइन । त्यसैले पानी अझै मेरो सम्पत्ति हो ।’ दरबारका धेरै मानिसहरू केहीबेर अलमल्ल परे । कानुनी भाषामा हेर्दा छिमेकीको तर्क चतुर देखिन्थ्यो तर बीरबल मुस्कुराइरहेका थिए । केही क्षण मौन बसेपछि उनले शान्त स्वरमा छिमेकीलाई सोधे– ‘तिमीले भनेझैँ यदि पानी तिम्रो हो भने अहिले त्यो पानी कहाँ छ ?’ छिमेकीले उत्तर दियो– ‘इनारभित्र छ ।’ बीरबलले तुरुन्तै अर्को प्रश्न गरे– ‘इनार अहिले कसको हो ?’ छिमेकीले सहजै उत्तर दियो– ‘किसानको ।’ त्यसपछि बीरबलले दृढ स्वरमा फैसला सुनाए– ‘यदि इनार किसानको हो भने तिमीले आफ्नो पानी किसानको सम्पत्तिभित्र किन राखेका छौँ ? अरूको सम्पत्तिमा आफ्नो सामान राख्ने अधिकार तिमीलाई कसले दियो ? यदि पानी साँच्चै तिम्रो हो भने तुरुन्तै आफ्नो पानी इनारबाट निकाल । यदि निकाल्न सक्दैनौ भने किसानलाई त्यो पानी प्रयोग गर्न कुनै रोक लगाउन पाउँदैनौँ ।’
बीरबलको तर्क सुन्नासाथ दरबार मौन भयो । केही क्षणअघि आफूलाई धेरै चतुर ठान्ने छिमेकीको अनुहार मलिन बन्यो । उसले आफ्नो गल्ती स्वीकार ग¥यो र किसानसँग माफी माग्दै भविष्यमा यस्तो छलकपट नगर्ने वचन दियो । किसानले पनि न्याय पाएपछि खुसीसाथ आफ्नो खेतीमा पानी लगाउन थाल्यो । केही समयमै उसको खेत हराभरा भयो र मेहनतले राम्रो उत्पादन दियो । गाउँभरी यो घटनाको चर्चा हुन थाल्यो । सबैले बुझे– बुद्धिमत्ता भनेको अरूलाई फसाउने कला होइन, सत्यलाई उजागर गर्ने क्षमता हो ।
आजको समाजमा पनि यस्ता घटनाहरू विभिन्न रूपमा देखिन्छन् । व्यापार, जागिर, सम्बन्ध वा सामाजिक व्यवहारमा कतिपय मानिसहरू शब्दको खेल, कानुनी कमजोरी वा झूटो तर्क प्रयोग गरेर अरूलाई अन्याय गर्न खोज्छन् । केही समयका लागि उनीहरू सफल भएजस्तो देखिए पनि अन्ततः सत्य, विवेक र न्यायको अगाडि त्यस्ता सबै चालाकी टिक्न सक्दैनन् । बीरबलले यो प्रसंगमार्फत एउटा महत्वपूर्ण सन्देश दिएका छन्– बुद्धि त्यतिबेला महान् हुन्छ जब त्यसले कमजोरलाई न्याय दिलाउँछ, अन्यायलाई परास्त गर्छ र समाजमा विश्वास कायम राख्छ । मेहनत गर्ने मानिसलाई अस्थायी रूपमा दुःख दिन सकिएला, तर उसको अधिकार सधैंका लागि खोस्न सकिँदैन ।
हामीले पनि जीवनमा इमानदारीलाई आधार, न्यायलाई मार्गदर्शक र विवेकलाई शक्ति बनायौँ भने कुनै पनि कठिनाइलाई पार गर्न सक्छौँ । छलले क्षणिक लाभ दिन सक्छ, तर सत्यले स्थायी सम्मान दिलाउँछ । किसान र इनारको यो कथा केवल एउटा पुरानो लोकप्रसंग होइन, आजको समाजका लागि पनि उत्तिकै सान्दर्भिक जीवनदर्शन हो । यसले सिकाउँछ कि स्वार्थ र कपटले केही समयका लागि भ्रम सिर्जना गर्न सक्छ, तर न्याय, सत्य र बुद्धिमत्ताको अगाडि अन्ततः त्यसको पराजय निश्चित हुन्छ ।
त्यसैले जीवनमा अरूलाई छल्ने होइन, विश्वास जित्ने प्रयास गरौं । अधिकार खोस्ने होइन, सम्मान गर्ने बानी बसालौं । किनभने अन्ततः मानिसको वास्तविक सम्पत्ति धन होइन– उसको चरित्र, इमानदारी र न्यायप्रतिको प्रतिबद्धता नै हो । यही मूल्यले व्यक्ति, समाज र राष्टूलाई दीर्घकालीन समृद्धितर्फ अघि बढाउँछ ।