घोराही ८ साउन । पश्चिम नेपालमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको संजिवनी शिक्षण अस्पतालले अब सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।
अस्पतालले सम्पूर्ण आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी आगामी एक साताभित्र एम्बुलेन्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार बिरामीलाई समयमै, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आधुनिक प्रविधियुक्त एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको हो।
उनले अस्पतालले स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी र सहज बनाउन एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको बताए । ‘गम्भीर अवस्थाका बिरामीलाई सुरक्षित रूपमा अस्पतालसम्म ल्याउन यो सेवा प्रभावकारी हुनेछ’, प्रमुख कार्यकारी अधिकृत रोकाले भने । उनका अनुसार एम्बुलेन्स सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ र अबको एक साताभित्र सेवा औपचारिक रूपमा सुरु हुनेछ।
अस्पतालले सञ्चालन गर्न लागेको एम्बुलेन्समा बिरामीको प्रारम्भिक उपचारका लागि आवश्यक अत्याधुनिक स्वास्थ्य उपकरण, अक्सिजन प्रणाली, स्ट्रेचर, आपतकालीन औषधि तथा अन्य जीवनरक्षक सामग्रीको व्यवस्था गरिनेछ। दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा बिरामीलाई सुरक्षित र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने गरी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ।
संजीवनी शिक्षण अस्पतालले पछिल्लो समय अत्याधुनिक स्वास्थ्य प्रविधि तथा विशेषज्ञ चिकित्सकीय सेवाको विस्तार गर्दै आएको छ। न्यूरोसर्जरी, जनरल सर्जरी, स्त्री तथा प्रसूति, बालरोग, हाडजोर्नी, मुटुरोग उपचारलगायत विभिन्न विशेषज्ञ सेवासँगै आधुनिक उपकरण र दक्ष जनशक्तिमार्फत अस्पतालले सेवा प्रवाह गरिरहेको छ। एम्बुलेन्स सेवा सञ्चालनसँगै दुर्घटना, आकस्मिक बिरामी, गम्भीर स्वास्थ्य समस्या भएका बिरामी तथा सुत्केरी महिलालाई समयमै अस्पतालसम्म पुर्याउन सहज हुने विश्वास अस्पताल प्रशासनले लिएको छ।