शारीरिक अपाङ्ग देव, सिपले भविष्य कोर्दै

लीलाधर वली
दाङ, ८ साउन । अधिकांश युवा भविष्यको खोजीमा सहरसँगै विदेश पस्ने सोचमा हुन्छन् तर देउखुरीको राप्ती गाउँपालिका–२ बराखुटी निवासी १८ वर्षीय देव परिवार भने गाउँमै बसेर आफ्नो भविष्य कोर्ने बाटो रोजेका छन् । देवका जन्मदेखि नै दुवै हातका औँला छैनन् । कुहिनादेखि तल आधा मात्र हात भए पनि उनले आफ्नो आत्मविश्वास कहिल्यै मर्न दिएका छैनन् । दैनिक जीवनका सामान्य कामसमेत चुनौतीपूर्ण हुने अवस्थामा देवले हार मानेनन् । बरू त्यही चुनौतीलाई अवसरमा बदल्दै गाउँमै ‘देव बार्बर’ सैलुन सञ्चालन गरेका छन् । अहिले उनी आफ्नै सिपबाट आम्दानी गर्न सुरु गरेको बताउँछन् ।

देवले कपाल काट्ने कुनै औपचारिक तालिम लिएका छैनन् । गाउँमा अरूले कपाल काटेको हेर्दै र मोबाइलमा कपाल काटेका भिडियो हेर्दै सिकेको बताउँछन् । सुरुआतमा सामान्य अभ्यास गरे पनि अहिले ग्राहकको चाहना अनुसार विभिन्न डिजाइनमा कपाल काट्न सक्ने भएको उनी बताउँछन् । ‘सुरु सुरुमा गाउँमा अरूले कपाल काटेको देख्थेँ, त्यही हेरेर कपाल काट्न सिकेँ’, उनी भन्छन्, ‘हातमा मोबाइल भएपछि कपाल काटेको भिडियो हेर्दै थप नयाँ नयाँ डिजाइनमा कपाल काट्न सिकेँ ।’ आफ्नो सिपलाई व्यवसायमा रूपान्तरण गर्न राप्ती गाउँपालिकाले ४० हजार रुपैयाँ सहयोग गरेको उनी बताउँछन् ।

त्यही पैसाबाट ढेब्लीसँगै कपाल काट्नका लागि चाहिने कुर्सी र ऐनालगायतका सामाग्रीको व्यवस्था गरेको बताउँछन् । गाउँपालिकाले सहयोग गरेको पैसा अपुग भएपछि आपूmले करिब पाँच हजार रुपैयाँ खर्च गरेर कपाल काट्ने मेसिन किनेको बताउँछन् । सैलुन खुलेको करिब दुई सातामै दैनिक पाँच÷सात जना ग्राहक कपाल÷दाह्री काट्न, कपाल कलर गर्न आउने गरेको उनले बताए ।

गाउँमै सेवा दिएकाले उनले कपाल काटेको सय रुपैयाँ र दाह्री काटेको ५० रुपैयाँ लिने गरेका छन् । ग्राहकले उनको मेहनत, आत्मविश्वास र कलाको प्रशंसा गर्ने गरेको बताउँछन् । कपाल काट्दै गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राख्ने गरेका देवले सामाजिक सञ्जाल टिकटकबाट समेत राम्रो साथ र हौसला पाइरहेको बताउँछन् । ‘आपूmले गरेको कामको प्रचारप्रसारका लागि कपाल काट्न लागेको भिडियो बनाएर टिकटकमा राख्ने गरेको छु’, उनले भने, ‘भिडियोमा धेरैले कामको प्रशंसा र निरन्तरताको कामना गर्नुभएको हुन्छ, त्यो देख्दा खुसी लाग्छ ।’

राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत देवको पढेर शिक्षक बन्ने चाहना रहेको बताउँछन् । पढाइलाई निरन्तरता दिँदै भविष्यमा शिक्षक बनेर समाजसेवा गर्ने लक्ष्य रहेको भन्दै भन्छन्, ‘पढेर शिक्षक बन्ने लक्ष्य छ, पढाइसँगै केही आफ्नै काम गरौँ भनेर सैलुन सञ्चालन गरेको छँु ।’ आफ्नो कामबाट घरमा बुबाआमासँगै दाजुबहिनीलगायत स्थानीय खुसी भएको उनी बताउँछन् ।