गोरक्ष समाचारदाता
दाङ, ८ साउन । घोराही उपमहानगरपालिका–३ मा रहेको सञ्जीवनी टिचिङ हस्पिटलमा जटिल न्यूरो शल्यक्रिया (हाइड्रोसेफालस) सफलतापूर्वक सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका–३ निवासी निर्मला थापाकी तीन वर्षीया छोरी सङ्गीता थापाको हाइड्रोसेफालसको सफल शल्यक्रिया गरिएको हो ।
शल्यक्रियापछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । शल्यक्रिया बरिष्ठ न्यूरो सर्जन डा. मुसाफिर आलमको नेतृत्वमा भएको थियो । हाइड्रोसेफालस मस्तिष्कमा सेरेब्रोस्पाइनल फ्लुड नामक तरल पदार्थ अत्यधिक जम्मा हुने अवस्था हो । सामान्य भाषामा यसलाई ‘टाउकोमा बढी पानी जम्ने समस्या’ भनेर बुझ्ने गरिन्छ । यसले मस्तिष्कमा चाप बढाउँछ, जसका कारण टाउको अस्वाभाविक रूपमा ठुलो देखिने, बच्चाले टाउको धान्न नसक्ने, बस्न नसक्ने, लगातार बान्ता हुने तथा बेचैनी हुने जस्ता समस्या देखा पर्ने गर्दछन् ।
अस्पतालका अनुसार, बिरामी अस्पताल आउँदा टाउको अत्यधिक ठुलो भएको, निधार फुलेको, टाउको धान्न नसक्ने, बस्न नसक्ने, निरन्तर बान्ता हुने तथा बेचैन अवस्थामा थिइन् । शल्यक्रियापछि मस्तिष्कको चाप उल्लेखनीय रूपमा घटेको, बान्ता पूर्ण रूपमा रोकिएको तथा बच्चाको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उपत्यका बाहिर दुर्लभ मानिने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनु पश्चिम नेपालकै स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि भएको मानिएको छ । अभिभावकका अनुसार विगत दुई वर्षदेखि चिकित्सकले काठमाडौंमा लगेर शल्यक्रिया गर्न सुझाव दिएको भए पनि आर्थिक अभावका कारण उपचार सम्भव हुन सकेको थिएन । दाङमै सहुलियत दरमा यस्तो सेवा भएपछि उनीहरूले संजीवनी टिचिङ हस्पिटलप्रति आभार व्यक्त गरेका छन् ।
हस्पिटलले पश्चिम नेपालमा न्यूरो सर्जरी सेवा सञ्चालनमा ल्याएपछि यो हालसम्मकै सबैभन्दा जटिल शल्यक्रिया भएको जनाएको छ । डा. मुसाफिर आलमको आगमनसँगै अस्पतालमा दैनिक न्यूरो ओपिडी सेवा तथा २४सै घण्टा आपतकालीन न्यूरो सर्जरी सेवा सञ्चालनमा आएको छ । अस्पतालमा न्यूरो सर्जरीपछि आवश्यक पर्ने न्यूरो सर्जरी आइसियु, आधुनिक मोडुलर अप्रेसन थिएटर), ब्लड बैंक तथा आवश्यक उपकरण उपलब्ध रहेको अस्पतालले जनाएको छ । यससँगै साविक राप्ती तथा लुम्बिनी प्रदेशका न्यूरोसम्बन्धी बिरामीहरूले अब आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार सेवा पाउने अपेक्षा गरिएको छ ।