कोइलावास भन्सार कार्यालय : दुई करोड चार लाख बढी राजस्व सङ्कलन

अमरराज आचार्य

दाङ, ८ साउन । कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । दाङको एक मात्र भन्सार नाका कोइलावास भन्सार कार्यालयले लक्ष्यभन्दा १७ दशमलव ४१ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।

भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ मा एक करोड ७४ लाख ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा दुई करोड चार लाख ७१ हजार सात सय ६७ रुपैयाँ राजस्व सङ्कलन गरेको कोइलावास भन्सार कार्यालय प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । कार्यालयले साउनमा १३ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा नौ लाख ९० हजार नौ सय ७४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । जुन लक्ष्यको ७२ दशमलव ९७ प्रतिशत हो । भदौमा १४ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा छ लाख ६८ हजार छ सय ४९ रुपैयाँ सङ्कलन भएको थियो । जुन लक्ष्यको ४४ दशमलव ६४ प्रतिशत हो । असोजमा १४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा आठ लाख चार हजार पाँच सय ५१ रुपैयाँ सङ्कलन भएको थियो । जुन ५६ दशमलव ७८ प्रतिशत हो ।

यसैगरी कात्तिकमा १५ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा नौ लाख ६३ हजार आठ सय ३० रुपैयाँ सङ्कलन भएको थियो । जुन लक्ष्यको ६४ दशमलव २१ प्रतिशत हो । मङ्सिरमा १३ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा आठ लाख ८६ हजार दुई सय ९५ रुपैयाँ सङ्कलन भएको थियो । जुन लक्ष्यको ६४ दशमलव शून्य आठ प्रतिशत हो । पुस महिनामा १३ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा ३३ लाख नौ हजार ६३ रुपैयाँ सङ्कलन भएको थियो ।

जुन लक्ष्यको दुई सय ४६ दशमलव ९५ प्रतिशत हो । पुस महिनामा लक्ष्यभन्दा १९ लाख ६९ हजार ६३ रुपैया बढी राजस्व सङ्कलन भएको थियो । पुसमा भारतीय पर्यटक नेपाल बढी भित्रिएकाले राजस्व सङ्कलन बढी भएको भन्सार कार्यालयले जनाएको छ । यसैगरी माघामा १३ लाख ४४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा १३ लाख ५५ हजार पाँच सय ४३ रुपैयाँ सङ्कलन भएको थियो । जुन लक्ष्यको एक सय दशमलव ८६ प्रतिशत हो । यसैगरी फागुनमा १४ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा १० लाख १९ हजार सात सय दुई रुपैयाँ सङ्कलन भएको थियो । जुन लक्ष्यको ७० दशमलव ९१ प्रतिशत हो । चैतमा १४ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा ११ लाख १२ हजार तीन सय ९३ रुपैया सङ्कलन भएको थियो । जुन लक्ष्यका ७६ दशमलव शून्य ३६ प्रतिशत हो ।

यसैगरी वैशाखमा १५ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा १२ लाख ३९ हजार पाँच सय ५५ रुपैयाँ सङ्कलन भएको थियो । जुन लक्ष्यको ८१ दशमलव ८२ प्रतिशत हो । जेठमा १६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा ३४ लाख २७ हजार दुई सय २२ रुपैयाँ सङ्कलन भएको थियो । जुन लक्ष्यको दुई सय छ दशमलव ४६ प्रतिशत हो । असारमा १५ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा १७ लाख ४९ हजार चार सय १२ रुपैया सङ्कलन भएको थियो । जुन लक्ष्यको एक सय १५ दशमलव १७ प्रतिशत हो ।

कार्यालयले मुद्दा धरौटी सदस्याहाबाट २६ लाख नौ हजार तीन सय ६७ रुपैयाँ र अन्यबाट दुई लाख ४६ हजार दुई सय ११ रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख विष्टले जानकारी दिए । उनका अनुसार नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवागमन कम हुँदा राजस्व सङ्कलनमा प्रभाव पार्ने गरेको छ । भारत प्रवेश गर्दा कडाइ गरेका कारण नेपालबाट आवागमन गर्नेको सङ्ख्या घट्दै गएको छ । कोइलावास भन्सार नाका भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र जस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको भनाइ छ ।

‘कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो’, कार्यालय प्रमुख विष्टले भने, ‘सामान ल्याउने थोरै मात्र छन्, नजिकै रहेका नागरिकले मात्र सामान ल्याउने गरेका छन्, व्यापारीले यहाँबाट सामान पैठारी गर्दैनन् ।’ यो नाकामा भारतीय सवारीसाधनबाट उठ्ने रकम नै राजस्वको प्रमुख स्रोत भएको प्रमुख विष्टले बताए । भारतबाट नेपाल आउने गाडीबाट प्रतिदिनको छ सय रुपैयाँ र मोटरसाइकलबाट प्रतिदिनको दुई सय रुपैयाँ अस्थायी सवारी पैठारी शुल्क लिने गरेको प्रमुख विष्टले बताए ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायतका अन्य सामग्रीबाट राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलाबास क्षेत्रसँगै कोइलाबासमा रहेको रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा घुमफिरका लागि आउने भारतीय नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट राजस्व बढी सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ । अन्य सामग्रीको तुलनामा घुमफिरका लागि आउने पर्यटकले प्रयोग गर्ने सवारीसाधनबाट राजस्व बढी सङ्कलन हुने गरेको कार्यालय प्रमुख विष्टले बताए । ‘व्यावसायिक रूपमा नाका चल्न सकेको छैन, त्यसैले अन्य सामग्री पैठारीबाट राजस्व कम उठ्छ’, प्रमुख विष्टले भने, ‘कोइलावास भन्सारबाट उठ्ने राजस्वको स्रोत भनेको सवारीसाधनबाट उठ्ने रकम नै हो ।’

कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलावास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने प्रमुख नाका बनेको तथ्याङ्कले देखाएको छ । व्यापार व्यवसायका लागि सामान आयात र निर्यात गर्ने भन्दा भारतीय नागरिक नेपाल भित्रिने र नेपाली भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको छ । दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलाबास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाकाका रूपमा कोइलावास भए पनि यो नाकाबाट व्यापारीले सामान पैठारी गर्दैनन् । सहज सडकसञ्जाल भए पनि सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन । निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन । हरेक निर्वाचनको समयमा यस नाकाको विकास गर्ने सबै राजनीतिक दलका नेतृत्वले बताए पनि यसको कार्यान्वयन भने हुन सकेको छैन ।