राजनीतिमा इमानदारी हरायो किन ?

भुपेन्द्र सुवेदी

आजको अवस्था बरसातको झरी, बाढी, पहिरो, डुबान र कृषिभूमिको क्षयीकरणका साथसाथै स्थानीय नागरिकको बसाइमा पर्न आउने विपद् व्यवस्थापन देशैभरी कसरी भइरहेको होला ? यो समस्या हाम्रा लागि नौलो हुँदै होइन । नौला नेता, आजको नेपाल सरकारको व्यवस्थापन हो । व्यवस्थापनले के नागरिकलाई माथि उल्लिखित विषयमा सही, सत्य, तथ्य विवरण अनुसारको काम भएको छ वा हुनेछ भन्नेमा आम नागरिक विश्वस्त छन् त देशैभरी ? कतै कहानी उही २०७२ को भूकम्पपीडितको कथा–व्यथा अझै सुल्झिएको छैन, कतै उस्तै त हुने होइन ?

महाभूकम्पले पु¥याएको क्षतिप्रति नेपालभित्र रहेका नेपालीहरु मात्र नभई विश्वभरी रहेका नेपाली र नेपालीलाई माया गर्ने अन्तर्राष्ट्रिय समुदायलाई समेत मर्माहत पारेको अवस्थामा, देशबाहिर बसेका नेपालीहरुले सिङ्गो नेपाललाई सहयोग गर्न जुरमुराएको अवस्थामा हाम्रा तत्कालीन हुतिहारा सभासद्को नियत र इमानदारीको पराकाष्ठा यस्तो देखिएको थियो ।

संसद भवनको प्राङ्गणमा टेलिभिजनले देखाएको, आफैं सभासद्ले त्रिपाल बोकेर तानातान र लुकामारी गरेको दृश्य कान्तिपुर टेलिभिजनमा देखियो । त्यो दृश्य देख्दा जोकोही नेपाली जनतामा निराशा लाग्ने व्यवहार देखियो, किन ? हुन त ती सभासद् पनि अन्य जनता जस्तै मानव प्राणी नै हुन् र उनीहरु पनि त्रिपालबिना खुला आकाशमा बस्नै पर्ने मध्येका पनि कोही हुन सक्लान्, र उनीहरुको पनि बाँच्न पाउने नैसर्गिक अधिकार रहेको छ ।

तर जनताको प्रतिनिधि भएर तिनै जनताबाट निर्वाचित गराएर सभासद्को कुर्सीमा पु¥याएका यी हुतिहाराहरुले कति छिटो भुलेछन् ? उनीहरुको दिमागमा गिदी भएको भए आफूहरु पानीमा भिजेर भए पनि त्यो काखीमुनि च्यापेको त्रिपाल पहिला ती पीडित जनताको हातमा पार्नु पर्नेमा, हतार–हतार केही लाजै नमानी त्रिपाल आफैं बोकेर हिँड्नु कहाँसम्मको गद्दारीपन होला ? नेता भएर पनि सामान्य जनताको जति पनि सोच किन गरेनन् ? साधारण नागरिकलाई पनि नपच्ने क्रियाकलाप देख्दा कसैको चित्त बुझेको थिएन । साथै अझ पत्रपत्रिकामा समेत संसद बैठकबाटै सभासद्लाई त्रिपाल वितरण गर्ने निर्णयले त अझ संविधान सभाका सभामुखप्रति नै सारा नेपाली नागरिक स्तब्ध हुनपुगेको अवस्था थियो ।

भूकम्पपीडित दुर्गम गाउँका घरबारविहीन हुनपुगेका जनताहरुले पाल पर्खिँदा–पर्खिँदा नपाएर राहतमा आएको एक प्याकेट चाउचाउ खाएर रित्तो हात फर्केको दृश्य त ती सभासद् महाशयहरुको आँखा अगाडि रुँदै–कराउँदै गरेको आवाज सुनेको र देखेकै छन्, तापनि अझ सभासद्को आँखाले र उनको मनले खाली आफैं मात्र पीडित भएको देख्ने सभासद्को आस र भर कसरी गर्ने ? आफ्नो राष्ट्र र जनताप्रति प्रतिबद्धता र इमानदारी रहनेछु भन्दै शपथ खाएका सभासद्को के राज्यको तर्फबाट पाउने आपत्कालीन सहयोग पहिला आफैंहरुले कुम्ल्याउने ? र यस प्रकारको घटिया व्यवहारप्रति नेपाली जनता मात्र होइन, भूकम्पपीडित नागरिकको सहयोगमा आएका ती दातृ निकायले त्यो त्रिपाल आफैं सभासद्ले बोकेको निश्चित रुपमा देखिसके ।

उनको मनले के सोच्यो होला ? हाम्रा हुतिहारा सभासद्लाई अब उनीहरुले विश्वास मान्नेवाला थिएनन् तर अबको नयाँ सरकारको सोच र विचार, आउने वर्षाको समयमा जनतालाई पु¥याउनु पर्ने सेवा र सुविधाको तयारी कस्तो छ ? आजको अवस्थाको सरकार जनताले निर्वाचित गरेर पठाएका सांसद मात्र नभई पार्टीको मोर्चा गठन गरी बाहिरबाट ल्याएका सांसदको सरकारले के–के सुविधा देला र नागरिकले ढुक्क भएर यो बरसात काट्लान् ?

तत्कालीन तिनै सभासद्को क्रियाकलापका कारण उनीहरुले आफू र आफ्नो देशबाट ल्याएको राहत नेपाली जनतालाई आफैं वितरण गर्न चाहेका थिए, तर हाम्रा तत्कालीन अन्धा सभासद्हरुले बुझेनन् ? यो व्यवहार देखेर नेपाली जनता निराश हुनु स्वाभाविक होला तर संसारभरी रहेका विश्वका नागरिकले नेपालीहरुमा त्यस्तो विपत्ति परेको अकल्पनीय घटना घटेको देखेर आफूहरु खुलेर सहयोग गरेको र राहत देश–विदेशबाट प्राप्त भएको सभासद्को आँखाले देख्दा देख्दै, त्यो जिम्मेवारी सभासद्को पदमा पु¥याउने आफ्नै जनताको दुर्दशा देख्दादेख्दै आफैंले त्रिपाल बोकेर हिँड्ने तत्कालीन सभासद्हरुप्रतिको अविश्वासको प्रतिफल आजको रास्वपा जन्मिएको हो ? अझ विश्वबाट आएको विदेशी डलर एमसीसी, एसपीपीबाट प्राप्त हुने डलर देखेर कतिबेला हात पार्ने हो भन्ने सपना देखिरहेका तत्कालीन गठबन्धनको सरकारप्रतिको घृणाको नजरले आजभोलि भुलेका छैनन् ।

जब नेपालमा सुशासनको प्रत्याभूतिको पालना हुँदैन, तबसम्म नेपालको विकास र निकासले बाटो पाउने छैन । खाली अन्तर्राष्ट्रिय समुदायको सहयोगले मात्र यो नेपालको सङ्कटग्रस्त अवस्थाको बर्सेनि आइ पर्ने विपद् व्यवस्थापन र भूकम्पपीडित क्षेत्र त के, सिङ्गो नेपाल अलपत्र पर्ने र पार्ने बढी सम्भावना छ । नेपालको नयाँ राजनीतिक व्यवस्थापन कसरी अघि बढ्ने हो ? उही गठबन्धनको सरकारले लतारेको दोरी तानेर फेरि उही अवस्थामा पुग्ने हो वा अरु केही विकल्प छ ? नयाँ भनेपछि नयाँ हुनुपर्छ सबै व्यवस्थापनको पाटो ।

यति पनि गर्न सकिएन भने लोकतन्त्रलाई संस्थागत गर्न असम्भव हुनेछ र अब नेपालका नेताले आफ्ना संकीर्ण र दलीय अडानलाई परित्याग गरी सम्पूर्ण शक्ति राष्ट्रको हितमा लगाउने अवसर पनि यही हो । सिङ्गो राष्ट्रको विपद्लाई अघि सारेर राष्ट्रको सम्पदा, सांस्कृतिक, धार्मिक तथा आर्थिक पक्ष सबै एक भएर सङ्घीय, प्रदेश, स्थानीय सरकारले आ–आफ्नो स्थानमा सुधारका कार्यहरुको उचित व्यवस्थापन बढाउनु पर्ने छ । जस्तैः आज बालेन, हर्कको कामलाई नागरिकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेता यस्तो हुनुपर्छ, विकास र निकासको अवसर चुकाउनु हुँदैन । यो सङ्कटको अवस्थामा राजनीतिज्ञले जनताका सामु आ–आफ्नो प्रतिबद्धता व्यक्त गर्दै सहयोगी हातहरु खुला दिलले सहयोग गर्नुपर्ने बेलामा खाँदै गरेको चियाको कप छाडेर एउटा त्रिपालपछि कुद्ने यो प्रदर्शन गर्दा सारा नेपालीको मनमस्तिष्क स्तब्ध बनाएको थियो, अब त्यस्तो नहोस् ।

सुनिएअनुसार, यहाँ काठमाडौंमा जति सभासद्ले घर बनाएका छन्, ती घर नयाँ तरिकाबाट भूकम्परहित निर्माण भएका छन् । कुनै पनि नयाँ सभासद्को घर क्षति भएको र बस्न नहुने कसैको पनि छैन । फेरि पहिलो प्राथमिकतामा उनीहरुलाई नै त्रिपाल चाहियो त ? कस्तो चित्तका नेपाली जनताका नेता ? के यिनीहरुको आस गर्नु र ‘राति घामले पोल्यो’ भन्नु बराबर भएन र ? यो अन्तर्राष्ट्रिय जगतका सहयोगीदाताको सामु हाम्रा नेपाली नेताको इज्जत माटोमै मिलेसरह भएन र ? देश, राष्ट्र, नागरिक, राष्ट्रिय सम्पदाको खिल्ली उडाउनेप्रति कसको के भरोसा लिने ? ‘जसै प¥यो राति, तब बुद्धि ताती’ भन्ने उखानजस्तै, जुन बेला विपद्मा परी थिचिएको अवस्थाको मूल्याङ्कन त्यहाँका नागरिकलाई थाहा हुन्छ ।

समय सान्दर्भिक नमिलेको विषय पत्रपत्रिका र सञ्चारमाध्यमका अनुसार राष्ट्रिय सरकारको हवाला किन त ? सक्षमतातर्फका लागि हो भने त्यो नेतृत्व अब युवाशक्तिमा निहित रहेको सरकारप्रति पहुँच हुन जरुरी छ । किनभने सङ्कटले अत्तालिएको अवस्थामा बुढापाकाले कष्टकर कार्य गर्न नसकिरहेको अवस्था देखियो र सरकारी अकर्मण्यता र विपद् व्यवस्थापनमा विभिन्न निकायबिच नीतिगत समन्वयको अभावले गर्दा नेतृत्वदायी राजनीतिक दलका नेता र सभासद् जनताबाट आफ्नै शीर्षस्थ नेता आलोचितको भुमरीमा परिसकेका छन्, किन ?

यो समयमा सरकारको असफलता हेर्न चाहनेले पछाडिबाट कुच्चीकाठको सङ्केत र बाहिरबाट तमासे भएको अवस्था पनि छ । यो समयको ख्याल सरकारमा रहेका पक्षधर र विपक्षको पनि यो अवस्थाको चुनौतीको सामना गर्नु राजनीतिक दल सबैको महान् कर्तव्य रहनेछ । आज भारतले नेपालप्रति देखाएको हेपाहा प्रवृत्तिलाई अब नेपाल सरकारले राम्रोसँग विचार गरोस् र विदेशसमेतले स्वीकारेको ग्रेटर नेपालको नक्साले साकार पाओस् र सफल होस् ।