विपीको मेलमिलापको नीति र कांग्रेसको प्रवृत्ति

भुवन पोख्रेल

विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री आन्दोलनका सर्वोच्च नेता र नेपाली कांग्रेसका प्रमुख संस्थापक हुन् । उनी नेपाली राणाशासन विरोधी आन्दोलनको नेतृत्वकर्ता हुन् । यस्ता महान राजनीतिक योद्धाको जन्म वि.सं.१०७१ भाद्र २४ मा भारतको बनारसमा पिता कृष्णप्रसाद कोराला र माता दिव्यादेवीको कोखबाट भएको थियो । वि.सं. २०३९ साउन ६ गते उनको देहवेसान भयो । राजनीति क्षेत्रमा मात्र नभई नेपाली साहित्य आकाशमा पनि विश्वेश्वरप्रसाद कोइराला एक चम्किला तारा बनेका छन् । नेपाली भाषा साहित्यमा उनले मनोवैज्ञानिक कथाहरुको नयाँ प्रयोग गरेका थिए ।

कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाको समयको चर्चित राजनीतिक परिवार हो । यस परिवारमा प्रायः सबै सदस्यहरु नेपाली कांग्रेस पार्टीसँग आवद्ध छन् । विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक जीवन यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको हो । आन्दोलन मै लागेका कारण विश्वेश्वरप्रसाद र मातृकाप्रसादलाई वि.सं. १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो । यसपछि विपीको राजनीतिक जीवनको सुरुवात भएको थियो ।

वि.सं. १९८८ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरेका थिए । त्यसपछि बनारस हिन्दु विश्वविद्यालयबाट राजनीत ितथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरेका थिए । अध्ययन पूरा गरेपछि दार्जिलिङमा बसेर कानुन व्यवसाय पनि गरेका थिए । विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजिक थिए । वि.सं. २००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । २००७ सालमा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरु गरेका थिए । सोही वर्ष राणा शासनको अन्त्य भई नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र विपी यस सरकारको गृहमन्त्री बनेका थिए ।

वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्ती र राणा शासनको पतन हुनु.मा विपी कोइरालाको महत्वपूर्ण योगदान रहेको छ । भारतमा कैद रहेका विपी कोइराला भारतीय स्वतन्त्रता आन्दोलन पछि रिहा भएका थिए । भारतमा परिवर्तन भएको देखेर विपीले नेपालमा पनि परिवर्तनको लहर ल्याउन चाहन्थे । वि.सं. २००३ सालमा उनले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए । २००६ सालमा नेपाली कांग्रेस पार्टी बनेको थियो ।

वि.सं. २०१५ सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले भारी बहुमत ल्याएपछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । उनको कार्यकाल डेढ वर्ष मात्र चल्यो । २०१७ पुष १ मा राजा महेन्द्रले ‘कु’ गरेर उनलार्य जेल पठाए । कारागार मुक्त भएपछि भारतमा निर्वासनमा रहँदा, अन्तर्राष्ट्रिय परिस्थितिका कारण नेपालको राष्ट्रियता सङ्कटमा परेको महसुस गरी उनी वि.सं. २०२३ मा मेलमिलापको नीति लिएर स्वदेश फर्किए । प्रजातन्त्र र राष्ट्रियता बचाउन राजा र प्रजातान्त्रिक शक्तिहरु मिल्नुपर्छ भन्ने उनको मूल मन्त्र थियो । आफू माथि लागेको राजद्रोहको मुद्दाको परवाह नगरी स्वदेश फर्किएर वि.सं. २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा भएको थियो । जनमत सङ्ग्रह पञ्चायती व्यवस्था कै पक्षमा भएपछि उनलाई आफ्नै निवासमा नजरबन्दमा राखिएको थियो ।

विपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला तीन दाजुभाइ, तीनवटै प्रधानमन्त्री । यो कोइराला परिवार कांग्रेस हुर्काउने बढाउने केन्द्र नै लाग्द्यथ्यो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका विपीको ४४औँ विपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी भर्खरंै मनाएको छ । नेपालको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व लिएका थिए । संस्थापक नेता विपी कोइराला, राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष मेलमिलाप दिवस मनाउने नेपाली कांग्रेस आफै भने मेलमिलाप होइन, फूटक सङ्घारमा छ । विपी जयन्ती मै विभाजनको बिउ रोप्न नेपाली कांग्रेसका असन्तुष्ट नेताहरु तयारीमा छन् ।

संस्थापन र असन्तुष्ट समूहले यही साउन ६ मा परेको विपी स्मृति दिवस अलग–अलग मनाउने तयारी गरिरहेका छन् । पार्टीका शीर्ष नेतृत्वले व्यक्तिगत स्वार्थका लागि दलको विपी चिन्तनलाई लत्याएर अघि बढ्ने प्रवृतिका कारण कांग्रेस पार्टी निरन्तर अधोगति उन्मुख हुँदै गइरहेको छ । अहिले नेपाली कांग्रेस प्रतिपक्षमा रहेको छ । नेपाली कांग्रेसभित्र साङ्गठिनिक हिसाबले असन्तोष र विद्रोहको ज्वाला नराम्रोसँग भड्किने सम्भावन देखिएको छ । एउटै पार्टीभित्र संस्थापन पक्ष र इतर पक्षको उपस्थितिले सङ्गठनलाई अराजकताको डरलाग्दो भूमरीमा धकेलिरहेको छ ।

मुलुकमा गणतान्त्रिक संविधान लागू भइसकेपछि भएको पहिलो संसदीय, प्रादेशिक र स्थानीय तीनवटा चुनावदेखि अहिले भर्खरै सम्पन्न सङ्घीय चुनावमा पार्टीले लज्जास्पद पराजय व्यहोरा समेत पार्टीका शीर्ष नेता संवेदनशील बन्न सकेको छैनन् । पार्टीभित्र देखिएका विकृति, विसंगति हटाउन कार्यकर्ताले माग गर्दा कुनै सक्रिय कदम चाल्न पार्टी पङ्क्ति तयार नहुँदा वर्तमान अवस्था सिर्जना भएको हो ।
नयाँ लोकतान्त्रिक सङ्घीय गणतन्त्रको स्थापनापछि कांग्रेसमा जुन प्रकारको साङ्गठनिक हलचल र युवाहरुके आकर्षण देखिनु पर्दथ्यो त्यो कतै देखिएन । सभापति शेरबहादुर देउवाको कार्यकालमा कांग्रेसको सैद्धान्तिक र वैचारिक स्खलन तीव्र भयो । कांग्रेस सभापतिको नाम र साख दुवै गि¥यो ।

किनभने उनको संलग्नता द्रुष्टसँग, वाइडबडीसँग कुनै ठेक्कासँग र कुनै अपराधिक पृष्ठभूमि भएका व्यापारीसँग बढ्दा पार्टी प्रतिको जनविश्वास गिर्न पुग्यो । कांग्रेसले जब–जब चुनावमा हार व्यहोर्नु पुग्थ्यो तब–तब अन्तरघात शब्दको प्रयोग गरेर उम्कन पुग्दथ्यो । पार्टीको सिद्धान्त र नागरिकको अपेक्षाभन्दा शक्ति, सत्ता र स्वार्थ समूहको झुण्डमा कांग्रेस अल्झेको हो । प्रतिशोध र निषेधको राजनीतिक संस्कारबाट कांग्रेस मुक्त हुन जरुरी छ । कांग्रेस चिरा पर्नुको कारण पार्टीभित्र शीर्ष नेता भनेर चिनिएका नेताहरुले आफूलाई विपी चिन्तनको अनुयायी ठान्छन् तर नेतृत्वमा विपीको झै मेलमिलाप, त्याग, योगदान, सैद्धान्तिक निष्ठाभन्दा धेरै टाढा व्यक्तिगत पद, प्रतिष्ठा शक्ति र स्वार्थमा अल्झेका कारण पार्टी अधोगतिमा अघि बढिरहेको छ ।

राष्ट्रिय राजनीतिको दबाबपूर्ण समयमा बलियो प्रतिपक्ष भएर उभिनु पर्ने नेपाली कांग्रेस पार्टी महिनौँदेखि आन्तरिक समस्यामा रनभुल्लमा छ । विपी कोइराला कांग्रेसको कुनै गुटको वा समूहको सम्पत्ति होइनन् । विपीको सम्झना गर्ने अधिकार सबै आम कांग्रेसजनलाई छ । इतिहासका विभिन्न कालखण्डमा फरक विचार र धारणा राख्ने समूहले पनि विपीको सम्झना गरेका छन् । कांग्रेसभित्र आज जति गुट छन्, ती सबैको साझा वैचारिक केन्द्र विपी हुन् । सबैले आफूलाई विपीको विचारको उत्तराधिकारी विपी चिन्तनलाई कत्ति पनि विचलित हुनु हुँदैन ।

यस पटकको विपी स्मृति दिवस संस्थापन पक्ष र इतर असन्तुष्ट पक्षले अलग–अलग स्थानबाट विपीलाई श्रद्धाञ्जली भन्दा पनि शक्ति सन्तुलन नाप्ने राजनीतिक मञ्च स्थापित गर्दैछन् । विपी पुत्र शंशाक कोइराला देउवा समूहसँग उभिएर आफ्ना पितालाई सम्मिरहेका छन् । यसैमा शेखर कोइरालालगायत सम्पूर्ण असन्तुष्ट समूह संलग्न छ । विपीले रोपेको कांग्रेसको विरुवा ठूलो वृक्ष भएर देश र जनतालाई शीतलता प्रदान गर्ने भन्दा पनि चिरा परेर कमजोर हुने खतरा बढेको छ । शीर्ष नेतृत्व विपीका नक्कली अनुयायी हुँदा अहिले पार्टी स्वयम् सङ्कटमा डेलिएको छ । विपीको नाम बेचेर राजनीति गर्न पल्केकाहरुले विपीको निष्ठा, त्याग, सङ्घर्ष र उनले बनाउन खोजेको नेपालको सङ्कल्प बेचिएको छ । विपीको नाम भजाएर उनका मूर्तिमा माल्याअर्पण गर्दैमा सच्चा विपीप्रतिको सम्मान हुँदैन ।

सच्चा, त्याग र समर्पणको भाव त त्यतिबेला व्यवहारिक रुपमा देखिन्थ्यो । जतिबेला सिङ्गो कांग्रेस पार्टीको दर्शन गरिब, असहाय र जीविकोपार्जनमा सङ्घर्षरत नागरिकलाई केन्द्रमा राखी सुशासन, पारदर्शीताको पक्षमा उभिन सक्नुपर्दथ्यो । अहिलेको कांग्रेसमा सत्ता, पद, शक्तिको मोह बढी देखिन्छ । जनता आक्रोशित भई वैकल्पिक शक्तिको खोजीमा भौतारिएका हुन् । कांग्रेसभित्र इमानदार नेतृत्वलाई पाखा लगाउने संस्कार हावी हुँदा विपीको सिद्धान्त र राजनीतिक संस्कृति व्यवहारमा उत्रिन नसकेको हो । अहिले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसप्रति असमति जनाउँदै इतर पक्षले समानान्तर गतिविधि अघि बढाइरहनुलाई विडम्बना ठान्नुपर्छ । परिणाम त नेपाल कांग्रेसको एउटा झण्डामुनि दुई फरक राजनीतिक लय विकास भएको स्पष्ट देखिएको छ ।

यसरी कांग्रेसभित्र शक्ति सङ्घर्ष भइरहँदा प्रजातन्त्र, नैतिकताको कुराभन्दा अहिले शक्ति र स्वार्थको लडाई वा जुँगाको लडाईले कांग्रेसलाई तिरवितर पार्दैछ । बुढा र युवा कांग्रेसबिचको प्रष्ट मतभेदबाट के देखिन्छ भने कांग्रेस किन पुस्ता हस्तान्तरण गर्न चाहँदैन त भन्ने प्रश्न उब्जिरहेको छ । विपीले बटुलेको कांग्रेसको अमूल्य पूँजीलाई कांग्रेसले सम्हालेर राख्न नसक्दा गौरवशाली इतिहास बोकेको कांग्रेस फुटको सङ्घारमा धकेलिँदै छ ।

भाद्र २३ र २४ मा नेपालमा जेन–जी विद्रोह भयो । विद्रोह पछि पुरानो पार्टी नेतृत्व असफल भएको भन्दै पार्टी महामन्त्री रहेका गगन थापाले विशेष महाधिवेशनको हस्ताक्षर अभियान चलाए । एक समूहलाई लिएर उनले विशेष महाधिवेशन सम्पन्न गराए । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो । गगन थापाको नेतृत्वको कांग्रेस फागुन २१ को निर्वाचनमा होमियो । थापाको आफ्नै हस्ताक्षरमा नयाँ पुराना सबै नेतालाई टिकट बाडे तर विशेष महाधिवेशनबाट निर्वाचित सभापति सहित पार्टीका कुनै पदाधिकारीले चुनाव जितेनन् । पार्टीले ठूलो पराजय भोग्नु प¥यो । कांग्रेस ३८ सिटमा खुम्चियो । हारको आरोप गगनलाई लगाइयो । गगनले पनि नैतिकताको कसीमा आफूलाई उभ्याएर पार्टी नेतृत्वबाट राजिनामा दिएको, घोषणा गर्दै पराजयको जिम्मा लिए ।

केन्द्रीय समितिले अनुमोदन नगर्दा उनको राजिनामा स्वीकृत भएन उनी पुनः पार्टी सभापतिको कुर्सीमा फर्किए । पार्टीको हारपक्ष के हो भनेर गम्भीर समीक्षा र मूल्याङ्कन गरी असन्तुष्ट इतर पक्षलाई सल्लाहकार र अभिभावकीय भूमिकामा राखेर पार्टीलाई एकताको सुत्रमा बाँध्ने प्रभावकारी कदम गगन थापा पक्षले चाल्न ढिला भइसकेकोे छ । १५औँ नियमित महाधिवेशनबाट कसले नेतृत्व स्थापित गर्ने भन्ने रस्सकाकस्सी नेपाली कांग्रेसभित्र चलिरहेको छ । इतरपक्षको गम्भीर आरोप के छ भने विशेष महाधिवेशनबाट स्थापित युवा नेतृत्वले विपीलाई सम्झदैनन् । विपीको इतिहास अहिलेका कांग्रेसका युवाहरुलाई थाहा छैन । बरु इतरपक्षका नेताहरुले कुन परिवेशमा विपीले के गरे हामी विपीको सिद्धान्तका अनुयायी हौ भन्ने दाबी छ ।

अर्थतन्त्रको सुस्तता, सुकुम्बासी समस्या, युवाको आत्मदाह प्रकरण, सरकारका विवादस्पद क्रियाकलापलगायत राष्ट्रिय ऐजेण्डामा कांग्रेस प्रभावकारी प्रतिपक्षको भूमिक निर्वाह गर्न असफल देखिन्छ । बरु साना दलका सांसदहरुदे जनताको आवाजलाई संसदमा बुलन्द गरिहेका छन् । राष्ट्रिय मुद्दामा ओझेल पर्ने र आन्तरिक शक्ति सङ्घर्षमा अल्झिने कांग्रेसको ढुलुमुले चरित्रको कारण गम्भीर पराजयको सिकार बन्नु परेको हो । कांग्रेस आन्तरिक शक्ति सङ्घर्ष मै अल्झिँदा जनहितका राष्ट्रिय मुद्दामा कांग्रेस झन–झन कमजोर बनिरहेको छ ।

लोकतन्त्रका आधारभूत सिद्धान्तहरु जनताको स्वतन्त्रता, सार्वभौम सर्वोच्चता, राष्ट्रियता, मानव अधिकार, आवधिक निर्वाचन, संसदीय प्रणाली, कानुनी शासन, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता धार्मिक स्वतन्त्रता, भयमुक्त समा र सामाजिक न्यायतर्फको कांग्रेसपूर्ण प्रतिबद्ध हुनुपर्छ । समाजवादी अर्थव्यवस्था स्थापना गर्न कांग्रेस प्रतिबद्ध हुनुपर्छ, नेपाली कांग्रेसको जगमा किसान, मजदुर, शोषित, पीडित, विभेदमा परेको वर्ग नै मूल आधार रहेको यथार्थलाई भुल्नु हुँदैन । मध्यम वर्गीय परिवार, उद्योगपति, पूँजीपति सचेतको मात्र नभई विपन्न, विभेदमा परेको सिमान्तकृत वर्गको उत्थान, आर्थिक न्याय र लोकतन्त्रको सुदृढीकरणको भार नेपाली कांग्रेसले दरिलो काँध थापेर बहन गर्नु पर्नेमा पार्टी पङ्क्ति एकजुट भएर अघि बढ्नुपर्छ ।