गोरक्ष समाचारदाता
दाङ, ६ साउन । ४४औँ विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस दाङले ‘जरा अभियान’को समापनसँगै वृक्षारोपण गरेर मनाएको छ । कांग्रेस दाङले घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडास्थित सिर्जनशील आधारभूत विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेर ४४औँ विपी स्मृति दिवस मनाएको हो ।
नेपाली कांग्रेस दाङका कार्यवाहक सभापति गिरिराज सुवेदीको सभापतित्व एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लीला नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले विपी कोइरालाको मेलमिलाप, लोकतन्त्र र संगठन सुदृढीकरणको विचारलाई आत्मसात गर्दै व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर पार्टी संगठन निर्माणमा जुट्न नेताहरूलाई आग्रह गरेका थिए । उनीहरूले पार्टीभित्र पछिल्लो समय देखिएको मतभेद र गुटगत प्रभावलाई अन्त्य गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनलाई बलियो बनाउनुतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लीला नेपालीले विपीको विचार र सिद्धान्तलाई आत्मसात गर्दै संगठनलाई मजबुत बनाउन नेता तथा कार्यकर्ता लाग्नु पर्ने बताइन् । पार्टीलाई एकढिका बनाउन पार्टी नेतृत्व लागेको भन्दै उनले पार्टीभित्र देखिएका असन्तुष्टिलाई संवादमार्फत् समाधान गर्दै कांग्रेसलाई विभाजनतर्फ जान नदिने गरी नेतृत्वबाट प्रयास भइरहेको बताइन् ।
कार्यक्रममा केन्द्रीय वक्ता तथा जरा अभियानका प्रतिनिधि शङ्कर तिवारीले कांग्रेस रचनात्मक प्रतिपक्षका रूपमा सरकारका कमजोरीविरुद्ध निरन्तर आवाज उठाइरहेको बताए । उनले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र संविधानको रक्षामा कांग्रेस दृढ रहेको उल्लेख गर्दै आवश्यक परे सत्याग्रहसम्मको आन्दोलन गर्न सक्ने क्षमताको विकास गरिरहेको बताए । ‘कांग्रेस रचनात्मक प्रतिपक्षका लागि सशक्त रूपमा आवाज उठाउँदै आएको छ, विरोधको नाममा विरोध गर्ने पक्षमा छैन’, उनले भने, ‘नागरिक अधिकार कुण्ठित गर्दै अहिलेको संविधान र व्यवस्थामा मास्ने गरी सरकार अघि बढे कांग्रेसले सत्याग्रह गर्ने छ, त्यो बेला सरकार ढल्ने छ ।’
समय, प्रविधि र परिस्थितिलाई बुझेको वर्तमान नेतृत्व भएको भन्दै उनले पार्टी नेतृत्वले कांग्रेसलाई विभाजन हुन नदिने बताए । जेन–जी आन्दोलनलाई हेर्ने दृष्टिकोण वर्तमान सभापति गगन थापा र निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाबिच समान दृष्टिकोण रहेको भन्दै केन्द्रीय वक्ता तिवारीले कसैले पार्टीलाई दुई वटा बनाउने गरी लाग्न नहुने बताए । उनले मानव अस्तित्वसँग जोडिएको पर्यावरण संरक्षणका लागि कांग्रेसले विपी स्मृति दिवसका अवसरमा प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य अनिता देवकोटाले पार्टी संगठनलाई बलियो बनाउने गरी संगठन निर्माणमा नेतृत्वले ध्यान दिनु पर्ने बताइन् । पार्टीभित्र देखिएको वर्तमान समस्यालाई बौद्धिक रूपमा विश्लेषण गर्दै समाधानका लागि नेतृत्वले उपाय खोज्नु पर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले पार्टी भित्रका असन्तुष्टिलाई सम्बोधन गर्दै एकताबद्ध पार्टी निर्माण गर्नु आजको प्रमुख दायित्व भएको बताए ।
उनले वीपी कोइरालाको आदर्शलाई अनुशरण गर्दै जनतालाई लोकतन्त्रको लाभ दिन सक्ने कांग्रेस सशक्त हुनु पर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले कांग्रेसले सरकारको विरोध गर्न नसकेको बताएका थिए । कांग्रेस इतिहासमै अहिले कमजोर अवस्थामा रहेको उल्लेख गर्दै पूर्व सभापति गौतमले सरकारले करका नाममा जनतामाथि महँगी थप्नेदेखि खेतीको समयमा किसानलाई मल उपलब्ध गराउन नसकेर किसान समस्यामा पर्दा पनि कांग्रेसले जनताको पक्षमा बोल्न नसककेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीले कांग्रेसलाई विभाजनबाट जोगाउँदै संगठित बनाएर आगमाी निर्वाचनमा बहुमत ल्याउने गरी संगठन निर्माण लाग्नु पर्ने बताए । कांग्रेस विभाजनको असर विगतमा भोगिसकेको भन्दै नेता डाँगीले कांग्रेसलाई विभाजनमा जान नदिन वर्तमान नेतृत्वले पहल गर्नु पर्ने बताएका थिए । नेता डाँगीले समय र परिस्थितिलाई बुझ्दै युवालाई अवसर र अग्रजलाई सम्मान पार्टीमा आवश्यक रहेको भन्दै त्यसमा सबैले ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्ने अन्य नेताहरूले पार्टी संगठनलाई जनतासँग जोड्नु पर्ने, पार्टीमा युवा, महिला, दलित, जनजातिलाई अवसरसँगै अग्रजलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नु पर्नेमा जोड दिएका थिए । उनीहरूले नेतालाई व्यक्तिगत पद र स्वार्थभन्दा जनता, पार्टी र देशको परिस्थितिलाई हेरेर एकजुट हुन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानका केसी, महाधिवेशन प्रतिनिधि बिमला योगी, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, महाधिवेशन प्रतिनिधि देवा डाँगीलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्सालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुनकुमार योगीले गरेका थिए । त्यस अवसरमा श्रीखण्ड, समी, कपुर, रिठालगायतका एक सय ५० वटा बिरुवा रोपिएको थियो ।
तुलसीपुरमा विपीको शालिक पुनःस्थापना
तुलसीपुर उपमहानगरपालिका–५ विपी चोकमा महामानव स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शालिक पुनःस्थापना गरिएको छ । ४४औँ विपी स्मृति दिवसको अवसर पारेर विपीको शालिक पुनःस्थापना गरिएको क्षेत्रीय सभापति जगतबहादुर खड्काले बताएका छन् । यद्यपि शालिक पुनःस्थापनाका बेला कुनै औपचारिक कार्यक्रम भने गरिएन । विपीलाई स्मरण गर्दै स्मृति दिवसका अवसरमा शालिक पुनःस्थापन गरिएको सभापति खड्काले बताए ।
नेपाली कांग्रेसका शुभचिन्चकहरूको आर्थिक सहयोग सङ्कलन गरी २०७६ भदौ २८ गते विपी चोकमा महामानव विपी कोइरालाको पूर्ण कदको शालिक निर्माण गरिएको थियो । सो शालिकको अनावरण तत्कालीन पूर्व प्रधानमन्त्री तथा निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए ।
गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले शालिक तोडफोड गरी हात भाँचिदिएका थिए भने चश्मा टुटफुट भएको थियो । शालिकलाई पुनः मर्मत गरी रँगरोगन गरेर स्मृति दिवसका दिन पुनःस्थापन गरिएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जनाएको छ । क्षेत्रीय समितिको अगुवाइमा कांग्रेस सक्रिय सदस्य, शुभचिन्तक तथा तुलसीपुरका सहयोगदाताबाट आर्थिक सङ्कलन गरी पूर्ण कदको शालिक पुनःस्थापन गरिएको बताइएको छ । करिब तीन लाख रुपैयाँको लागतमा शालिक मर्मत गरी पुनःस्थापन गरेको क्षेत्रीय समिति सभापति खड्काले जानकारी दिएका छन् ।