रुख रोपौं जीवन जौडौं अभियान शुभारम्भ

दाङ,६ साउन । घोराहीमा ‘रुख रोपौ, जीवन जोडौ अभियान’को सुभारम्भ गरिएको छ । पहल थिएटर र घोराही बनाऔं अभियानको संयुक्त आयोजनामा बुधवारदेखि ‘रुख रोपौं जीवन जोडौं अभियान’को घोराही उपमहानगरपालिका वडा नं. १७ आरोग्य टोलस्थित दुर्गा भगवती मन्दिरबाट शुभारम्भ गरिएको हो ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले मन्दिर परिसरमा वृक्षरोपण गरी अभियानको शुभारम्भ गरेका हुन । त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सबिन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्षद्वय के एल बुढाथोकी र डा. सुदीप गौतम, सामाजिक अभियन्ता चुडामणि पाण्डेय, स्थानीय भगिरथ बिसी, आरोग्य टोल विकास समितिका अध्यक्ष प्रेम रावत, मन्दिरका पुजारी दिवाकर लम्सालले पनि वृक्षरोपण गरेका हुन ।

अभियानअन्तर्गत मन्दिर परिसरमा अर्जुन, श्रीखण्ड, राजवृक्ष, कल्की, पारिजात लगायतका विरुवाहरु रोपिएका थिए । विशेष वृक्षरोपण कार्यक्रमका रूपमा रुख रोपौं जीवन जौडौं अभियान श्रवण महिनाभरि संचालन गरिने संयोजक केएल बुढाथोकीले जानकारी दिएका छन् । अभियानका सहसंयोजक सबिन प्रियसनका अनुसार ‘रुख रोपौं, जीवन जोडौं’’ वृक्षरोपण अभियानको मुख्य उद्देश्य वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र प्रकृतिप्रति नागरिकको उत्तरदायित्व बढाउनु, वन, जैविक विविधता तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्नु र सार्वजनिक स्थल, विद्यालय, सांस्कृतिक क्षेत्र तथा खाली जमिनलाई हरियाली युक्त बनाउनु रहेको बताएका छन् ।