गोरक्ष समाचारदाता
दाङ, ५ जेठ । कोरोनाको विश्वव्यापी महामारीसँगै भारतले लकडाउन खुकुलो गरेसँगै सयौं नेपालीहरु सीमामा अलपत्र छन् । भारतबाट नेपाल आउने नेपालीहरुलाई पनि भारत सरकारले सीमासम्म ल्याएको छ । नेपालबाट जाने भारतीय श्रमिकहरु पनि लुकिछिपी सीमासम्म पुग्ने प्रयत्नमा छन् । यो अवस्थाले कोरोनाको महामारीलाई नियन्त्रणको साटो झनै समस्या भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । दाङ जिल्लाका विभिन्न इँटा उद्योगमा काम गर्ने मजदुरहरुलाई उद्योगमा काम नभएको अवस्थामा आफ्नै बारीमा खेतीपातीका लागि घर फर्काउने नेपाल सरकारले मनस्थिति बनाएको थियो । तर यो विषयमा सरकार भने बेखवर छ । यस्तै अवस्थामा दाङ जिल्लाका विभिन्न इँटा उद्योगमा काम गर्ने श्रमिकहरुलाई घर फर्काउन भन्दै घोराहीबाट अमिलियासम्म बसमा पठाइएको थियो । तर बाँकेका प्रमुख जिल्ला अधिकारीले अहिले आवागमन खुल्ला नगरिएको भनेपछि ती बसमा सवार श्रमिकहरु विचल्लीमा छन् ।
दुबै देशबीच सहमति नहुँदा दुवैतर्फको सीमामा नेपाली र भारतीयहरु अलपत्र परेका छन् । भारत सरकारले विना स्वास्थ्य परीक्षण सयौं नेपालीहरुलाई दशगजा क्षेत्रमा धपाएको अवस्थामा पनि नेपालगञ्ज सिडिओ कार्यालयले यहाँ काम गर्ने भारतीय नागरिकहरुलाई भने दशगजासम्म पु¥याउन पनि रोकेको छ । उनीहरुलाई दाङ–बाँकेको सीमाबाट फर्काइएको छ । सरकार आफ्नै समस्यामा अल्झिरहेको अवस्थामा यी सीमामा भने धेरै तनावको अवस्था छ । नेपाल सरकार र भारत सरकार दुवैले आ–आफ्ना नागरिकहरुलाई कसरी देश भित्र्याउने भन्ने सवालमा आधिकारिक निर्णय गरेका छैनन् । ‘सरकारले आधिकारिक निर्णय गरेको अवस्था छैन’, दाङ जिल्लाका प्रमख जिल्ला अधिकारी गोविन्द रिजालले भने । तर लुकिछिपी आइहालेमा क्वारेन्टाइनमा बसालिने उनले बताए ।