
डा. सुदीप गौतम
मान्छे जन्मँदै आफ्नो पहिचान लिएर जन्मन्छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्ने सौभाग्य पाएका युग पुरुष विपी कोइरालाले आजैका दिन अर्थात् १९७१ भाद्र २४ गते यस धर्तिमा पाइला टेके ‘विद्रोही ’को पहिचानमा । उनले जन्मदा नै परम्पराप्रति एउटा विद्रोही भाव देखाए, उनी सामान्य प्रसव प्रक्रियाबाट जन्मिएनन् उनलाई विज्ञानको सहाराबाट यो धर्तिमा ल्याइयो ।
आफ्नो पहिलो विद्रोहबारे विपीले आफ्नो कथामा उल्लेख गरेका छन् ‘मैले संसारमा प्रवेश गर्दा परिवारको एउटा परम्परालाई तोडे, प्रसव कक्षमा आधुनिक चिकित्सा विज्ञानको प्रकरणलाई पु¥याए । आजकलको दृष्टिमा त्यो एउटा साधारण घटना हो, तर तिनताकाको त्यो एउटा क्रान्तिकारी कदम थियो ।’
विपी आफ्नो जन्म सिद्धान्तलाई राजनीतिमा पनि प्रयोग गरे । ‘प्रजातन्त्र पुनस्र्थापना गर्ने क्रममा शान्तिपूर्ण उपाय– सत्याग्रह, सहयोग, सम्झौता, वार्ता, पारस्परिक सहमति सबैभन्दा राम्रा उपाय हुन् । यी उपायबाट प्रजातन्त्र ल्याउनु भनेको बच्चा स्वाभाविक रुपले जन्मनु जस्तै हो ।
कतंचित् यस उपायद्वारा बच्चा जन्मिएन भने अपरेसन गरेर बच्चा जन्माइए झैं सशस्त्र क्रान्तिद्वारा प्रजातन्त्र ल्याउनु पर्छ’ प्रजातन्त्र पुनस्र्थापनाका लागि आफ्नो जीवनमा ३ पटक हतियार उठाएका ‘विद्रोही’ नेता वीपीको यो धारणा नेपालमा एक पटक सफल भयो तर दुई पटक असफल ।
हरेक नेताको एउटा आदर्श हुन्छ, राजनीतिक सिद्धान्तले प्रेरित हुन्छ । उहाँ हरदम सत्तामा पुगेर त्यही सिद्धान्त अनुरुप कार्यक्रम लागू गर्न चाहन्छन् । विपीको पनि आफ्नै मोडेल थियो । विपी मोडेलबारे धेरै पुस्तकहरु पनि प्रकाशित भएका छन् तर विपी मोडेल बुझ्न ठुलठुला ग्रन्थ पढ्नै पर्दैन, उनले योजना आयोगमा गरिब किसानको फोटो टाँग्न गरेको निर्देशन नेपालको सन्दर्भमा सर्वोत्तम राजनीतिक मोडेल हो । योजना बनाउँदै गर्दा हलो जोतिरहेको गरिब किसानको फोटो अघिल्तिर राखेर त्यसलाई हेर्दै योजना बनाइयो भने नेपालको लागि त्योभन्दा सर्वोत्तम आर्थिक मोडेल अरु के हुन सक्ला ?

वीपी कोइराला दाङ यात्रामा रहेका बेला लिइएको तस्बिर
आफ्नो ६८ वर्षीय जीवनमा ५२ वर्ष समाजको लागि खर्चेका विपी सबैभन्दा बढी नेपाल घुमेका नेता पनि थिए । कुना कन्दरासम्म पुगेर नागरिकसँग अन्तरक्रिया गर्ने र योजना बनाउने विपी शैली थियो । यही क्रममा विपी दाङमा ३ पटक आए । ती तीन पटक उनको दाङ भ्रमण सुखद रहेन । उनले कुनै न कुनै रुपमा विरोधको सामना गर्नुप¥यो तर विपीका दाङ भ्रमणले राजनीतिमा भने उथुलपुथुल ल्यायो ।
विपी सर्वप्रथम २०१० साल वैशाख ४ गते दाङ आए । २००९ साल फागुन ५ गतेदेखि दाङको भरतपुरमा अगुवा कार्यकर्ताको लागि प्रशिक्षण सञ्चालन भएको थियो । एक महिनासम्म चलेको प्रशिक्षण शिविरमा प्रशिक्षण दिन गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, तेजबहादुर प्रसाईं, किशोरीरमण राणालगायत आएका थिए । यही शिविर समापन गर्न विपी दाङ आएका हुन् ।
विपीको देउखुरी र पूर्वी दाङमा भव्य स्वागत भयो । वैशाख ४ गते विपी देउखुरीको जरुवा हुँदै कोइलावास आए, उनलाई त्यहाँबाट कप्तान नरबहादुरको जिपमा गोबरडिहा पु¥याइयो । राति गोबरडिहामा बास बसेका विपीले थारुको अवस्थाबारे निकै रुचिपूर्वक कार्यकर्तासँग परामर्श गरेका थिए ।
२०१० वैशाख ५ गते भरतपुर आएका विपीले शिविर समापनको अतिरिक्त विपीले सोही दिन सोही शिविर स्थलमा भरतपुर प.प. हाइस्कुल नयाँ भवनको पनि शिलान्यास गरे । भरतपुर हाइस्कुलको अहिलेको मुख्य भवन विपीले शिलान्यास गरेको भवन हो । विपी दाङमा ५ दिन बसे । सो क्रममा एक रात देउखुरी परशुनारायणका घर, २ रात घोराहीमा, एक रात वनकट्टा दत्रात्रयका घर र एक रात मानपुर अमरराजका घर बसेका थिए । त्यस क्रममा विपीले टरिगाउँको आम सभालाई सम्बोधन गरे ।
टरिगाउँ सल्यान फलाबाङ राज्य अन्तर्गत पथ्र्यो । राज्य उन्मूलन नभएका कारण त्यो क्षेत्र सल्यानका राजाको प्रभावमा थियो । कांग्रेसले आफ्नो प्रभाव जमाउन त्यहाँ आमसभा राख्ने गर्दथे भने झग्गु प्रसादहरु कांग्रेसको विरोध गर्दथे । विपीभन्दा पहिले आएका गणेशमानलाई पनि त्यहाँ अवरोध सिर्जना गर्न खोजिएको थियो । विपी आएको अवसर पारेरै नेपाली कांग्रेसले यस पटक पनि टरिगाउँमा वैशाख ८ गते आमसभा आयोजना ग¥यो ।
त्यो आमसभा विथोल्ने विपक्षीबाट चेतावनी आयो तर भर्खरै शिविर सम्पन्न भएकोले कांग्रेसका कार्यकर्ताहरुमा उत्साह थियो । त्यस बेलाको अवस्था स्मरण गर्दै डाँगी लेख्छन् ‘कार्यकर्तामा अपार उत्साह थियो । विपीको सुरक्षा गर्न आफूहरु समक्ष रहेका कार्यकर्ताहरुमा आँट थियो । किसानहरु त्यत्तिकै उत्साहित थिए । उनीहरुको ससुर नैकर जो आई उही सिध्याइदेवी (जो आउँछ उसलाई सिध्याइदिन्छौँ) भन्ने भनाइ थियो ।
८ गते मञ्चमा कार्यक्रम सुरु हुनासाथ एउटा जत्था हातहातमा लाठी लिएर आइरहेको देखेपछि सुरक्षार्थ तैनाथ स्वयम्सेवकहरु त्यो भीडमा जाइलागे र तितरबितर पारे । आमसभा यथावत् चल्यो । विपीको पहिलो भ्रमण दाङमा हुँदा कांग्रेस पुनर्गठनको स्थितिमा थियो । राजाले परामर्शदातृ सरकार गठन गरेका थिए । कांग्रेस प्रतिपक्षमा थियो भने भद्रकाली मिश्रको जनकांग्रेस, भरतमणीहरुको वामपन्थी कांग्रेस, मातृकाहरुको अस्थायी कांग्रेस गरी ४ टुक्रामा विभाजित थियो ।
यो अवस्थामा वामपन्थी कांग्रेसका ३ जना मध्यका एउटा हस्ती भरतमणीको जिल्ला भएकोले विपीले दाङलाई महत्व दिनु स्वाभाविकै थियो । साथै भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले देशभरी किसानमाथि अत्याचार बढेको भन्दै किसानको समस्या सङ्कलन गर्न र समाधानका उपाय प्रस्तुत गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको थियो ।
दाङको किसान समस्याप्रति विपी परिचित थिए, अघिल्लो वर्ष दाङ आएको गणेशमान सिंहको टोलीले तत्काल दाङका किसान समस्या समाधान गर्न सुझावसहित प्रतिवेदन बुझाएको थियो । साथै सोही बैठकले देशलाई ९ अञ्चलमा विभाजित गरी राप्ती पश्चिमाञ्चलको मुख्य केन्द्र दाङमा अञ्चल स्तरीय प्रशिक्षण आयोजना गरेकाले विपी दाङको कार्यक्रममा महत्वका साथ आएका थिए ।
दाङको छ दिनको बसाइको क्रममा विपीले गाउँगाउँमै पुगेर धेरै किसानसँग अन्तरक्रिया गरेर फर्किए । दाङको आमसभामा विपीले परामर्शदातृ सरकारले किसानको समस्या समाधान गर्न नसक्ने भन्दै एक महिनाभित्र परामर्शदातृ सरकार ढल्ने चेतावनी दिएका थिए ।
‘यो देशका ९९ प्रतिशत किसानको हितमा ध्यान नदिने सरकार जनविरोधी हो । जबसम्म कृषिको उत्थान र किसानको हितमा ध्यान दिइँदैन, तबसम्म देश सधैं गरिबी, अभाव र अशिक्षामा रहनेछ । यो परामर्शदातृ सरकारको न त वैधानिक आधार छ न त जनपक्षीय नै’ विपीले टरिगाउँको आमसभामा भनेका थिए । नभन्दै असार २ गते परामर्शदातृ सरकार ढल्यो । राजाले कांग्रेसबाट टुक्रिएका मातृका प्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन गरे ।
दोस्रो पटक विपी प्रधानमन्त्री हुँदा दाङ आए । राजासँग सुमधुर सम्बन्ध नभएकै बेला उनको राजासँगै पश्चिम नेपालको भ्रमण तय भयो । २०१६ साल पुस १४ गते विपी र राजा महेन्द्र देवीथानको बाटो हुँदै घोराही आइपुगे । विपीको राजासँगको भ्रमण दाङसम्म मात्र भयो । विपी १६ गते काठमाडौं फर्किए । १४ गते विपीले घोराहीमा गरेको भाषणमा ‘अब राजा र प्रजाको सम्बन्ध एक सूत्रमा बाँधिएको छ । जनताले चुनेको एक प्रधानमन्त्रीको हैसियतमा श्री ५ को सवारी चलाउँदै म पनि आएको छु ।
देशमा ठुलो परिवर्तन भइसकेको छ भन्ने कुराको यो पनि प्रमाण हो । यो भ्रमणमा सबैको ठुलो मेहनतबाट देश निर्माण होस् भन्ने कुरामा श्री ५ कति व्यग्र होइबक्सन्छ । देशको गरिबी दूर गर्न र देशलाई अघि बढाउन सबै किसिमको भेदभाव मेटाई सबैले मेहनत र इमान्दारीका साथ देशको विकासमा एकजुट भएर लागून् भन्ने कुरालाई प्रेरणा दिन श्री ५ बाट यो भ्रमण भएको हो’ ।
१५ गते देउखुरीको आम सभामा विपीले त्यहाँका बासिन्दाले जलकुण्डी बाँधको विरोधमा गरेको प्रदर्शनमा समर्थन गरे । उनले भाषणमा ‘देउखुरीलाई डुबाउने जलकुण्डी बाँध बन्न सक्दैन’ आश्वासन दिए । नभन्दै सरकारले टंकप्रसाद आचार्यको पालामा अनुमति दिइएको त्यो बाँध बनाउन रोक्ने निर्णय ग¥यो ।
वास्तवमा दाङको भाषण विपीको स्वभावअनुसार थिएन । विपी त्यहाँ आफ्नो स्वभाव अनुसारभन्दा राजालाई खुसी पार्ने कुरा बोलेको प्रस्ट देखिन्छ । भ्रमणको क्रममा विपीसँगै रहेका विपीका तत्कालीन सहयोगी कुमार आचार्य दीक्षितले आफ्नो पुस्तक ‘फाटफुट सम्झनामा’ विपी महेन्द्रसँग सम्बन्ध सुधार्न तल्लीन रहेको त्यस भ्रमणको क्रममा देखिएको उल्लेख गरेका छन् । तर, दुर्भाग्य विपीलाई गलहत्याउने कार्यको विजारोपण यही भ्रमणबाट भयो ।
यही भ्रमणको क्रममा बर्दिया पुगेका राजाले सरकारप्रति असन्तुष्टि प्रकट गर्दै देशको सार्वभौमसत्ता, राष्ट्रियता र राष्ट्र तथा जनहितको कार्यको संरक्षण गर्नु आफ्नो कर्तव्य भएको भन्दै त्यसमा बाधा आए जहिले पनि र जे गर्न पनि पछि नपर्ने चेतावनी दिए । पुस १६ गते विपी फर्किएपछि राजासँगै भ्रमणमा रहेका तुलसी गिरी यही भ्रमणबाट राजासँग नजिकिए र प्रजातन्त्र खोस्ने मुख्य मतियार बने ।
विपी २०३७ फागुन २६ मा फेरि दाङ आए । उनी यस पटक विपक्षी नेताको रुपमा जनमतसङ्ग्रहमा बहुदलको प्रचार गर्न दाङ आएका थिए । २७ गते घोराहीमा नेपाली कांग्रेसको आमसभा भयो । त्यस सभालाई नेपाली कांग्रेसका नेता विपी कोइरालाले सम्बोधन गरे र भने ‘म कराएर बोल्न सक्दिनँ । म बीस वर्षअघि तपाईं जनताले रोजेको प्रधानमन्त्री । नेपालको इतिहासमा म बाहेक निर्वाचित प्रधानमन्त्री कोही भएन ।
प्रधानमन्त्री हुँदा यहाँ आई यहाँका गरिब मान्छेसँग भेट गरेको थिएँ । उसबेला गरिबहरुले कुलो, नाली, खेती आदि दुःखका कुरा गरेका थिए । बीस वर्षपछि फेरि उही दुःखका कुरा सुने । म प्रधानमन्त्री हुँदा श्री ५ बाट सोधिबक्सँदा भनेको थिएँ १५ वर्षभित्र नेपालका गरिबभन्दा गरिबलाई मेरो परिवार जतिको साधारण घरबास, लुगा, शिक्षा आदि सुविधा दिलाउने मेरो सङकल्प छ । त्यसैअनुसार देश विदेशमा घुमे ।
योजनाकारहरुलाई मेरो सल्लाह थियो, तिम्रो योजना कोठामा एउटा गरिबको तस्बिर राख, झुपडीको चित्र राख । यो गरिब मुलुकमा गाउँगाउँमा बस्ने जनताको विकास भएमात्र देशको विकास हुन्छ । म १८ महिनासम्म मात्र प्रधानमन्त्री बन्न पाएँ । म र मेरा हजारौं साथीहरु जेलमा परे । विकासको बिरुवा मेटियो । म जेलमा परे पनि विकास त भइराखेको होला भन्ने सोचेको थिएँ ।
बाहिर आउँदा पहिलेकोभन्दा झन् खराब स्थिति भएछ । यो कुरा राजाको मुखबाट अरु अरुका मुखबाट सुने । उत्पादन घट्यो, गरिब झन् गरिब हुँदै गए । अहिले झन् यस्तो स्थिति आएको छ, हामीले नजानेमा हामी टुक्रिएर जाने स्थिति छ ।
‘म अनेक अञ्चलहरु गएँ । गरिब जनता स्नेह र आदर लिएर म कहाँ आएका छन् । बहुदलले जितेमा नेपाली कांग्रेस आउँछ । यो गरिबहरुको पार्टी हो । अरु देशको तुलनामा यहाँका धनीहरु पनि गरिब छन् । १५ वर्षमा मेरो परिवारको जस्तो आर्थिक स्थिति सामान्य जनताको हुनुपर्छ । म नेपाली कांग्रेसको प्रधानमन्त्री, हामीलाई गरिबको ध्यान छ ।’
‘विपी त्यस क्रममा ६ दिन दाङ बसेका थिए । घोराही चिन्तामणि शर्माको घरमा बसेका विपीले त्यस क्रममा देउखुरीमा पनि एउटा जनसभामा बोले भने अरु समय भेटघाटमा बित्यो । विपी दाङ रहँदा निर्दलीयवादीहरुबाट विपीको विरोधमा पम्प्लेटिङ, भित्ते लेखन र काला झण्डा प्रदर्शन गरेका थिए । तर, पनि विपीले प्रशस्त दाङ श्रोता पाएका थिए तर फरक यत्ति थियो प्रजातन्त्रको कालरात्रिले विपी र किसान बिचको सम्बन्धमा पर्खाल खडा गरेको थियो । तर विपीले २० वर्ष पहिले झैं किसानलाई सम्बोधन गर्न छाडेनन् ।
फेरि गरिब किसानलाई आफ्नो सम्बोधनले आकर्षित गरे । दाङमा बहुदलले जित्यो । २७ गतेको कार्यक्रममा विपीप्रति वक्ताको सम्बोधनले पनि एउटा तरङ्ग नै ल्याइदिएको थियो । सभामा शंकर गिरीले विपीलाई युग पुरुष, नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अन्तर्राष्ट्रिय नेता र भूपू एमपी श्री जुद्धबहादुर न्यौपानेले विपीलाई विश्व नेता भनी सम्बोधन गरेका थिए । २०३६ चैत १ गतेको एउटा पत्रिकाले त त्यस सम्बोधनको विरोधमा ‘विपी एउटा गुटको नेता कि युग पुरुष ?’ भन्ने शीर्षकमा सम्पादकीय नै लेख्यो ।