उनी सधैँ खुसीका साथ जिउने गरेका छन् । २०२२ सालमा बाघमारेमा जन्मिएका तुलसीपुर निवासी झगुप्रसाद गौतमका लागि खुसी भनेको धनसम्पत्ति वा व्यक्तिगत उपलब्धिमा मात्र होइन र त्यो मात्र सीमित छैन । गौतमले वास्तविक खुसी अरूको अनुहारमा मुस्कान ल्याउन सकेको बताउँछन् ।
वृद्ध सेवा समिति तुलसीपुरका कोषाध्यक्ष तथा राधाकृष्ण भजन समितिका संयोजकको जिम्मेवारी सम्हाल्दै उनले विगत लामो समयदेखि समाजसेवा र धर्मकर्मलाई जीवनको मुख्य उद्देश्य बनाएका छन् । तुलसीपुर स्थीत श्रीराम मिष्ठान भण्डार सञ्चालन गरेका गौतमले त्यहाँ धेरैलाई रोजगारी समेत दिएका छन् ।
उनले आफूम्ले रोजगारी दिएकाहरूको उन्नति प्रगतिमा समेत आफू रमाउने र खुसी हुने गरेको उनी बताउँछन् । पसलमा आउने होस् वा अन्य व्यक्तिहरूलाई दैनिक विभिन्न मानवीय सेवा गर्न पाउँदा आफू खुसी हुने गरेको उनी बताउँछन् ।
विशेषगरी वृद्धवृद्धाहरूलाई आफ्नै लगानीमा विभिन्न धार्मिक तथा तीर्थस्थलहरूको निःशुल्क भ्रमण गराउन पाउँदा उनले जीवनकै ठूलो आनन्द प्राप्त गर्ने गरेको बताउँछन् । पूर्णगिरी, स्वर्गद्वारी, देवघाटलगायतका पवित्र तीर्थस्थलमा वृद्धवृद्धाहरूलाई पु¥याएर उनीहरूको अनुहारमा देखिएको सन्तुष्टि र खुसी नै उनका लागि सबैभन्दा ठूलो पुरस्कार र खुसी भएको उनी बताउँछन् ।
गौतमले भने– ‘भगवद्गीतामा भनिएझैँ कर्म गर, फलको आशा नगर, मैले पनि सेवा गर्ने मात्र सोच राखेको छु, प्रतिफलको अपेक्षा गरेको छैन । भगवान्ले आफै प्रतिफल दिनुहुन्छ मेरो घरपरिवार सबैको उन्नति प्रगति भएको छ छोराछोरी नातिनातिना सबैको यो पनि मेरो लागि खुसी हो’ गौतमले भने ।
उनलाई दुःखी, गरिब तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा पनि उत्तिकै सन्तुष्टि खुसी मिल्ने गरेको बताउँछन् । समाजका कमजोर र आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग गर्नु नै मानव जीवनको सबैभन्दा ठूलो धर्म भएको उनको भनाई छ । सेवा र सहयोगले मानिसको मनमा आत्मसन्तुष्टि र शान्ति मिल्ने अनुभव उनले बारम्बार सुनाउँदै आफू पनि त्यसैमा खुसी हुने गरेको बताए ।
झगुप्रसाद गौतम आफ्नो पारिवारिक जीवनप्रति पनि निकै सन्तुष्ट र खुसी भएको बताउँछन् । घरपरिवारका सबै सदस्य आआफ्नो रोजगारी, व्यापार तथा व्यवसायमा संलग्न भई खुसीका साथ जीवन बिताइरहेको देख्दा उनलाई गर्व र आनन्द र खुसी मिल्ने गरेको बताउँछन् । परिवारको साथ, आपसी सद्भाव र सामाजिक सेवामा उनीहरूको सहयोगले उनलाई अझ प्रेरित बनाएको छ ।
तुलसीपुरमा वृद्धाश्रम स्थापना तथा सञ्चालनका क्रममा आफूले दिएको सहयोगलाई पनि उनले जीवनको महत्वपूर्ण उपलब्धि मध्ये एक मान्दै आफू खुसी भएको उनले सुनाए । आफ्ना स्वर्गीय बुवा विष्णुप्रसाद गौतमको वृद्धाश्रम बनाउने सपना पूरा गर्न पाएको क्षण उनका लागि अविस्मरणीय बनेको छ । बुवाको सोचलाई व्यवहारमा उतार्न सकेकोमा उनले विशेष खुसी व्यक्त गरे ।
हाम्रो बुवा कासिराम, लालबहादुर, भुवनेश्वर प्रेम भुवनलगायत धेरै वृद्धावृद्धाहरूले तुलसीपुरका धेरै अग्रजहरूले वृद्धाश्रमको भवन नहुँदा आपको रुखमा बसेर बैठक तथा भेला गर्नुभएको थियो तर अहिले भवन बनेको छ त्यसमा पनि मलाई खुसी लाग्छ । उनले प्रत्येक महिनाको एकादसीमा जमघट हुने कार्यक्रम हुने गरेको र रमाउने गरेको देख्दा खुसी लाग्ने गरेको उनी बताउँछन् ।
धर्म, सेवा र संस्कृतिको संरक्षणमा पनि उन निरन्तर सक्रिय रहेका छन् । राधाकृष्ण भजन समितिमार्फत् भजनकीर्तन आयोजना गर्दै धार्मिक चेतना फैलाउनुका साथै मानिसलाई सकारात्मक सोच, सदाचार र खुसीका साथ जीवन जिउने प्रेरणा दिनु उनको दैनिक अभियान बनेको छ । उनले भागवत गितामा जेछ लेखेको त्यहि अनुसार आफूले गर्ने गरेको बताउँछन् ।
गौतमले राधाकृष्ण मजन समितिले विभिन्न स्थानमा कार्यक्रम गरी जम्मा भएको रकमबाट मानवसेवाका लागि विभिन्न स्थानमा सयौँलाई सहयोग गरेको भन्दै सबैको साथ सहयोगबाट आफू रमाउन पाएकोमा पनि खुसी व्यक्त गरे । उनका विचारमा, अरूलाई खुसी बनाउन सक्नु नै आफ्नै जीवनको सबैभन्दा ठूलो खुसी हो । यही सोच र सेवाभावका कारण झगुप्रसाद गौतम समाजमा प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन् ।
त्यस्तै उनलाई श्रीमती छोराछोरीले पनि सहयोग गर्ने गरेको र पारिवारिक सहयोग पाउँदा पनि खुसी लाग्ने गरेको उनी बताउँछन् । ‘मेरो बुवाले जहिले पनि भन्नुहुथ्यो कसैको एक पैसा खानु हुन्न, मन रुवाउनु हुन्न इमान्दारी हुनुपर्छ त्यो मैले सम्झिरहन्छु र त्यही बाटोमा म लागेको छु म खुसी छु’ गौतमले भने ।
प्रस्तुति : बालाराम खड्का