आफूभित्रको सत्य जानौँ

नारायणप्रसाद श्रेष्ठ

‘आफू भलो त जगत भलो’ यो त्यसै भनिएको उखान होइन । यसभित्र गहिरो रहस्य लुकेको छ । अहिलेको समाजलाई हेर्ने हो भने यहाँ विकृति र विसंगती प्रशस्त भेटिन्छ । स्वार्थ र अहंकारले परिपोसित भावना अभिवृद्धि गर्ने विचारहरु निकै सलवलायको पाइन्छ । वास्तव यो हाम्रो आफ्नै कमजोरी र अहंकारको कारण हो ।

म को हुँ । मेरो आत्माले के भनिरहेको छ । मेरो मन र विचार कता भट्किरहेको छ । यति कुरा मात्र हामीले बुझ्न सक्यौ भने आफूभित्रको सत्य आफै प्रज्वलित्त भइरहेको पाइन्छ तर आफूले आफैलाई म पाई गराउने हो भने आफूभित्रको सत्य हामी आफैले बिगारेको पत्तै हँुदैन । तसर्थ स्वच्छ र पवित्र मनले यसको गहिराईलाई बुझेरै आचरण र व्यवहारमा शद्धता ल्याइ लुकेको क्षमता र प्रतिभालाई उजागर गर्नुपर्दछ ।

नयाँ पुस्तामा सकारात्मक सोच र चिन्तन बढाउन, समाज राष्ट्रलाई कसरी समुन्नत बनाउन सकिन्छ भन्ने धारणा प्रदर्शन गर्नुपर्दछ । अहिले मानिसको हेर्ने दृष्टि र दृष्टिकोणमा विविधता पाइन्छ । मानिस जे गर्छ त्यो सही हुन्छ भन्ने मान्यतामा आफूलाई अडिक राखेको हुन्छ तर सत्य अर्कै हुन्छ ।

उदाउँदो सूर्यको किरणले छर्ने न्यानोपनदेखि सुनौले भविष्यको निर्माण कसरी गर्न सकिन्छ भन्ने विचार मानव अन्तर आत्माभित्र रहेको सत्यमा आधारित हुन्छ । मानवले निर्वाह गर्न सक्ने अनुशासित जीवन पद्धतिभित्र समाहित भएको हुन्छ । तथा हिरातुल्य चम्किलो खजाना र दायित्व अन्तरआत्माको सत्यभित्र लुकेको हुन्छ ।

सृष्टिको उपहारभित्र देखा पर्ने दुःख सुख मान सम्मान र उमंग, लुकेको हुन्छ । जीवनलाई कसरी चलायमान वनाउने भन्ने ढुकढुकी लुकेको हुन्छ । यति मात्र होइन सामाजिक सुसंस्कृति कायम राखी आदर्श चिन्तन प्रवाह गर्न सक्ने पहिचान र क्षमता लुकेको हुन्छ । त्यसैले यो सत्यलाई आत्मसाथ गर्दै आफ्नो क्षमता र योग्यता प्रदर्शन गरी आफ्नो अस्तित्व आफैभित्र रहेको सत्यलाई पहिचान गरेर हरेक कर्म र व्यवहारमा आफूलाई परिस्कृत गर्न सक्नुपर्दछ ।

आफूभित्र नै सुख दुःख आरोह अवरोह निर्धनता र सम्पन्नता सक्षमता र असक्षमता सबै रहेको हुन्छ भन्ने बुझी आफूलाई प्रस्तुत गर्नुपर्दछ । मैले निर्वाह गर्नु पर्ने आचरण र व्यवहार के हो ? म भित्र रहेको सत्यले के भनिरहेको छ ? यस कुरालाई मनन गरी जिम्मेवारीपूर्वक आफ्ना भावना र विचारहरुलाई प्रवाह गर्नुपर्दछ । वाह्य आवरण मा शब्द धुनीभित्र मात्र नरोमलिएर यसको सच्चाइलाई बुझेर अन्तर मनको सत्यलाई पहिचान गर्नुपर्दछ । जीवन यही प्रश्नभित्र लुकेको सत्य पनि हो ।

हालै वर्तमान समयमा जे जस्ता विकृति र विसंगति देखा परेका छन् ती सबै आफ्नै स्वार्थपरक चिन्तनको कारणले भए गरेको पाइन्छ । हामी जे जस्तो सम्वन्धमा जोडिएका छौँ ती सबै बाह्य आवरण र देखावटीपनमा आवद्ध भएको पाइन्छ। भावनात्मक सम्बन्ध हामीमा छैन । हाम्रा विचारहरु भावनात्मकभन्दा स्वार्थपरक ढङ्गले प्रदर्शन भइरहेको पाइन्छ ।

मेरो कर्म र व्यवहार कस्तो अनुशासनभित्र प्रतिविम्व हुनुपर्दछ, सो कुराको पटक्कै ध्यान नदिई , हामीले हाम्रो बाह्य आवरणमा सजाइएको भावुकतालाई मात्र प्रदर्शन गरेका छौँ । मनमा रामराम बगलीमा छुरा भनेझैँ वचनमा नम्रता कर्ममा कठोरता अहिलेको परिस्थितिले उजागर गरेको छ । अहिले हामी क्षणिकताभित्र रमाइरहेका देखिन्छौँ ।

कर्मदृष्टिले जे देख्छ, यसैभित्र आफूलाई समायत गर्दैछाँै । अरुको डाहा र इष्र्या गर्नु हाम्रो कर्तव्य हो भन्ने गरी हामी त्यसैभित्र आकर्षित भएका छौँ । उसले त यति प्रगति गरिसक्यो, यति धन सम्पत्ति कमाएर मोज गरिरहेको छ, तर म मात्रै त्यो हुन सकेको छैन भनी आफूले आफैलाई मूल्याङ्कन गरी स्वार्थपक चिन्तन हावी गरिरहेका छौँ ।

राम्रो सोचाइभन्दा अरुको प्रगतितर्फ डाहा गर्ने प्रवृत्तिमा हाम्रो ध्यान केन्द्रित भएको छ । अरुको खुसीमा हामी आफूलाई कमजोर र दुःखी बनाइरहेका छौँ । आफूभित्रको प्रतिभा र क्षमतालाई उजागर नगरी त्यसबाट प्राप्त हुने सामाजिक प्रतिष्ठामा नलागी हामी स्वयम् बाह्य आवरणमा देखा परेको क्षणिकतालाई अङ्गालेका छौँ । मैले गर्न सकिन, म कमजोर र निरह छु । जस्ता भावनाहरुको उजागर गरी आफूले आफैलाई कमजोर गराइरहेका छौँ ।

सधैं मैले दुःखकष्ट मात्रै सहनु पर्ने हो भन्ने जस्ता कुरा गरी आफूभित्रको सत्यलाई नबुझी अगाडि बढेका छौँ । आन्तरिक सुन्दरताभित्र बाह्य सुन्दरता र मनोरञ्जनतर्फ ध्यान केन्द्रित हुनु भनेको आफूले आफैंलाई कमजोर बनाउनु हो । आफूभित्रको विशाल सोच चिन्तन हुँदा हुँदै आफूलाई थोरै मोहभित्र फसाउने चिन्तन गर्नु भनेको यो सुहाउने विषय होइन ।

भौतिक आनन्दभित्रको सुन्दरताभित्र रमाउने हाम्रो सोच र चिन्तनकै कारण अहिले मानिसमा बढी पीडाबोध भइरहेको छ । एक अर्काबिच लुछाचुडी र तेरो र मेरो भइरहेको छ । विचारमा सङ्कीर्णता देखा पर्दैछ । वास्तवमा यी सबै हाम्रो कमजोरी र हामीभित्रको असक्षमता हो । बाह्य आवरणभित्र सजाइएको सुन्दरता नै के सत्य हो र ? छलकपट र बाह्यपनले सिङ्गारिएको सुन्दरता नै के सबै हो र ? यो विषय निकै गम्भीर चुनौतीपूर्ण भएर आएको छ ।

बाह्य आवरणमा सजाइएको म जालभित्र फसी गलत मानसिकता बढाउनु आफूले आफैलाई आक्रान्त बनाउनु हो । के हाम्रो जन्मको सार्थकता यही हो त के हाम्रो पूर्खाले हामीलाई यस्तै छलकपट गर्न सिकाएका हुन् ? इतिहास कै यसरी नै रचिएका हुन् हामीले आफूले आफूलाई आफूभित्रको अन्तर सत्यलाई किन बुझ्न सकेका छैनौँ ।

एक पटक सोचौँ । आफूले आफैलाई सोधेर हेरौँ । के हामीले गरेको गलत कर्मले हामीलाई हाम्रो निश्चित गन्तव्यतर्फ पु¥याउन सक्ला ? कतै मैले जे गरे राम्रो गरे भन्ने कलङ्क हामी ले पालेका त छैनौँ ? तसर्थ पहिले आफूलाई बुझौँ अनि अरुका कुरा गरौँ ।

म को हुँ ? मेरो अन्तर आत्माले मलाई के भनिरहेको छ, यदि त्यसलाई एकछिन घोरिएर बुझ्ने कोसिस गरियो भने यसभित्र संसारको सुख सुविधा र समृद्धि लुकेको पाइन्छ । समयलाई राम्रोसँग निर्धारण गरेको पाइन्छ । यसभित्र सुख सुविधा र ऐश्वर्य लुकेको पाइन्छ । ऐश्वर्य आनन्द हाँसो र उत्साह यति मात्र होइन । नयाँ पुस्ताको लागि सुनौलो भविष्यको निर्माण कसरी गर्न सकिन्छ भन्ने विचार पनि समाहित भएको पाइन्छ । सेवा र समर्पित विचार र भावना उजागर गर्न सक्ने गुण तत्वहरु पाइन्छ ।

त्यसैले सुख सुविधा र ऐश्वर्य खोज्न बाह्य आवरणमा सजाइएको मोहमा नभई पवित्र धारणाले सजाइएको विचारमा रहेको कुरा प्रष्ट हुन्छ । डाहा र इष्र्या होइन माया र स्नेह भावद्वारा अरुलाई आफूतिर आकर्षित गर्न सक्ने क्षमताभित्र पाइन्छ । तसर्थ निर्मल जलसरी मनको पवित्रतामा कुनै दाग लाग्ने कार्य नगरी परचिन्तन र परधर्ममा आक्रसित नभई आत्मचिन्तनतर्फ आफूलाई केन्द्रिकृत गर्न सक्नुपर्दछ ।

आफूलाई अरुको लहलहैमा र देखासिखीमा क्षैनिक स्वार्थको लागि आकर्षित हुनु भनेको आफैलाई कलङ्कित गर्नु हो । त्यसैले क्षणिक आनन्द र लुछाचुडीको कार्यले ल्याउने परिणामको ख्याल गरी आफूले आफैलाई बुझ्न सक्नुपर्दछ । बोल्दा जे मन लाग्यो त्यही फलाग्दै हिँड्ने प्रवृत्तिले मानिसलाई कहिल्यै सन्तुष्टि गराउँदैन र सधैं दुखको आहालमा डुबिरहनु पर्ने बाध्यता पनि बनाउँछ । यसले भविष्यलाई अन्धकारतर्फ पनि धकेल्न सक्छ । तसर्थ आफूभित्र रहेको गुण र क्षमतालाई पहिचान गरी अरुको सहयोग र सेवामा समर्पण रहने आचरण र व्यवहारतर्फ आफूलाई लैजानुपर्दछ ।

म र मेरो कर्मबाट नै समाजले आदर्श गति लिन्छ भन्ने मान्यता राखी मनभित्र रहेको पवित्र धारणालाई प्रभाहित गर्नुपर्दछ । आफू भलो त जगत भलो भन्ने उखानलाई सार्थकता दिन आफैभित्रको सत्यलाई बुझ्नुपर्दछ । म र मेरो दायित्व के हो भन्ने कुरा महसुस गरी अन्तर आत्माभित्रको सत्यलाई पहिचान गर्नुपर्दछ । तब मात्र जीवनले खोजेको सच्चा गोरेटो पाइन्छ । चेतना भया ।