दाङ, ५ जेठ । नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिले तलव भत्ता उपलब्ध गराउन माग गरेको छ । संघका अध्यक्ष रमेशप्रसाद जोशीले एक विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । विश्वविद्यालयलाई २०७६ श्रावणदेखिको वृद्धि तलब भत्ताका साथै तेश्रो चौमासिक निकासा तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयमा २०७६ चैतदेखिको तलब भत्ता तथा २०७६ श्रावणदेखिको वृद्धि तलब भत्तासमेत उपलब्ध हुन सकेकोले तलब भत्तामा आश्रित हामी कर्मचारी प्राध्यापकहरूको दैनिक जीवनयापनमा निकै कठिनाई भएको विज्ञप्तिमा भनिएको छ । विश्वविद्यालय दैनिक कार्य सञ्चालनको जिम्मा पाएका का.वा. रजिष्ट्रार (कुलसचिव), विद्यापीठका प्राचार्य, कार्यालय प्रमुख तथा नेपाल संस्कृत विश्वविद्यालयका महाशाखा प्रमुखहरुले यस्तो जटिल परिस्थितिमा विश्वविद्यालयलाई अनावश्यक दायित्व पर्ने कार्यभन्दा पनि तत्काल तलब भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउनका लागि माग गरिएको छ ।
साथै लकडाउनको समयमा कार्यालयमा ड्यटी दिइरहेका चौकीदारलगायतका कर्मचारीहरूलाई काम गर्ने सुरक्षित वातावरणका साथै थप भत्ताको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ । नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री एवं कुलपति, माननीय शिक्षामन्त्री एवं सहकुलपति, विश्वविद्यालय अनुदान आयोग, विभिन्न राजनीतिक दलहरूलगायत सरोकारवाला सम्पूर्णलाई गम्भीर भई तत्काल विश्वविद्यालयमा पदाधिकारीहरूको नियुक्ति गर्नुका लागि माग गरिएको छ ।