छुट दिने निर्णयसँगै विद्युत महसुल बुझाउनको भीड

तुलसीपुर, ५ जेठ । विद्युत महसुलमा छुट दिने निर्णयसँगै यहाँको विद्युत प्राधिकरण कार्यालयमा लकडाउनको समयमा पनि विद्युत महसुल बुझाउनेहरुको भीड लाग्ने गरेको छ । नेपाल विद्युत प्राधिकरणले ग्राहस्थ (सामुदायिक समेत) वर्गका १५० युनिटसम्मको विद्युत खपत गर्ने ग्राहको हकमा चैत र बैशाख महिनाको विद्युत बिलको इनर्जी शुल्क न्युनतम सेवा शुल्कबाहेकमा २५ प्रतिशत छुट दिने निर्णयसँगै प्राधिकरणमा महसुल बुझाउनेहरुको बाक्लो भीड लाग्ने गरेको हो ।

‘ग्राहस्थ बर्गका १५० युनिटसम्मको विद्युत खपत गर्नेको हकमा जेठ ६ गतेसम्म बुझाए छुटको व्यवस्था गरिएकाले पनि बढी भीड देखिएको छ’, नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाका प्रशासन प्रमुख युवराज विष्टले भने । उनले हाल २०७६ चैत र २०७७ बैशाखसम्मलाई सो छुट दिएको जानकारी दिए । दैनिक सयौको संख्यामा महसुल बुझाउने गरेको विष्टले जानकारी दिए । केही ग्राहकहरुले भने लकडाउन अवधिभन्दा पहिलेको विद्युत महसुलमा पनि छुट छ भन्ने बुझेका कारण यस्तो देखिएको बताएको छ । लकडाउन अगाडिको महसुल नबुझाएको अरुको हकमा बैशाख मसान्तसम्म थप रकम नलाग्ने व्यवस्था भए पनि सो छुट सकिएको बताएको छ । चैत र बैशाख महिनाको मात्र छुट गरिएको भए पनि त्योभन्दा अगाडिबाटै पैसा नतिरेकाहरुले पनि छुट पाइने सोचेर भीडभाड हुने गरेको विष्टले जानकारी दिए । सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेकाले त्यतिबेलासम्म छुट दिइएको र लकडाउन बढेपछि समय पनि बढाउने तयारीमा प्राधिकरण रहेको छ । त्यसैगरी विद्युत प्राधिकरणले महसुल अनलाइनबाटै घरबाट तिर्न मिल्ने भएकाले सो सुविधा प्रयोग गर्न आग्रह समेत गरेको छ । ‘घरमा बसेर पनि विद्युतको महसुल बुझाउन सकिन्छ, यो प्रविधिको प्रयोग कम भएका कारण विद्युत कार्यालयमा भीडभाड हुने गरेको छ’, प्रशासन प्रमुख विष्टले भने ।
यस प्रविधिमा ग्राहकहरु जान नसक्दा विद्युत कार्यालयमै आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । त्यस्तै विद्युत प्राधिकरणले कोभिड–१९ संक्रमणको जोखिमलाई दृष्टिगत गरी यसपछि पनि सार्वजनिक जीवन नियमित र सहज हुने अवस्था नभएमा तत्कालीन परिस्थितिको मूल्यांकन गरी ग्राहकलाई विद्युत महसुलको विलिङ गर्ने, विद्युत महसुल बुझाउने र छुट पाउने अवधि तोक्ने तथा तिकिएको छ । यसैबीच विद्युत प्राधिकरणको गेटमा भीडभाड बढेपछि सोमवारदेखि त्यसलाई व्यवस्थित गरिएको छ । महसुल बुझाउने आउने ग्राहकहरुलाई स्वास्थ्य सतर्कताको सबै नियम पालना गरी कार्यालय परिसरमा डोरी टाँगेर करिब २ सय ५० जनासम्मलाई भित्र नै राख्ने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ । अब भने पहिलेजस्तो भीडभाड नहुने कार्यालयले जनाएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखामा करिब ४० हजार ग्राहकहरु रहेका छन् ।