लीलाधर वली
दाङ, ३२ असार । दाङका अधिकांश ठाउँमा बर्खे धानको रोपाइँमा किसान व्यस्त रहेका बेला बङ्गलाचुली गाउँपालिका–८ खैरेनीमा भने किसानले पाकेको चैते धान भित्राउनमा व्यस्त छन् । चैते धान काटेर पुनः बर्खे धान रोप्ने भएकाले पाकेको चैते धान काट्न थालेको खैरेनी निवासी किसान चुमानसिंह गाहा बताउँछन् ।
पाकिसकेको चैते धान भित्राउन जुटेका किसान गाहाले अर्जुन खोलाको पानीबाट सिँचाइ हुने १० रोपनी जग्गामा चैते धान रोपेका छन् । चैते धान भित्राइसकेपछि पुनः बर्खे धान रोप्ने गरेका उनले वर्षमा दुई बाली धान खेती गर्दै आएका छन् । दुई बाली धान खेतीले आम्दानीमा वृद्धि हुने र त्यसले घरपरिवारको खर्च जुटाउन सजिलो हुने गरेको भन्दै किसान गाहाले भने, ‘बर्सेनि चैते धानको खेती गर्छौँ, यही खेतीबाटै परिवारको खर्च जुट्ने गरेको छ ।’ उनका अनुसार १० रोपनी जग्गाबाट २५ देखि ३० मुरीसम्म धान फल्छ । दुई बाली धान खेती गर्दा उत्पादन बढी हुने र त्यसले घरखर्च चलाउनसमेत सजिलो हुने गरेको उनले बताए ।
उनी जस्तै खैरेनीकै अर्का किसान पुरण गाहा मगर पनि चैते धान भित्राउनमा व्यत्त छन् । वर्षाको समयमा पानी पर्ने डरले बादल हेर्दै पाकेको चैते धान काट्नु पर्ने अवस्था रहेको उनले बताए । पानी नपरेको समयमा खेतमा धान काट्ने र त्यसलाई घर ल्याएर झाट्ने गरेको भन्दै किसान मगरले भने, ‘वर्षायाममा पानी परिहन्छ । त्यही भएकाले एकै पटक धान काटेर घरमा ल्याउन सम्भव छैन । पानीको मौका छोपेर धान काटेर भित्राइरहेका छौँ ।’ १४ रोपनी खेतमा पाकेको धान भित्राउँदै गरेका मगरले यो वर्ष धान राम्रो फलेकाले उत्पादन बढ्ने आशामा छन् ।
किसान चुमानसिंह र पुरण उदाहरणका रूपमा रहे पनि उनीहरू जस्तै अहिले बङ्गलाचुली गाउँपालिका–४ र ८ का गहतेरा, खैरेनी र स्वामिघाटमा अधिकांश किसानले चैते धान भित्राइरहेको बङ्गलाचुली गाउँपालिका–४ का वडाध्यक्ष डाँसबहादुर डाँगी बताउँछन् । वडाध्यक्ष डाँगीका अनुसार यस क्षेत्रका किसानले चैत महिनाको अन्त्यतिर रोपेको धान असार महिनाको अन्त्यसम्ममा भित्राएर पुनः बर्खे धान रोप्ने गर्छन् । बङ्गलाचुली गाउँँपालिकाको वडा नं. ४ र ८ अन्तर्गत पर्ने गहतेरा, खैरेनी र स्वामीघाटलगायतका क्षेत्रमा सिँचाइको सुविधा उपलब्ध भएकाले किसानले बर्सेनि चैते धान खेती गर्दै आएका छन् ।
‘पहाडी क्षेत्रमा जमिन थोरै हुने तर वर्षमा दुई बाली खेती गर्दा उत्पादन बढी हुने भएकाले सिँचाइ सुविधा भएका ठाउँमा किसानले चैते धान खेती गर्ने गरेका छन्’, वडाध्यक्ष डाँगीले भने, ‘चैते धान उत्पादन बढी हुने र धानमा रोगको पनि डर नहुने भएकाले अधिकांश किसानले खेती गर्ने गरेका छन् ।’
कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा एक सय ९० हेक्टर क्षेत्रफल जमिनमा चैते धान खेती हुने गरेको छ । जसबाट वार्षिक रूपमा आठ सय २१ मेट्रिकटन धान उत्पादन हुने गरेको छ । सिँचाइ सुविधा पुगेका क्षेत्रमा किसानले चैते धान खेती गर्ने गरेका छन् । बङ्गलाचुली गाउँपालिकाको खैरेनी, गहतेरा, तुलसीपुर उपमहानगरपालिकाको वनकट्टी र राजपुर गाउँपालिकाको गुरुङ खोलामा चैते धानको खेती हुने गरेको छ ।