भुवन पोख्रेल
युवा वर्गले आफ्नो योग्यता र क्षमता बमोजिमको रोजगारीका अवसर नपाउँदा उनीहरु चरम निराशाको सिकार बनिरहेका छन् । आयआर्जनका अवसर नहुँदा वा न्यून आय हुँदा युवाहरु प्रताडित बन्न पुगेका छन् । नागरिक आर्थिक दायित्व पूरा गर्नका लागि निराश मानसिकताका साथ कठोर मेनत गर्दैछन् । युवाहरु आफैभित्र पल–पल हारिरहेका र पिल्सिरहेका कारण मनोसामाजिक समस्या सिकार बनिरहेका छन् । भर्खरै २५ वर्षीय मुगुका युवाले आत्मदाहको घटनाले हुन पुगेको मृत्युले थुप्रै बेरोजगार युवाहरुको मनोबल घटेको छ ।
जग्गा धरौटी राखेर जिविकोपार्जनको व्यवसाय सञ्चालन गरिरहेका युवाहरु माथि उक्त घटनाले आहत तुल्याएको छ । महङ्गी, बैंकको व्याज, राज्यको कर प्रणाली थेग्न युवा कठोर मेहनत गरिरहेका छन् तर पनि उनीहरुको आर्थिकउपर्जान सोचे जति हुन सकेको छैन । जेन–जी आन्दोलन पछि देशमा गरिखाने वातावरण बन्छ कि भन्नेमा युवाहरु आशावादी थिए तर सबैभन्दा भुर्इँमान्छेले राज्य भएको अझै महसुस गर्न सकेको छैन । समतामूलक समाज निर्माण यतिबेला साकार हुन्छ जतिबेला हरेकले आत्मसम्मान अक्षुण्ण हुने परिस्थिति निर्माण हुन्छ ।
युवा वर्गको मनोसामाजिक समस्या भन्नाले युवाहरुको मत, सोच, भावना, विचार र समाजबिच तालमेल नमिल्दा उत्पन्न हुने मानसिक तथा व्यवहारिक कठिनाइहरु हुन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा करिब पाँचजना युवामध्ये एकजनामा यस्तो समस्या देखिएको छ । अध्ययन र करियरमा ध्यान दिनु पर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित छन् । परिवारको मात्रै नभएर देशको समेत भविष्य निर्धारण गर्ने युवा मानसिक रोगका कारण कुनै पनि कार्य राम्रोसँग गर्न नसक्ने अवस्था रहेको मनोचिकित्सकहरु बताउँछन् । अहिलेसम्म घरपरिवार र अभिभावकले सन्तानलाई मानसिक रोग लागेको छुट्याउन सक्दैनन् । घरपरिवारको बेलैमा सावधानी नअपनाउँदा सामान्य समस्या समेत कडा खालका मानसिक रोगमा परिवर्तन भइसक्छ ।
आफूभित्र रहेको चिन्ता व्यक्त गर्न नसक्दा कतिपय युवा आत्महत्याको सङ्घारमा पुग्दछन् । कतिपय युवा भने चिन्ता कम गर्नकै लागि लागुऔषध र मदिरापन गरिरहेका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्ति र उनको परिवारमा समेत अनेक मानसिक समस्या देखिएको छ । साधारण कुरालाई असाधारण मानेर चिन्ता गरिरहँदा त्यही समस्याले विकराल रुप लिन्छ । आफूलाई मानसिक रोग लागेको व्यक्ति स्वयम्लाई पनि थाहा नहुने तर अभिभावकले नबुझ्ने गर्दा समयमा उपचार पाएका छैनन् ।
मानसिक स्वास्थ्य समस्याले असामान्य रुपमा व्यक्तिको भावना, सोचाइ र व्यवहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर वुग्दछ । यस्तो समस्या अहिले नेपालमा युवा वर्गमा बढ्दो छ । बाल्यकालमा नमिठा, अनुभव, आघातजन्य घटना, लैङ्गिक यौनजन्य हिंसा, सामाजिक विभेद, साथीहरुबाट खिसिट्युरी, आर्थिक विपन्नता लगायताका कराणले मानसिक स्वास्थ्य समस्या देखा पर्छ । स–साना बोझ एवम् तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयारत युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको हो । सामाजिक सञ्जालले किशोरकिशोरीहरुमा मानसिक समस्याहरु निम्तिएको अध्ययन देखाएको छ । अनलाइनमा आफूलाई अरुसँग तुलना गर्ने सम्भावना बढी देखिएको थियो । एक्लोपनले मानिसको स्वास्थ्यमा यस्तो सङ्कट ल्याउँछ ।
दिनदाहडै एउटा भुँईमान्छे युवाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरिरहेको हृदय विदारक दृश्यलाई साहसिक विद्रोह भन्ने किलाचार वा हुतिहारा भन्ने सार्वजनिक बहस मिडियामा देखिन्छ । यदि मानवताको लेस बाँकी छ भने यो घटनालाई गम्भीर र भावनात्मक ढङ्गले विश्लेषण गर्न सक्नु पर्छ र यस्ता घटना किन दोहरिन्छ खोज अनुसन्धानको विषय बन्नु पर्छ । हिजो नीतिगत दमन विरुद्ध बानेश्वरमा संसद भवनका समुन्नेमा प्रेम आचार्य आत्मदाह गरेका थिए । आज मुगुका युवा राइडसेयर चालक गणेश नेपालीले त्रिपुरेश्वरको बिच सडकमा महानगर प्रहरीको जरिवानाको रसिद र लक गरिएको मोटरसाइकलकै अगाडि आफ्नो शरीरमा प्रेटोल खन्याएर आत्मदाह गरे ।
घटना घट्ने वित्तिकै आवाजहरु नाराको रुपमा बुलन्द भइदिन्छ र लासमाथि राजनीति गर्न पल्केकाहरु सस्तो लोकप्रियता देखाउँदै कुर्लन्छन् । विस्तारै घटना सेलाउँदै जान्छ, आवाजहरु मन्थर हुँदै जान्छ फेरि यस्तै प्रकृतिका घटनाहरु आकस्मिक पुनरावृ भइदिन्छन् । गणेश नेपालीलाई कसैले सहिद घोषणा गर्नुपर्छ भनेका छन्, कसैले लाचार र कायर मानसिकताको उपज भनेका छन् । कसैले आत्महत्याको संज्ञा दिएका छन् । कसैले राज्यको निर्मम प्रहार भनी राज्यसत्ता कै विरोध गरेका छन् ।
अहिलेको यो घटनालाई भाजुकताभन्दा माथि उठेर हेदाए यो घटना गणेश नेपालीको कायरता र व्यक्तिगत रोजाइमात्र होइन यो त युवा विद्रोह र निराशाको झिल्को हो यस्ता घटनालाई बेलैमा अध्ययन अनुसन्धान नगर्ने हो भन्ने राज्यको कठोरता र कानुनी शासनको उपहास देखिन्छ । यस्ता घटनालाई सामान्य रुपमा लिइयो भने भोलिका दिनमा डर लाग्दो सामाजिक प्रणालीगत सङ्कट ननिम्तेला भन्न सकिँदैन । राज्यका संयन्त्रले कडाभन्दा कडा जरिवानाको नीतिनियम बनाइरहँदा एउटा भुर्इँमान्छेले त्यो शुल्क तिर्न सक्छ कि सक्दैन बेलैमा सोच्नुपर्छ । नेपाली युवाको आर्थिकउपार्जन कति छ । उनीहरुलाई त्यो शुल्क तिर्न सहज हुन्छ कि सङ्कट हुन्छ बेलैमा बुझ्नु पर्छ ।
अहिले राज्य संयन्त्रको नियम अनुगमन र जरिवाना प्रक्रिया प्रमुख आत्महत्या दुरुत्साहनकर्ता देखिएका छन् । नेपालमा नियम कानुन लागु गर्दा मानसिक रुपमा असामान्य व्यवहार गर्ने, मर्न, मार्न पछि नपर्ने अलिक सामान्यभन्दा फरक शैलीको व्यक्तिलाई कारबाही गरेर वेवास्था गर्नु हुँदैन उसलाई सुरक्षित स्थानमा प्रहरीको सुरक्षामा राख्ने व्यवस्था गरिदिएको भए एउटा जीवन बच्दथ्यो, एउटा परिवारको खुसी लुटिने थिएन कि भन्ने प्रश्न उब्जिन्छ । सडकमा पेसा व्यवसाय गरिरहेका मान्छे सबै सामान्य अवस्थाका हुँदैनन् । उनीहरुमा बाह्य पक्ष र आन्तरिक पक्षले तनाव सिर्जना गरिरहेको हुनसक्छ । उनीहरुमा गहिरो निराशा र डिप्रेशनको समस्याले जीवनदेखि नै विरक्तिन पुगेका पनि हुन सक्छन् ।
सबै पेसा व्यवसायी आआफ्नै समस्षले गुज्रिरहेका हुन्छन् उनीहरुले एकले अर्कोको समस्या बुझ्नतिर कदापी लाग्दैनन् । आआफ्नो जिद्दी, अहंम र अडाले ठूलो समस्या सिर्जना गर्दछ । सेवा प्रदायक र सेवाग्राही दुवैको मनोसामाजिक अवस्थालाई आंकलन गरेर प्रतिक्रिया देखाउनु पर्ने हुन्छ । यो आत्महत्याको स्थिति भयावहपूर्ण देखिन्छ । सामान्य अवस्थामा यस्ता प्रकृतिका घटना घट्दैनन् । नेपालमा आत्महत्याको दर कुनै सानो समस्या होइन । यो एउटा भयानक मौन महामारी बनिसकेको छ । सार्वजनिक स्थलमा आत्मदाह त झनै अचानक गरिने निर्णय होइन, असह्य मानसिक र मनोवैज्ञानिक पीडाको परिणाम हो । व्यक्तिको बाह्य धपेडी, तनाव, आर्थिक दबाब र सामाजिक असुरक्षाको दर उसको आन्तरिक सहनशीलताको बाँधभन्दा धेरै माथि गएपछि मस्तिष्कले विकल्पहीनताको भ्रम पैदा गर्छ अनि त्यो बाँध भत्कन्छ, आफूले आफैलाई समाप्त पार्ने सोच यही परिणति हो ।
ग्रामीण र विपन्न वर्गका झण्डै ९० प्रतिशत नागरिक मानसिक सस्थ्यको प्राथमिक उपचार र पारमर्शबाट पूर्णत बञ्चित छन् । अनि अधिकांशमा चाही अभाव, टन्टा, चिन्ता र विरक्ति जस्ता विषय मानसिक स्वास्थ्यका समस्या हुन् भन्ने सचेतनाको अभाव छ । प्रेम आचार्य र गणेश नेपाली प्रतिनिधि पात्र मात्र हुन् । यी भुँईमान्छेहरु जब सरकार, राज्यका नीति र समाजको चौतर्फि प्रताडनाबाट मानिसक रुपमा थला पर्छन् तब उनीहरुलाई संरक्षण गर्ने, जोगाउने स्वास्थ्य वा मनोपरामर्श सेवा हामीसँग हुँदैन तब परिणति दोहरिन्छ । सरकारी अस्पतालका मानसिक सेवा विभागले सक्रिय भई मानिसक स्वास्थ्य सचेतनाका कार्यक्रम अघि बढाउन सकेको छैन ।
आत्महत्याको जड मानिसक व्यथा हो । यसको समुचित तवरले सम्बोधन हुन नसक्दा आत्महत्याको दर दिनप्रतिदिन बढेको बढ्यै छ । आत्महत्या निवारण खाली अस्पतालको बहिरसँग सेवा विभागबाट जाँच गरेर र औषधी निर्देश गरेर हुँदैन यसको रोकथामका लागि समुदाय स्तरमा आधारित मानसिक सस्थ्यको सुदृढीकरण, आर्थिक सुरक्षा र राज्यको व्यवहारमा मानवीय संवेदनशीलता अनिवार्य सर्त हुन् । राज्यले यसलाई वेवास्था गरेर हुँदैन मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले आत्महत्या दुरुत्साहनलाई गम्भीर फौजदारी कसुर मान्दै पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । यदिन नागरिकलाई मर्न बाध्य पार्ने कुनै पनि नीति निर्माता र सरोकारवाला सजायको भागिदार बन्नुपर्छ ।
साना श्रमिकको जिविकोपार्जनमा ताल्चा मारेर मृत्युको मुुखमा पार्दा सजायको भागिदार बन्नुपर्छ । साना श्रमिकको जिविकोपार्जनमा ताल्चा मारेर मृत्युको मुखमा पर्दा सजायको भागिदारको हुन्छ ? यस्ता कहाली लाग्दा हृदय विदारक दृश्यको दर्शक र रमिते बनेर नेपाली समाज चुप लागेर बस्नु भनेको आफै अन्याय गर्नु जस्तै हो । सडकमा मानिस जलिरहेको दृश्य सामान्य समस्या पक्कै होइन, अब प्रत्येक संघ, प्रदेश र स्थानीय तहका नागरिकले मनोउपचार केन्द्रमा मनोपरामर्श सेवा लिने वातावरण राज्यपक्षले सिर्जना गर्नुपर्छ । सरकारी निकाय वा कारवाहीका कारण कसैले आत्मदाह गर्छन् भने यो राज्य पक्षले मौन बस्न मिल्छ ? सडकमा सल्किएको गणेश नेपालीको शरीरको आगोले युवाहरुमा चेतना जगाओस्, युवाहरुको निराशा र दिक्दारी धुवा जस्तै उठोस् अन्य युवाहरुले गणेश नेपालीको बाटो युवाले झुक्किएर नरोजुन् भन्दै सरकारले युवाहरुलाई राम्रो कामना प्रेरित गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
नेपालमा तीव्र सामाजिक, आर्थिक र प्रािवधिक परिवर्तनका कारण युवा वर्गमा विभिन्न मनोसामाजिक समस्याहरु, व्यवहार, सामाजिक सम्बन्धमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । युवा वर्गलाई तनाव र एन्जाइटी हुन्छ, भविष्य, करियर र पढाइको अत्यधिक चिन्ता हुन्छ । लगातार उदास रहने र एक्लोपन महसुस हुने हुँदा डिप्रेसनको पनि सिकार बन्न पुग्दछन् । त्यही तनाव भुल्न गलत संगत वा कुलतमा फस्ने, लागुऔषध दुव्र्यसनीको सिकार बन्ने गरिरहेका छन् । अहिले युवा वर्ग वास्तविक संसारमा भन्दा मर्चुअल संसारमा हराउँदा वास्तविक सम्बन्ध बिग्रन्छन् र इन्टरनेट र गेमिङको लत लाग्दछ । युवा वर्गको आत्मविश्वास बढ्नुको साटो सामाजिक सञ्जालमा अरुसँग तुलना गर्दा हिनताबोध भई न्यून आत्मविश्वास हुन्छ र यसले मानसिक समस्या निम्त्याउँछ । गम्भीर मानसिक दबाब झेल्न नसक्दा आउने नकारात्मक विचार नै आत्महत्याको सोच हो ।
युवा वर्गमा मनोसामाजिक समस्या निम्त्यिाउनुका थुप्रै कारण छन् । करियर र बेरोजगारी युवाको गम्भीर समस्या हो । योग्यता अनुसारको रोजगारी नपाउँदा युवामा निराशा उत्पन्न हुन्छ । पढाइ र कमाइमा परिवारले राख्ने उच्च महत्वकांक्षा जस्ता पारिवारिक दबाबले पनि मानसिक दबाब सिर्जना हुन्छ । सामाजिक सञ्जालको प्रभाव, साइवर बुलिङ र देखावटी जीवनशैलीले मानसिक दबाब निम्त्याउँछ । प्रेम सम्बन्धमा आउने उतारचढाव, ब्रेकअप वा सम्बन्धमा आउने असमझदारीले पनि व्यक्ति तनावमा हुन्छ । मनका कुरा सेयर गर्ने वातावरण वा कम्युनिकेसन ग्याप हुने, मन मिल्दा साथी नभइ एक्लोपनको महसुस हुने, अभिभावकसँग दुरी हुनु पनि मानिसक समस्याको कारण हो ।
यस्ता मानसिक समस्यालाई सामान्य जीवनशैलीमा रुपान्तरण गर्नका लागि खुला संवाद वा कुराकानी गर्ने शैली अपनाउन सकिन्छ । आफ्नो भावना साथीभाइ वा परिवारसँग साटासाट गर्ने समया बढ्दै गएमा मनोपरामर्शदाताको काउन्सिलिङ सेवा लिने । सामाजिक सञ्जाको प्रयोगलाई सीमित गर्ने । स्वस्थ्य जीवनशैली, सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रा लिने । प्रत्येक व्यक्तिले आफूमा सकारात्मक सोच राख्ने, योग, ध्यान र रचनात्मक कार्यहरुमा ध्यान केन्द्रित गर्ने ।
मनोसामाजिक परामर्श भनेको व्यक्तिमा मानसिक वा भावनात्मक समस्या, तनाव वा आघात पर्दा तालिम प्राप्त परामर्शदाताद्वारा गोप्य रुपमा कुराकानी गरी मनको बोझ हलुका बनाउन र समस्या समाधान गर्न मद्दत गर्ने एउटा मनोवैज्ञानिक प्रक्रिया हो । बाहिर मानिस सामान्य देखिए पनि भित्र–भित्रै केही न केही समस्याले सताएर तनावमा हुन्छन् । जो उज्यालो हुन्छन् यिनकै भित्र पीडा र निराशा लुकेको हुनसक्छ । अप्ठेरा दिन सबैका हुन्छन्, धैर्यताका साथ अगाडि बढेर समस्या समाधानको बाटोमा अघि बढ्नुपर्छ एक सेकेण्डको गलत निर्णयले यो सुन्दर जीवन समाप्त हुनसक्छ ।
गणेश नेपालीको आत्मदाह घटना यसले हाम्रो राज्य, समाज, कानुनको कार्यान्वयन, नागरिकसँग गरिने व्यवहार र मानसिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठाएको छ । १० महिनामा जापानमा २८ जना नेपाली विद्यार्थीले आत्महत्या गर्दा किन त्यति ठूलो राष्ट्रिय बहस हुन सकेन । मानसिक स्वास्थ्यको बारेमा देशैभरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ । भावनामा आएर यसरी आत्मदाह गर्नेलाई सहिद घोषणा गर्दा संवेदनशीलता माथि राजनीति गरेको आरोप खेप्नुपर्छ । सत्यतथ्य बुझेर पारिवारिक पृष्ठभूमि अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्छ ।
विपक्ष दलहरु पनि सस्तो लोकप्रियता र क्षणिक आवेशमा आएर लास माथि राजनीति गर्ने संस्कारबाट मुक्त होऔँ । निषेधित ठाउँमा पार्किङ गरेपछि नगर प्रहरीले मोटरसाइकलको हीलमा लक गर्छ किन गल्ती गरेको भनी चिट काट्छ, सोधपुछ गर्छ, युवाले आवेगमा आएर आत्मदाहको अप्रिय निर्णय लिन्छ । यो घटना युवा आवेशको परिणति मात्र नभई लामो समयदेखि थेग्नुपरेको मानसिक दबाबको परिणाम हो । सरकारसँग असन्तुष्ट विपक्ष झुण्डका लागि गणेश नेपाली अग्निदाह प्रकरण सरकारको विरोध गरेर सडक तताउने, पुत्ला जलाउने मसाल भइदिन्छ । मरेको लास माथि राजनीतिको रोटी सिकाइन्छ । गरिब हुनु, दलित हुनु मात्र समस्या नभई मनोसामाजिक रुपमा ग्रस्त बन्नु अग्नि दाह वा आत्महत्याको अप्रिय निर्णयको कारक हो । यो समस्यालाई सचेत र गम्भीर भई सोचौँ ।