दाङ,१ साउन । दाङको घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुने भएको छ । प्राकृतिक, धार्मिकसँगै पर्यटकीय सम्पदाको प्रवद्र्धन गर्ने उद्दश्यले साउन २ गते शनिवार घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुन थालेको हो ।
दाङ साइकल सिटीको आयोजनामा हुन थालेको कोरा साइक्लिङमा सहभागीले ५० किलोमिटर दुरी यात्रा गर्नुपर्नेछ । स्वस्थ जीवनशैली, वातावरण संरक्षण तथा धार्मिक–पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कोरा साइक्लिङ च्यालेन्जको सम्पूर्ण तयारी पूरा भएको दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष श्रेष्ठका अनुसार घोराही उपमहानगरपालिका–१५ स्थीत ललित इन्टरप्राइजेज होन्डा शोरुमबाट सुरु हुने कोरामा सहभागीले शहिद गेट–तुलसीपुर चोक–न्यू रोड–पुरानो बैंक रोड–गणेश मन्दिर–ट्राफिक चोक–अम्बिकेश्वरी मन्दिर–डबरी–चौघेरा मन्दिर–बर्गदी–पनौरा हुँदै घोराही–५ धारापानी मन्दिर पुगेर पुनः घोराहीस्थीत होटल माला इनमा आइपुग्नुपर्नेछ ।

विहान ७ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने कार्यक्रम रहेको छ । कोरा साइक्लिङ च्यालेन्जमा महिला र पुरुष गरेर ८० भन्दा बढी साइक्लिस्टको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । स्वास्थ्य, वातावरण संरक्षण र धार्मिक–पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन समेत अध्यक्ष श्रेष्ठले इच्छक नागरिकलाई आग्रह गरेका छन् । सन २०२१ देखि निरन्तर सञ्चालन हुँदै आएको कोरा साइक्लिङ च्यालेन्जलाई भव्य बनाउने गरि तयारी गरिएको बताए । प्रत्येक बर्ष जुलाईको तेश्रो शनिवार कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको छ ।
कोरा साइक्लिङ च्यालेन्जको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पत्रकार महासंघ दाङ जिल्ला अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतमलगायतले कोरा साइक्लिङ च्यालेन्जलाई व्यवस्थीत गर्दै आगामी दिनमा घोराही बजारमा साइकललेनसँगै साइकलिङमा आकर्षण बढाउनका लागि साइकल रुट निर्धारण गरेर अघि बढ्ने लाग्न सुझाव दिएका थिए । दाङ साइकल सिटीका सदस्य सनत गिरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण बिमल श्रेष्ठले गरेका थिए ।