नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिन सुधारमा ध्यान दिन्छु : उपकुलपति डा. मिश्र

दाङ,३१ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा. डा. अजयकुमार मिश्रले सेवाग्राही र विद्यार्थीलाई प्राथमिकतामा राखी प्रतिष्ठानको सुधार तथा विकासमा लाग्ने बताएका छन् ।

प्रतिष्ठानले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपकुलपति मिश्रले नागरिकलाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई आफ्नो पहिलो प्राथमिकता हुने बताए । तत्काल ठुलो योजना घोषणा गर्नेभन्दा नागरिकलाई प्रतिष्ठानबाट सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माणमा जोड दिने बताएका हुन । ‘अहिले ठुलो काम गरेर देखाउने अवस्था छैन’, उनले भने,‘नागरिकलाई प्रतिष्ठानमै कसरी सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ, त्यसमै मेरो प्राथमिकता रहनेछ ।’

उनले अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीले अनावश्यक झन्झट, ढिलासुस्ती वा असहजता भोग्न नपर्ने गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताए । प्रतिष्ठानप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने, सेवा प्रणालीलाई व्यवस्थित बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । प्रतिष्ठान स्वास्थ्य सेवा प्रदान गर्ने संस्थामात्र नभई अध्ययन–अध्यापन र अनुसन्धान गर्ने शैक्षिक संस्था पनि भएकाले शिक्षणसँगै अध्ययन तथा अनुसन्धानलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउँदै प्रतिष्ठानको समग्र विकास सम्भव भएको भन्दै उनले प्रतिष्ठानलाई नागरिकमैत्री तथा सेवामुखी संस्थाका रूपमा स्थापित गर्न सवैको भूमिका आवश्यक रहेको बताए ।

विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने,‘म कुनै भारी बोकेर आएको होइन, स्वास्थ्य सेवा सुधारका लागि आएको हुँ । काम गर्दा म व्यक्तिप्रति उत्तरदायी हुँदैन, तपाईंहरू पनि हुनु पर्दैन । सबै मिलेर संस्थाको प्रतिष्ठा उकास्ने गरी काम गर्नुपर्छ राम्रो काम गर्न सके प्रतिष्ठानको गौरव बढ्ने र त्यो मेरो मात्र नभई सवैको गौरव हुनेछ ।’

कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अस्पताल प्रमुख तथा सहनिर्देशक प्रा.डा. सुरेश रसाइली, पूर्व डिन प्रा. डा. रमेश कँडेलले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्तिको अवस्था तथा सुधारका लागि नेतृत्वले सवैसँग सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । नवनियुक्त उपकुलपति मिश्रले बुधवारदेखि जिम्मेवारी समेत सम्हाल्नुभएको छ । कार्यक्रममा प्रतिष्ठानका कर्मचारी, डक्टर, नर्सलगायतको सहभागीता रहेको थियो । प्रतिष्ठानकी चन्द्रा गर्बुजाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण शालिकराम कालाथोकीले गरेका थिए ।