तेजबहादुर बस्नेतलाई सम्झिँदा

मधुसूदन सुवेदी

अब हाम्रो माझ तेजबहादुर बस्नेत रहनुभएन । भौतिक शरीरका हिसाबले विक्रम सम्वत् २०७७ साल जेठ २ गते शुक्रवार यो धर्तीबाट सदाका लागि अस्ताउनुभयो, हराउनुभयो, बिलाउनुभयो, गुम्नुभयो, विदाई हुनुभयो, विश्राम लिनुभयो, मर्नुभयो, स्वर्गे हुनुभयो अर्थात् उहाँको जीवन लीला समाप्त भयो । तेजबहादुर बस्नेतको भौतिक देह समाप्त हुनेवित्तिकै उहाँको गुण, चरित्र, बानी, आचरण, उठ्बस, बोली–चाली, साथ–सहयोग, आकर्षण–विकर्षण, व्यवहार–क्रियाकलाप र भक्तिभजन गुञ्जन थाल्नेछन् । मानिसका लागि मृत्यु तीतो सत्य हो र तीतो यथार्थ पनि हो ।

जन्मिसकेपछि मर्नु सबैका लागि कहर, बाध्यता र अनिवार्य छ । दुई–चार दिन, दुई–चार महिना वा दुई–चार वर्षको फरक होला, तलमाथि होला, ढिलोचाँडो होला तर मर्नु अवश्य पर्छ तर कुरा के हो भने एउटा कुनै समाज, कुनै क्षेत्र, कुनै तह, कुनै तप्का वा कुनै पार्टीसँग जोडिएको, गाँसिएको, मुछिएको व्यक्तिको निधन हुँदा त्यस्ता व्यक्तिको हिजोको मूल्यांकनका बारेमा गहिरो र गम्भीर समीक्षा हुने गर्छ । यदि कुनै व्यक्तिले आफ्नो जीवनको जवानी, जोस, जाँगर, हिम्मत, साहस, पराक्रम, बहादुरी, आस्था, निष्ठा, समर्पण सम्पूर्ण कुरा पार्टीका लागि दिन्छ भने उसले त्यसको बदला के पायो ? त्यसको सोधखोज र हिसाब–किताब राख्न नितान्त जरुरी छ र अपरिहार्य छ ।

आज हामीले गुमाएका तेजबहादुर बस्नेत देशको अत्यन्त ठूलो, पुरानो, शक्तिशाली, लोकप्रिय, प्रजातान्त्रिक, देशभक्त, राष्ट्रभक्त र जनप्रेमी पार्टीमा होमिएका व्यक्ति हुनुहुन्थ्यो । उहाँको जीवनमा नेपाली कांग्रेसले के–कस्ता मूल्यांकन ग¥यो भन्ने प्रश्न नै आजको गम्भीर समीक्षा हो । जुनसुकै व्यक्ति र शक्तिले यो धर्तीमा गर्ने गतिविधि र क्रियाकलाप सबै मानव जीवन सञ्चालनका लागि हो कि होइन ? यदि यो जीवन नै रहेन भने यदि यो जीवन नै जोखिमपूर्ण छ भने मानिस जस्तोसुकै इच्छाशक्तिको भए पनि के लाग्छ र ? आजको मितिमा तेजबहादुर बस्नेत अत्यन्त इमान्दार हुनुहुन्थ्यो । अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । अत्यन्त जनप्रेमी हुनुहुन्थ्यो । अत्यन्त निष्ठावान् हुनुहुन्थ्यो । अत्यन्त निष्कलंक हुनुहुन्थ्यो । अत्यन्त निष्पक्ष हुनुहुन्थ्यो । अत्यन्त परोपकारी हुनुहुन्थ्यो । अत्यन्त सहयोगी हुनुहुन्थ्यो । अत्यन्त कोमल हुनुहुन्थ्यो । अत्यन्त भावुक हुनुहुन्थ्यो ।

अत्यन्त व्यक्ति, परिवार, छिमेकी, समाज, देश र राष्ट्रका लागि चाहिने व्यक्तित्व हुनुहुन्थ्यो भनिरहँदा नेपाली कांग्रेसले वा यस बृहत पार्टीले यस्ता व्यक्तिको जीवनमा देखाएको अविष्मरणीय त्याग के हो ? अर्थात हिजोको समयमा तेजबहादुरको जीवन रक्षा गर्न, तेजबहादुर बस्नेतको जीवन बचाउन गरेको अभ्यास के हो ? गरेको कोशिस के हो ? गरेको भूमिका के हो ? गरेको प्रयास के हो ? गरेको मूल्यांकन गर्ने ? मैले यहाँ एउटा तेजबहादुरको मात्र कुरा उठाइरहेको छैन । मैले यहाँ एउटा बहादुरको कुरा लेखिरहेको छैन । मैले यहाँ एउटा बस्नेतको कुरा उजागर गरिरहेको छैन । समाजमा सयौं तेज छन् होला । समाजमा हजारौं बहादुर छन् होला र समाजमा लाखौं बस्नेत छन् होला । तर ती सबैको पार्टीले बेलैमा उचित सम्मान, कदर, सहयोग र जीवन जिउने आधार तय गरेन भने भोलि नेपाली कांग्रेस कहाँ पुग्छ होला ? हामीले राम्रो मान्छेलाई पद दिन सक्दैनौं । हामीले राम्रो मान्छेलाई कुर्सी दिन सक्दैनौं । हामीले राम्रो मान्छेलाई प्रतिष्ठान दिन सक्दैनौं । हामीले राम्रो मान्छेलाई जिम्मेवारी र नेतृत्व दिन सक्दैनौं र हामीले राम्रो मानिसको जीवन संरक्षण गर्न पनि सक्दैनौ. ।

यी सबै कुरा नगरेर हामी र हारम्रो देश बन्छ कसरी ? हामी र हाम्रो पार्टी बन्छ कसरी ? आजको दिनमा नेपाली कांग्रेसभित्र जीवनको सुरक्षा देखिएन र उचित मूल्यांकनको अभाव देखियो भने भोलि यो पार्टीलाई ठूलो बनाउने कसले ? बृहत बनाउने कसले ? शक्तिशाली बनाउने कसले ? नेपाली कांग्रेसले पार्टीभित्रको नेता, कार्यकर्ता तथा शुभचिन्तकका लागि दिने जीवन बीमा के हो ? उत्तर कसैसँग छ ? मृत्युलाई टार्न कसैले नसके पनि मृत्युसँग लड्ने शक्ति सञ्चित गर्ने परिपाटी के हो ? त्यो तेजबहादुर बस्नेतका लागि ग¥यो कि गरेन ? गर्दा–गर्दै नहुनु एउटा कुरा हो भने गर्दै नगर्नु अर्को कुरा हो । तेजबहादुर बस्नेत लामो समयदेखि मृगौला पीडित हुनुहुन्थ्यो । मानिसको एक–से–एक मृगौली प्रत्यारोपण गरेर १०–२० वर्षभन्दा पनि बढी बाँचिरहेका छन् । यस्तो अवस्थामा पार्टीले एउटा होनहार व्यक्तिका लागि के गर्न सक्दैनथ्यो ? यदि चाहेको भए । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाली कांग्रेस छापिएको छ । आफ्नो इमान्दार नेता, कार्यककर्ता जीवन र मरणको दोसाँधमा पुग्दा एउटा मृगौला भिख माग्न सकेन ? एउटा मृगौला बराबरको सहयोग रकम गुटाउन सकेन ? एउटा मृगौला प्रत्यारोपण गरिदिन सकेन ? यदि यसै हो भने जीवनभर पार्टी–पार्टी भनेर मरिहत्ते किन गर्ने ? हामीले सोच्नुपर्ने के हो भने मानिस सबैमा रोगको प्रकोप छ । चाहे त्यो सानो होला, चाहे त्यो ठूलो होला । यो समयमा रोगरहित मानिस पाउन दिउँसै बत्ती बालेर खोज्नुपर्ला । यस्तो अवस्थामा आज एउटाका लागि पार्टी लाग्दा भोलि अर्काको लागि लाग्ने संस्कार बस्ने थियो नि ? नेपाली कांग्रेसलाई पुँजीवादी शक्तिको समर्थन गर्ने भनेर बिल्ला लागेको बेला एउटा असल राजनीतिक व्यक्ति राजनीितको चिन्ता र चासोविना नै रोगले ग्रसित भएर मर्नुपर्दा हामी सबैको लागि ठाडो चुनौती होइन ? हिजो तेजबहादुर बस्नेतको घरमा २४सै घण्टा खाना खाने व्यत्तिः पनि थिए होला ।

हिजो तेजबहादुर बस्नेतको घरमा सातै बार भात खाएर बस्ने व्यत्तिः पनि थिए होला । हिजो उनको घरमा तीसै दिन भात खाएर बस्ने व्यक्ति पनि थिए होला । हिजो तेजबहादुरको घरमा बाह्रै महिना भात खाएर बस्ने व्यक्ति पनि थिए होला तर कोही कसैले पनि उहाँको शारीरिक रोग, शोक, पीडा, मूल्यांकन, पद, प्रतिष्ठा, कुर्सी, नेतृत्व आदि, इत्यादिका बारेमा किन चिन्ता र चासो व्यक्ति गरेनन् ? के यहाँ सबैले बलेको आगो मात्र ताप्ने हो ? के अब यहाँ सबैले हुँदासम्म खाने र रित्तिएपछि छोडिदिने हो ? यही हो हाम्रो संस्कार ? यही हो हाम्रो संस्कृति ? यही हो हाम्रो सिद्धान्त ? जीवन भनेको नै हुने खाने र हुँदा खानेको समीश्रण हो ? मानिस कोही पनि हरेक कर्मका लागि सक्षम र समर्थक हुँदैन । यो देशकै प्रधानमन्त्रीलाई समेत शारीरिक संकट पर्दा जीवनको भिख मागिएको थियो र त्यही भिखले आज हाम्रो देशको प्रधानमन्त्री सक्षम हुनुहुन्छ । मागेपछि त सम्भव रहेछ नि ? यदि मागेर हुने कुरा माग्नका लागि पार्टी किन डरामउने ? व्यक्ति जो सुकै होस् र व्यक्ति जस्तोसुकै किन नहोस्, यदि देशकै सिंगो पार्टीले केही गर्दा, केही दिँदा, केही हात फैलाउँदा कोही कसैको सिंगो जीवन बाँच्छ भने किन नगर्ने ? जबसम्म पार्टीले अब सम्पूर्ण नेता तथा कार्यकर्ताको जीवन नै यसरी बचाउने प्रयास गर्दैन, त्यो पार्टी ठूलो र दिगो बन्न सक्दैन । आजका मितिमा तेजबहादुर बस्नेत यस्तो हुनुहुन्थ्यो, उस्तो हुनुहुन्थ्यो, यो गर्नुभयो, त्यो गर्नुभयो, यसो गर्नुभयो, उसो गर्नुभयो भनेर कराउनु, कुर्लनु, उफ्रनु, बोल्नु, बक्नुको कुनै अर्थ कुनै तुक छ ? अबको समयमा इतिहासमा दर्द हुने भनेको नेपाली कांग्रेस पार्टीले तेजबहादुर बस्नेतलाई गरेको मूल्यांकन र उनलाई स्थापित गरेको तह, क्षेत्र, तप्का, पद, प्रतिष्ठा र कर्सी हो । आजको दिनमा जति ओठे भजन गाए पनि र जति गुणगान गुञ्जाए पनि ऐन मौकामा पार्टीले तेजबहादुर बस्नेतलाई दिएको साथ, हात, गाथ, सहयोग, मान, सम्मान र हैसियत नै हो । आस्था र निष्ठाको आधारमा तेजबहादुर बस्नेत नेपाली कांग्रेस पार्टीका लागि जति ठूलो र अहम् हुनुहुन्थ्यो नेपाली कांग्रेस तेजबहादुर बस्नेतप्रति त्यति नै ठूलो र अहम् बनेन । दुःखको कुरा यही हो । हरेक नेता र कार्यकर्ताले बुझ्नुपर्ने कुरा पनि यही हो । यदि कुनै अमूक व्यक्ति, कुनै अमूक पार्टीका लागि सर्वेसर्वा बन्छ र ठहर्छ भने त्यस्ता व्यक्तिका लागि पार्टी किन मूकदर्शक मात्र बन्दछ ? किन भजन–कीर्तनमात्र गर्दछ ? भजन–कीर्तन गर्ने त हामीजस्ता साधारण शुभचिन्तक, शुभेच्छुकहरुले हो । एउटा पार्टीको तहमा पुगेको सहपाठी, सहकर्मी, सहनेता, समकक्षी र समशक्तिले त जीवन नै बचाउने अभियानमा लाग्नुपर्ने होइन र ? यदि पार्टीले अतुलनीय सहयोग गर्दा गर्दै पनि उहाँलाई बचाउन नसकिएको हो भने त्यसका लागि म क्षमाप्रार्थी छु । म अञ्जान पनि हुन सक्छु र म अबोध पनि हुनसक्छु । यदि त्यसो होइन भने यति ठूलो पार्टी आजसम्म के हेरेर बस्यो र पख्र्यो ? जीवन सबैका लागि उत्तिकै मूल्यांकन होइन ? अब हामी एकले होइन, दुईले होइन, सयौ र हजारौंले आफ्नो पार्टीभित्रको गलाव, झुकाव, आस्था, निष्ठा, इमान्दारिता, विश्वसनीयता, भरोसा, विचारौं र त्यसको बदलामा आफ्नो जीवनको सुरक्षालाई पनि नियालौं ।

गर्न सक्दासम्म पार्टी र गर्न नसकेपछि मात्र फूलपाती ? सबैको यसैमा चित्त बुझ्छ ? आफ्नो जीवनको ग्यारेन्टी खोज्ने कि नखोज्ने ? जीवन सुरक्षाको योजना खोज्ने कि नखोज्ने ? एउटा व्यक्तिले आफ्नो सिंगो जीवन पार्टीलाई सुम्पिँदा, अर्पण गर्दा र समर्पण गर्दा त्यसको मूल्यांकनवापत पार्टीले दिने योगदान र सहयोग के हो ? मरेपछि पार्टीको झण्डा ओढ्न र ओढाउनु स्वयं व्यक्तिका लागि कुनै अनुभुति रहन्छ ? आफ्नै प्रत्यक्ष जीवनकालमै पार्टीले एउटा प्रशंसनीय काम गर्न सक्दैन भने त्यसपछिका नानाथरिका उपमाको के अर्थ ? हामीले देखेको, सुनेको, भोगेको आधारमा जति पनि यहाँ उठाउने प्रयास गरियो यो सबैका लागि भनेर ठान्नु अति आवश्यक हुनेछ । हिजोका दिन नेपाली कांग्रेसका लागि तेजबहादुर बस्नेतले गरेका यावत योगदानहरु इतिहासमा दस्तावेज बन्नेछन् । त्यसैगरी नेपाली कांग्रेसले स्वयं तेजबहादुरलाई पु¥याएको स्थान, मान र हैसियत पनि इतिहासमा दर्ज हुने नै छ । व्यक्तिगतरुपमा मैले चिनेको तेजबहादुरलाई जसरी वर्णन गरे, त्यो सतही कुरा पनि हुन जाला भने सत्य–तथ्य पनि हुनजाला । सबैले रुचाएका तेजबहादुर बस्नेतलाई भगवान्ले पनि छोड्न चाहेनन् र आफ्नो धाममा लगेका छन् । स्व. तेजबहादुरको दिवंगत आत्माले चिरशान्ति पावस् र बैकुण्ठको बास होस्, यही श्रद्धासुमन ।